इतिहासको गर्भमा लुकेका ‘अज्ञात’ पात्रहरूको खोजी
नेपाली इतिहास भन्नेबित्तिकै हाम्रा मानसपटलमा ठूला राजामहाराजा, वीर सेनानायक र तिनका गौरवशाली युद्धका गाथाहरू मात्र नाच्ने गर्छन् । स्कुले किताबदेखि इतिहासका ठेलीहरूसम्म शक्ति र सत्ताको वरिपरि घुमेका छन् । तर, के एउटा राष्ट्रको निर्माण र रक्षा केवल केही नाम चलेका पात्रहरूबाट मात्र सम्भव थियो ? इतिहासका ती भीमकाय घटनाहरूका पछाडि कति सामान्य मान्छेहरूको पसिना, रगत र आँसु बगेका होलान् ? तिनै ओझेलमा परेका पात्रहरूको कथा समेटिएको इन्जिनियर केशव राज ज्ञवालीको नयाँ कृति ‘अज्ञात’ सार्वजनिक भएको छ ।
को हुन् ‘अज्ञात’ ?
‘अज्ञात’ सुन्दा जति रहस्यमयी लाग्छ, यसको अर्थ त्योभन्दा बढी गहन छ । लेखकका अनुसार, हामीले इतिहासमा केवल सेनापतिले जितेको युद्ध पढ्यौँ, तर त्यो सेनापतिलाई पहाडका थुम्काहरूमा साथ दिने, भोकभोकै लड्ने र राष्ट्रिय अभियानमा आफ्नो सर्वस्व सुम्पने हजारौँ सर्वसाधारणको नाम कतै भेटिँदैन । विं.सं. १८४३ देखि १८७१ सम्मको नेपाल–जहाँ एकीकरण र अस्तित्वको लडाइँ उत्कर्षमा थियो, त्यही समयको परिवेशलाई यो पुस्तकले उधिनेको छ ।
ती मानिसहरू जो इतिहासका पानामा ‘नामांकित’ हुन सकेनन्, तर जसको काँधमा देश उभिएको थियो, तिनैलाई लेखकले ‘अज्ञात’ को संज्ञा दिनुभएको छ ।
यो पुस्तक केवल कल्पनाको उडान मात्र होइन, ऐतिहासिक तथ्यको जगमा ठडिएको एउटा बलियो संरचना हो । लेखकका अनुसार, इतिहासका कतिपय तथ्य र रेकर्डहरू सुरक्षित छन् जसलाई पुस्तकमा जस्ताको तस्तै राखिएको छ । तर, ती ऐतिहासिक तथ्यहरूको बीचमा सामान्य मानिसको जीवनचर्या, उनीहरूको भोगाइ र सङ्घर्षलाई भने कल्पनाको माध्यमबाट जीवन्त बनाइएको छ ।
तथ्यलाई नबिगारी कल्पना मिसाउनु एउटा चुनौतीपूर्ण कार्य हो । ‘कल्पनालाई यथार्थको नजिक राखेर लेखिएको पुस्तक’ भन्नुले पनि यो कृति ऐतिहासिक उपन्यासका पाठकहरूका लागि एउटा विशेष उपहार हुने देखिन्छ ।
लेखक ज्ञवाली पेशाले इन्जिनियर हुनुहुन्छ र अहिले अमेरिकाको टेक्सासमा रहेकाे अस्टिन शहरमा बसोवास गर्नुहुन्छ । तर, उहाँको मन र मस्तिष्क भने झन्डै दुई सय वर्ष पुरानो नेपालको इतिहासमा केन्द्रित छ ।
झन्डै चार वर्षसम्मको निरन्तर अनुसन्धान र सयौँ पुस्तकहरूको अध्ययनपछि उहाँले इतिहासको एउटा यस्तो पक्ष उजागर गर्नुभएको छ जसले तत्कालीन नेपालको प्रशासनिक दक्षता र सामाजिक अँध्यारो दुवै आयामलाई प्रस्ट पार्छ ।
अनुसन्धानका क्रममा उहाँले पत्ता लगाउनुभएको सबैभन्दा रोचक तथ्य तत्कालीन नेपालको हुलाक व्यवस्था हो । आजको इमेल वा सन्देश प्रणालीजस्तो तीव्रता नभए पनि त्यस समय र भूगोलअनुसार यो निकै सुदृढ र प्रभावकारी थियो ।
उहाँका अनुसार, ‘हरेक चार–चार कोसमा हुलाकी परिवारहरू बसोवास गर्ने व्यवस्था थियो । लडाइँको मैदान वा दरबारबाट आएको चिठी प्राप्त हुनासाथ उनीहरूले अर्को हुलाकीसम्म तुरुन्तै पुर्याउनुपर्थ्याे ।’
दिनरात, चाडपर्वको कुनै मतलब नगरी खटिने ती हुलाकीहरूलाई राज्यले करमा विशेष छुट दिएर प्रोत्साहित गरेको पाइन्छ । राज्यका सन्देशहरू छिटो र प्रभावकारी रूपमा सम्बन्धित ठाउँसम्म पुर्याउने विषयमा तत्कालीन शासन अत्यन्त सचेत रहेको उहाँको निष्कर्ष छ ।
अनुसन्धानका क्रममा जति रोचक पक्षहरू भेटिए, त्यति नै पीडादायी तथ्यहरू पनि उजागर भए । मानिसलाई वस्तु सरह किनबेच गर्ने प्रथाको प्रमाणले उहाँलाई अत्यन्तै स्तब्ध बनायो । जग्गाजमिनको लालपुर्जा झैँ मानिस बेचबिखन गर्दा तयार गरिने कागजातलाई ‘परमपट्टा’ भनिन्थ्यो ।
उहाँले बताए अनुसार, ‘त्यो परमपट्टाको डिजिटल प्रतिलिपि मैले जर्मनीको एक पुस्तकालयबाट प्राप्त गर्न सकेँ ।’
पूजाका लागि मानिस दान गर्ने, जुवामा मानिसलाई दाउमा राख्ने, र कमारा–कमारीका रूपमा किनबेच गर्ने जस्ता तथ्यहरू आजका लागि अविश्वसनीय लाग्न सक्छन् । तर, इतिहासका ती काला पाटाहरूले नेपाली समाजको एउटा कटु यथार्थ उजागर गर्छन् जसलाई उहाँले आफ्नो कृतिमा समेट्नुभएको छ ।
नालापानीदेखि अस्टिनसम्मको यात्रा
ऐतिहासिक कृति तयार पार्ने क्रममा उहाँ केवल कल्पनामा सीमित रहनुभएन । नालापानीको खलङ्गादेखि गुल्मीको चारपाला दरबार, पाल्पाका विभिन्न किल्लाहरू, बुटवलको जीतगढी र गोर्खासम्म पुगेर उहाँले स्थल अध्ययन गर्नुभयो ।
स्वदेशी मात्र होइन, विदेशी इतिहासकारका दृष्टिकोणलाई समेत समेटेर उहाँले घटनाहरूको सन्तुलित विश्लेषण प्रस्तुत गर्नुभएको छ ।
चार वर्षको कडा परिश्रम र अनुसन्धान
कुनै पनि ऐतिहासिक कृति तयार पार्न सामान्य लेखनले मात्र पुग्दैन । ‘अज्ञात’ जन्मनुअघि लेखकलाई झन्डै चार वर्ष लामो अनुसन्धान लाग्यो । सन् २०२२ को मार्चबाट लेख्न शुरू गरिएको यो पुस्तक २०८२ सालको चैतमा आएर मात्र पूरा भयो ।
अमेरिकाको व्यस्त जीवनका बाबजुद लेखकले नेपालको इतिहासलाई गहिराइबाट अध्ययन गरिरहनुभयो । इतिहासकारहरूसँगको छलफल, पुराना पुस्तकहरूको अध्ययन र बाझिएका तथ्यहरूबीचको सत्य खोज्ने प्रक्रिया नै यस पुस्तकको मेरुदण्ड हो । एउटै घटनालाई फरक–फरक इतिहासकारले फरक ढंगले व्याख्या गरेको सन्दर्भमा त्यसलाई निर्क्याेल गर्नु र सही तथ्यमा पुग्नु आफैँमा एउटा कठिन साधना हो ।
इन्जिनियरिङ पेशा, साहित्यको नशा
अमेरिकाको अस्टिनमा बसेर झन्डै दुई दशकदेखि इन्जिनियरिङ पेशामा संलग्न रहँदै आउनुभएका उहाँको साहित्यिक यात्रा भने इन्जिनियरिङ अध्ययनभन्दा धेरै अघिदेखि शुरू भएको हो ।
उहाँको साहित्यिक यात्रा कुनै पूर्वयोजना अनुसार शुरू भएको थिएन । कक्षा ४ मा, ९ वर्षको उमेरमै उहाँले पहिलो कविता लेख्नुभएको थियो । परिवारको प्रोत्साहनले उहाँमा पढ्ने र लेख्ने बानी विकास भयो जुन अमेरिकाको व्यस्त जीवनशैलीबीच पनि निरन्तर कायम रह्यो । उहाँ भन्नुहुन्छ, ‘इन्जिनियरिङ मेरो पेशा हो, साहित्य मेरो रुचि ।’
अमेरिकाको एक नगरपालिकामा जलस्रोत इन्जिनियरका रूपमा कार्यरत उहाँ समय व्यवस्थापनमा विशेष ध्यान दिनुहुन्छ । दिनभरको व्यस्ततापछि जब वातावरण शान्त हुन्छ, त्यही बेला उहाँको लेखन यात्रा शुरू हुन्छ । रातको एकान्त र बिहानको शान्त समय उहाँका लागि सिर्जनाका सबैभन्दा उपयुक्त क्षणहरू हुन् ।
साधारण साहित्य लेखन र ऐतिहासिक आख्यान सिर्जना गर्नुबीच उल्लेखनीय अन्तर रहेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार अन्य विधामा अनुभव र भावनाको प्रधानता रहने भए पनि इतिहासमा लेख्दा तथ्यको आधारमा उभिनु अनिवार्य हुन्छ ।
‘इतिहास लेख्नु भनेको उपलब्ध तथ्यहरूको आधारमा सत्यको एउटा व्यापक चित्र प्रस्तुत गर्ने प्रयास हो’, उहाँको भनाइ छ ।
बहादुर शाह कहिले नायब हुनुभयो भन्ने जस्ता तथ्यलाई परिवर्तन गर्ने स्वतन्त्रता लेखकसँग हुँदैन । त्यस्ता तथ्यको सीमाभित्र रहेर कथा निर्माण गर्नु नै ऐतिहासिक लेखनको चुनौती र सौन्दर्य दुवै हो भन्ने उहाँको धारणा छ ।
प्राविधिक विषय र सिर्जनात्मक लेखन एकअर्काका विपरीत जस्तो देखिए पनि उहाँको अनुभव फरक छ । इन्जिनियरिङ पृष्ठभूमिले उहाँको लेखनलाई अझ व्यवस्थित बनाएको छ । ‘इन्जिनियरिङ अध्ययन र पेशाले दिएको अनुसन्धानको बानीले ऐतिहासिक तथ्यहरू खोज्न र तिनलाई क्रमबद्ध रूपमा प्रस्तुत गर्न ठूलो सहयोग गरेको छ’, उहाँ बताउनुहुन्छ ।
‘अर्को भोर’ देखि ‘अज्ञात’ सम्मको ऊर्जा
उहाँको अघिल्लो कृति ‘अर्को भोर’ ले विं.सं. २०७८ को पद्मश्री पुरस्कार प्राप्त गरेको थियो । पद्मश्री पुरस्कारले उहाँलाई सामाजिक मान्यता मात्र नभई लेखनप्रतिको आत्मविश्वास पनि प्रदान गरेको उहाँको अनुभव छ ।
यही आत्मबलले उहाँलाई ‘अज्ञात’ जस्तो गहिरो अनुसन्धानमा आधारित उपन्यास सिर्जना गर्न प्रेरित गरेको हो ।
उपन्यासलाई उहाँ एउटा ‘विस्तृत क्यानभास’ का रूपमा लिनुहुन्छ जहाँ लामो समयसम्म निरन्तरता र धैर्य आवश्यक पर्छ । कथा विधा तुलनात्मक रूपमा सहज लागे पनि उपन्यासको व्यापक आयाममा काम गर्नुको अलगै आनन्द रहेको उहाँ बताउनुहुन्छ ।
‘अज्ञात’ उपन्यासको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको इतिहासलाई हेर्ने उहाँको दृष्टिकोण हो । नेपाली ऐतिहासिक आख्यानहरूमा प्रायः राजामहाराजा र सेनानायकहरूकै चर्चा हुने गरेको पाइन्छ । तर, यस कृतिमा ‘भुँइमान्छे’ अर्थात् सर्वसाधारणको कथा प्रस्तुत गरिएको छ ।
उहाँ भन्नुहुन्छ, ‘समुद्रमा तैरिएको आइसबर्गको १० प्रतिशत भाग मात्र पानीमाथि देखिन्छ, बाँकी ९० प्रतिशत पानीमुनि लुकेको हुन्छ । हाम्रो इतिहास पनि त्यस्तै हो ।’
उहाँका अनुसार हामीले चिनेका ऐतिहासिक पात्रहरू त्यो १० प्रतिशत मात्र हुन्, जबकि देशलाई थाम्ने ९० प्रतिशत आममानिसहरू सधैँ ‘अज्ञात’ नै रहे । यही गुमनाम जनसमूहको योगदानलाई उजागर गर्ने प्रयास ‘अज्ञात’ मा गरिएको छ ।
उहाँको विश्वास छ, यदि पाठकले यो कृति पढिसकेपछि ती सर्वसाधारणको दुःख, संघर्ष र योगदानलाई केही हदसम्म महसुस गर्न सके भने उहाँको उद्देश्य पूरा हुनेछ ।
एक लेखकका लागि आफ्नो कृति अत्यन्त प्रिय हुन्छ । तर उहाँ ‘रोलान्ड बार्थ’ को ‘डेथ अफ द अथर’ को अवधारणामा विश्वास राख्नुहुन्छ ।
‘लेख्दासम्म कृति लेखकको हुन्छ, तर प्रकाशित भएपछि त्यो पाठकको हुन्छ’, उहाँ भन्नुहुन्छ ।
अब ‘अज्ञात’ को मूल्याङ्कन पाठकले गर्नेछन् र त्यही नै अन्तिम निर्णय हुनेछ भन्ने उहाँको धारणा छ ।
पेशागत व्यस्तताका बीच पनि इतिहासका गुमनाम पात्रहरूलाई शब्दमार्फत पुनर्जीवित गर्ने उहाँको प्रयास नेपाली साहित्यका लागि महत्त्वपूर्ण योगदान हो ।
