"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

इतिहासको गर्भमा लुकेका ‘अज्ञात’ पात्रहरूको खोजी

Table of Content

इतिहासको गर्भमा लुकेका ‘अज्ञात’ पात्रहरूको खोजी

नेपाली इतिहास भन्नेबित्तिकै हाम्रा मानसपटलमा ठूला राजामहाराजा, वीर सेनानायक र तिनका गौरवशाली युद्धका गाथाहरू मात्र नाच्ने गर्छन् । स्कुले किताबदेखि इतिहासका ठेलीहरूसम्म शक्ति र सत्ताको वरिपरि घुमेका छन् । तर, के एउटा राष्ट्रको निर्माण र रक्षा केवल केही नाम चलेका पात्रहरूबाट मात्र सम्भव थियो ? इतिहासका ती भीमकाय घटनाहरूका पछाडि कति सामान्य मान्छेहरूको पसिना, रगत र आँसु बगेका होलान् ? तिनै ओझेलमा परेका पात्रहरूको कथा समेटिएको इन्जिनियर केशव राज ज्ञवालीको नयाँ कृति ‘अज्ञात’ सार्वजनिक भएको छ ।

को हुन् ‘अज्ञात’ ?

‘अज्ञात’ सुन्दा जति रहस्यमयी लाग्छ, यसको अर्थ त्योभन्दा बढी गहन छ । लेखकका अनुसार, हामीले इतिहासमा केवल सेनापतिले जितेको युद्ध पढ्यौँ, तर त्यो सेनापतिलाई पहाडका थुम्काहरूमा साथ दिने, भोकभोकै लड्ने र राष्ट्रिय अभियानमा आफ्नो सर्वस्व सुम्पने हजारौँ सर्वसाधारणको नाम कतै भेटिँदैन । विं.सं. १८४३ देखि १८७१ सम्मको नेपाल–जहाँ एकीकरण र अस्तित्वको लडाइँ उत्कर्षमा थियो, त्यही समयको परिवेशलाई यो पुस्तकले उधिनेको छ ।

ती मानिसहरू जो इतिहासका पानामा ‘नामांकित’ हुन सकेनन्, तर जसको काँधमा देश उभिएको थियो, तिनैलाई लेखकले ‘अज्ञात’ को संज्ञा दिनुभएको छ ।

यो पुस्तक केवल कल्पनाको उडान मात्र होइन, ऐतिहासिक तथ्यको जगमा ठडिएको एउटा बलियो संरचना हो । लेखकका अनुसार, इतिहासका कतिपय तथ्य र रेकर्डहरू सुरक्षित छन् जसलाई पुस्तकमा जस्ताको तस्तै राखिएको छ । तर, ती ऐतिहासिक तथ्यहरूको बीचमा सामान्य मानिसको जीवनचर्या, उनीहरूको भोगाइ र सङ्घर्षलाई भने कल्पनाको माध्यमबाट जीवन्त बनाइएको छ ।
तथ्यलाई नबिगारी कल्पना मिसाउनु एउटा चुनौतीपूर्ण कार्य हो । ‘कल्पनालाई यथार्थको नजिक राखेर लेखिएको पुस्तक’ भन्नुले पनि यो कृति ऐतिहासिक उपन्यासका पाठकहरूका लागि एउटा विशेष उपहार हुने देखिन्छ ।

लेखक ज्ञवाली पेशाले इन्जिनियर हुनुहुन्छ र अहिले अमेरिकाको टेक्सासमा रहेकाे अस्टिन शहरमा बसोवास गर्नुहुन्छ । तर, उहाँको मन र मस्तिष्क भने झन्डै दुई सय वर्ष पुरानो नेपालको इतिहासमा केन्द्रित छ ।

झन्डै चार वर्षसम्मको निरन्तर अनुसन्धान र सयौँ पुस्तकहरूको अध्ययनपछि उहाँले इतिहासको एउटा यस्तो पक्ष उजागर गर्नुभएको छ जसले तत्कालीन नेपालको प्रशासनिक दक्षता र सामाजिक अँध्यारो दुवै आयामलाई प्रस्ट पार्छ ।

अनुसन्धानका क्रममा उहाँले पत्ता लगाउनुभएको सबैभन्दा रोचक तथ्य तत्कालीन नेपालको हुलाक व्यवस्था हो । आजको इमेल वा सन्देश प्रणालीजस्तो तीव्रता नभए पनि त्यस समय र भूगोलअनुसार यो निकै सुदृढ र प्रभावकारी थियो ।

उहाँका अनुसार, ‘हरेक चार–चार कोसमा हुलाकी परिवारहरू बसोवास गर्ने व्यवस्था थियो । लडाइँको मैदान वा दरबारबाट आएको चिठी प्राप्त हुनासाथ उनीहरूले अर्को हुलाकीसम्म तुरुन्तै पुर्‍याउनुपर्थ्याे ।’

दिनरात, चाडपर्वको कुनै मतलब नगरी खटिने ती हुलाकीहरूलाई राज्यले करमा विशेष छुट दिएर प्रोत्साहित गरेको पाइन्छ । राज्यका सन्देशहरू छिटो र प्रभावकारी रूपमा सम्बन्धित ठाउँसम्म पुर्‍याउने विषयमा तत्कालीन शासन अत्यन्त सचेत रहेको उहाँको निष्कर्ष छ ।

अनुसन्धानका क्रममा जति रोचक पक्षहरू भेटिए, त्यति नै पीडादायी तथ्यहरू पनि उजागर भए । मानिसलाई वस्तु सरह किनबेच गर्ने प्रथाको प्रमाणले उहाँलाई अत्यन्तै स्तब्ध बनायो । जग्गाजमिनको लालपुर्जा झैँ मानिस बेचबिखन गर्दा तयार गरिने कागजातलाई ‘परमपट्टा’ भनिन्थ्यो ।

उहाँले बताए अनुसार, ‘त्यो परमपट्टाको डिजिटल प्रतिलिपि मैले जर्मनीको एक पुस्तकालयबाट प्राप्त गर्न सकेँ ।’

पूजाका लागि मानिस दान गर्ने, जुवामा मानिसलाई दाउमा राख्ने, र कमारा–कमारीका रूपमा किनबेच गर्ने जस्ता तथ्यहरू आजका लागि अविश्वसनीय लाग्न सक्छन् । तर, इतिहासका ती काला पाटाहरूले नेपाली समाजको एउटा कटु यथार्थ उजागर गर्छन् जसलाई उहाँले आफ्नो कृतिमा समेट्नुभएको छ ।

नालापानीदेखि अस्टिनसम्मको यात्रा

ऐतिहासिक कृति तयार पार्ने क्रममा उहाँ केवल कल्पनामा सीमित रहनुभएन । नालापानीको खलङ्गादेखि गुल्मीको चारपाला दरबार, पाल्पाका विभिन्न किल्लाहरू, बुटवलको जीतगढी र गोर्खासम्म पुगेर उहाँले स्थल अध्ययन गर्नुभयो ।

स्वदेशी मात्र होइन, विदेशी इतिहासकारका दृष्टिकोणलाई समेत समेटेर उहाँले घटनाहरूको सन्तुलित विश्लेषण प्रस्तुत गर्नुभएको छ ।

चार वर्षको कडा परिश्रम र अनुसन्धान

कुनै पनि ऐतिहासिक कृति तयार पार्न सामान्य लेखनले मात्र पुग्दैन । ‘अज्ञात’ जन्मनुअघि लेखकलाई झन्डै चार वर्ष लामो अनुसन्धान लाग्यो । सन् २०२२ को मार्चबाट लेख्न शुरू गरिएको यो पुस्तक २०८२ सालको चैतमा आएर मात्र पूरा भयो ।

अमेरिकाको व्यस्त जीवनका बाबजुद लेखकले नेपालको इतिहासलाई गहिराइबाट अध्ययन गरिरहनुभयो । इतिहासकारहरूसँगको छलफल, पुराना पुस्तकहरूको अध्ययन र बाझिएका तथ्यहरूबीचको सत्य खोज्ने प्रक्रिया नै यस पुस्तकको मेरुदण्ड हो । एउटै घटनालाई फरक–फरक इतिहासकारले फरक ढंगले व्याख्या गरेको सन्दर्भमा त्यसलाई निर्क्याेल गर्नु र सही तथ्यमा पुग्नु आफैँमा एउटा कठिन साधना हो ।

इन्जिनियरिङ पेशा, साहित्यको नशा

अमेरिकाको अस्टिनमा बसेर झन्डै दुई दशकदेखि इन्जिनियरिङ पेशामा संलग्न रहँदै आउनुभएका उहाँको साहित्यिक यात्रा भने इन्जिनियरिङ अध्ययनभन्दा धेरै अघिदेखि शुरू भएको हो ।

उहाँको साहित्यिक यात्रा कुनै पूर्वयोजना अनुसार शुरू भएको थिएन । कक्षा ४ मा, ९ वर्षको उमेरमै उहाँले पहिलो कविता लेख्नुभएको थियो । परिवारको प्रोत्साहनले उहाँमा पढ्ने र लेख्ने बानी विकास भयो जुन अमेरिकाको व्यस्त जीवनशैलीबीच पनि निरन्तर कायम रह्यो । उहाँ भन्नुहुन्छ, ‘इन्जिनियरिङ मेरो पेशा हो, साहित्य मेरो रुचि ।’

अमेरिकाको एक नगरपालिकामा जलस्रोत इन्जिनियरका रूपमा कार्यरत उहाँ समय व्यवस्थापनमा विशेष ध्यान दिनुहुन्छ । दिनभरको व्यस्ततापछि जब वातावरण शान्त हुन्छ, त्यही बेला उहाँको लेखन यात्रा शुरू हुन्छ । रातको एकान्त र बिहानको शान्त समय उहाँका लागि सिर्जनाका सबैभन्दा उपयुक्त क्षणहरू हुन् ।

साधारण साहित्य लेखन र ऐतिहासिक आख्यान सिर्जना गर्नुबीच उल्लेखनीय अन्तर रहेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार अन्य विधामा अनुभव र भावनाको प्रधानता रहने भए पनि इतिहासमा लेख्दा तथ्यको आधारमा उभिनु अनिवार्य हुन्छ ।

‘इतिहास लेख्नु भनेको उपलब्ध तथ्यहरूको आधारमा सत्यको एउटा व्यापक चित्र प्रस्तुत गर्ने प्रयास हो’, उहाँको भनाइ छ ।

बहादुर शाह कहिले नायब हुनुभयो भन्ने जस्ता तथ्यलाई परिवर्तन गर्ने स्वतन्त्रता लेखकसँग हुँदैन । त्यस्ता तथ्यको सीमाभित्र रहेर कथा निर्माण गर्नु नै ऐतिहासिक लेखनको चुनौती र सौन्दर्य दुवै हो भन्ने उहाँको धारणा छ ।

प्राविधिक विषय र सिर्जनात्मक लेखन एकअर्काका विपरीत जस्तो देखिए पनि उहाँको अनुभव फरक छ । इन्जिनियरिङ पृष्ठभूमिले उहाँको लेखनलाई अझ व्यवस्थित बनाएको छ । ‘इन्जिनियरिङ अध्ययन र पेशाले दिएको अनुसन्धानको बानीले ऐतिहासिक तथ्यहरू खोज्न र तिनलाई क्रमबद्ध रूपमा प्रस्तुत गर्न ठूलो सहयोग गरेको छ’, उहाँ बताउनुहुन्छ ।

‘अर्को भोर’ देखि ‘अज्ञात’ सम्मको ऊर्जा

उहाँको अघिल्लो कृति ‘अर्को भोर’ ले विं.सं. २०७८ को पद्मश्री पुरस्कार प्राप्त गरेको थियो । पद्मश्री पुरस्कारले उहाँलाई सामाजिक मान्यता मात्र नभई लेखनप्रतिको आत्मविश्वास पनि प्रदान गरेको उहाँको अनुभव छ ।

यही आत्मबलले उहाँलाई ‘अज्ञात’ जस्तो गहिरो अनुसन्धानमा आधारित उपन्यास सिर्जना गर्न प्रेरित गरेको हो ।

उपन्यासलाई उहाँ एउटा ‘विस्तृत क्यानभास’ का रूपमा लिनुहुन्छ जहाँ लामो समयसम्म निरन्तरता र धैर्य आवश्यक पर्छ । कथा विधा तुलनात्मक रूपमा सहज लागे पनि उपन्यासको व्यापक आयाममा काम गर्नुको अलगै आनन्द रहेको उहाँ बताउनुहुन्छ ।

‘अज्ञात’ उपन्यासको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको इतिहासलाई हेर्ने उहाँको दृष्टिकोण हो । नेपाली ऐतिहासिक आख्यानहरूमा प्रायः राजामहाराजा र सेनानायकहरूकै चर्चा हुने गरेको पाइन्छ । तर, यस कृतिमा ‘भुँइमान्छे’ अर्थात् सर्वसाधारणको कथा प्रस्तुत गरिएको छ ।

उहाँ भन्नुहुन्छ, ‘समुद्रमा तैरिएको आइसबर्गको १० प्रतिशत भाग मात्र पानीमाथि देखिन्छ, बाँकी ९० प्रतिशत पानीमुनि लुकेको हुन्छ । हाम्रो इतिहास पनि त्यस्तै हो ।’

उहाँका अनुसार हामीले चिनेका ऐतिहासिक पात्रहरू त्यो १० प्रतिशत मात्र हुन्, जबकि देशलाई थाम्ने ९० प्रतिशत आममानिसहरू सधैँ ‘अज्ञात’ नै रहे । यही गुमनाम जनसमूहको योगदानलाई उजागर गर्ने प्रयास ‘अज्ञात’ मा गरिएको छ ।

उहाँको विश्वास छ, यदि पाठकले यो कृति पढिसकेपछि ती सर्वसाधारणको दुःख, संघर्ष र योगदानलाई केही हदसम्म महसुस गर्न सके भने उहाँको उद्देश्य पूरा हुनेछ ।

एक लेखकका लागि आफ्नो कृति अत्यन्त प्रिय हुन्छ । तर उहाँ ‘रोलान्ड बार्थ’ को ‘डेथ अफ द अथर’ को अवधारणामा विश्वास राख्नुहुन्छ ।

‘लेख्दासम्म कृति लेखकको हुन्छ, तर प्रकाशित भएपछि त्यो पाठकको हुन्छ’, उहाँ भन्नुहुन्छ ।

अब ‘अज्ञात’ को मूल्याङ्कन पाठकले गर्नेछन् र त्यही नै अन्तिम निर्णय हुनेछ भन्ने उहाँको धारणा छ ।

पेशागत व्यस्तताका बीच पनि इतिहासका गुमनाम पात्रहरूलाई शब्दमार्फत पुनर्जीवित गर्ने उहाँको प्रयास नेपाली साहित्यका लागि महत्त्वपूर्ण योगदान हो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

department_of_drug_iPVE1mBv1D

नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी

काठमाण्डौ — नेपाल औषधि लिमिटेड २५ वर्षपछि फेरि नाफामा फर्किएको छ । आर्थिक वर्ष २०८१/८२...
udhav-thapa_7F6rTkOozr

सत्ताको खेलमा नलाग्ने राप्रपा बागमती संसदीय दलको निर्णय

काठमाडौँ । राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले सत्ताको खेलमा नलाग्ने निर्णय गरेको छ । ...

ब्राजिलका भिनिसियस जुनियरद्वारा रियल म्याड्रिडसँग ६ वर्षको सम्झौता

ब्राजिलका विङ्गर भिनिसियस जुनियरले स्पेनिस क्लब रियल म्याड्रिडसँग नयाँ ६ वर्षे सम्झौता गरेका छन् ।...
rajaswa-bibhag_OSK3pgmUk8

आज १५ जनालाई १–१ लाख र एक जनालाई १० लाख उपहार घोषणा हुँदै

काठमाण्डौ — आन्तरिक राजस्व विभागले आज पहिलो करदाता उपहार कार्यक्रमको विजेता घोषणा गर्ने भएको छ ।...
oplus_0

हिजोदेखि वर्षा केही कम, आज बिहानैदेखि चर्को घाम

काठमाण्डौ — देशभर केही दिनदेखि सक्रिय रहेको मनसुनी प्रणालीको प्रभाव हिजो दिउँसोदेखि केही कमजोर देखिएको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०