काठमाडौँ । देशभर रहेका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति भए पनि पदाधिकारीमा अझै अन्योल देखिएको छ ।
कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरे पनि प्रतिष्ठानहरू डिन, रजिष्ट्रार, रेक्टर र निर्देशकविहीन छन् । पदाधिकारीले पूर्णता नपाउँदा रजिष्ट्रार, रेक्टर, डिन र निर्देशक मातहतका कार्यहरू प्रभावित भएको प्रतिष्ठानमा कार्यरत कर्मचारी बताउँछन् ।
रजिष्ट्रार मातहत आर्थिक र प्रशासनिक अधिकार रहन्छ । रेक्टर र डिन मातहत शैक्षिक अनुसन्धानका कार्यक्रम रहन्छन् । यस्तै, निर्देशकले अस्पतालका कार्यहरू सञ्चालन गर्नुपर्ने हुन्छ । प्रतिष्ठानमा कार्यकारी परिषद्समेत पूर्ण हुन सकेका छैनन् ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान काठमाडौँ (वीर अस्पताल), ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त भइसकेका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिष्ट्रार, शिक्षाध्यक्ष र अस्पताल निर्देशक नियुक्ति हुन सकेको छैन । अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी भने प्रा.डा. इन्द्र लिम्बुलाई जिम्मेबारी दिइएको छ । पदाधिकारी नियुक्ति नहुँदा कार्यकारीणी समिति बैठक र सिनेट बस्न सकस हुने देखिन्छ ।
प्रतिष्ठानका सूचना अधिकारी निरज पोख्रेलले पदाधिकारी नियुक्त नहुँदा दैनिक प्रशासनिक कार्यमा समस्या नभए पनि कार्यकारिणी समितिको बैठक र सिनेट बैठकका लागि समस्या देखिने बताए । उनले भने, ‘प्रतिष्ठानको दैनिक कार्यसञ्चालनमा कुनै बाधा परेको छैन । यदि कार्यकारीणी समितिको बैठक बस्न पर्यो भने पदाधिकारीले पूर्णता पाएको छैन ।’
बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९(संशोधन २०८३) अनुसार प्रतिष्ठानको सञ्चालक परिषद्को सदस्यमा शिक्षाध्यक्ष, रजिष्ट्रार हुने व्यवस्था छ । प्रतिष्ठानबाट सञ्चालन गरिने प्रशिक्षण तथा अनुसन्धान कार्यक्रम सम्बन्धी नीति निर्धारण गर्ने, प्रतिष्ठानको नियम बनाउने, प्रतिष्ठानको योजना तथा कार्यक्रमहरू स्वीकृत गर्ने अधिकार परिषद्लाई छ ।
यस्तै कार्यकारिणी समितिले पनि पूर्णता पाउन सकेको छैन । समितिमा शिक्षाध्यक्ष सदस्य र रजिष्ट्रार सदस्यसचिव रहने व्यवस्था छ । कार्यकारिणी समितिले बनाएको कार्यविधि बमोजिम सहकुलपतिले प्रतिष्ठानको शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पतालको निर्देशक नियुक्त गर्ने प्रावधान छ । हाल सहकुलपति स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता छिन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान पनि डिन, शिक्षाध्यक्ष र रजिष्ट्रारविहीन छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ (संशोधन २०८३) अनुसार सभा, प्रतिष्ठानको स्वरुपमा प्राज्ञिक परिषद्, कार्यकारी परिषद्, सेवा आयोग, अस्पताल पर्छ । प्रतिष्ठानमा अझै डिन, रजिष्ट्रार, शिक्षाध्यक्ष, निर्देशक पदपूर्ति हुन सकेको छैन ।
डिन, रजिष्ट्रार, रेक्टर सभाको सदस्य रहने प्रावधान छ । जसले गर्दा प्रतिष्ठानको नीति, योजना तथा कार्यक्रम स्वीकृत गर्ने कार्य प्रभावित बनेको छ । यस्तै, प्रतिष्ठानको नियम स्विकृत, वार्षिक बजेट पारित, प्राज्ञिक परिषद्को सिफारिसमा सम्बन्धित व्यक्तिलाई उपाधि, प्रमाणपत्र, पदक तथा पुरस्कार प्रदानजस्ता कार्य प्रभावित हुने देखिन्छ ।
डिन र शिक्षाध्यक्ष कार्यकारी परिषद्को सदस्य रहने व्यवस्था छ भने रजिष्ट्रार सदस्यसचिवका रुपमा रहने प्रावधान छ । प्रतिष्ठानको संरचनामा सभा, प्राज्ञिक परिषद्, कार्यकारी परिषद्, सेवा आयोग र अस्पताल छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि डिन, शिक्षाध्यक्ष, रेक्टर, रजिष्ट्रार, निर्देशकविहीन छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०६४ (संशोधन २०८३) अनुसार प्रतिष्ठानको स्वरुप अन्तर्गत् सभा, प्राज्ञिक परिषद्, कार्यकारी परिषद्, सेवा आयोग, विद्या परिषद्, सङ्काय, अनुसन्धान केन्द्र, शैक्षिक संस्था, अस्पताल छ । सभासहितका निकायमा रजिष्ट्रार, डिन, निर्देशकको प्रतिनिधित्व हुने प्रावधान छ । यी पदहरू रिक्त रहँदा प्रतिष्ठानको नीति, योजना तथा कार्यक्रम स्वीकृत, प्रतिष्ठानको वार्षिक वजेट, नियम स्वीकृतमा सकस हुने देखिन्छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि पदाधिकारी विहीन छ । प्रतिष्ठान ऐन २०६८ (संशोधन २०८३) अनुसार प्रतिष्ठानको स्वरुपमा सभा, प्राज्ञिक परिषद्, कार्यकारी परिषद्, छनोट समिति, विद्या परिषद्, सङ्काय, अनुसन्धान केन्द्र, शैक्षिक संस्था र अस्पताल पर्छन् । यीमध्ये केहीमा शिक्षाध्यक्ष, डिन, निर्देशक, रजिष्ट्रार सदस्य रहने व्यवस्था छ ।
यसपटक उपकुलपति चयनका लागि सरकारले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ निर्माण गरी खुला र पारदर्शी प्रक्रिया अपनाएको थियो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारी पनि पूर्णता पाउन सकेको छैन । प्रतिष्ठान ऐन २०७२ (संशोधन २०८३) अनुसार प्रतिष्ठानको संरचनामा सभा, प्राज्ञिक परिषद्, सङ्काय, अनुसन्धान केन्द्र, शैक्षिक संस्था र अस्पताल पर्छन् । वार्षिक कार्ययोजना, खरिद गुरुयोजनाका कार्यहरूमा अप्ठ्यारो भएको प्रतिष्ठानका एक अधिकारीले बताए ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि पदाधिकारीविहीन छ । प्रतिष्ठान ऐन २०७४(संशोधन २०८३) अनुसार प्रतिष्ठानको संरचनामा सभा, प्राज्ञिक परिषद्, कार्यकारी परिषद्, सेवा आयोग, विद्या परिषद् संकाय, अनुसन्धान केन्द्र, शैक्षिक संस्था र अस्पताल पर्छन् । सभाको गठन सम्बन्धी व्यवस्थामा रजिष्ट्रार सदस्यसचिव हुने उल्लेख छ । प्रतिष्ठानका गुनासो सुन्ने अधिकारी शालिकराम कालाथोकीले रेक्टर, रजिष्ट्रार, डिन र निर्देशक नियुक्त नभएको बताए । उनले भने, ‘निमित्त निर्देशक भनेर तोकिएको छ । रेक्टर र रजिष्ट्रार अझै नियुक्त हुनु भएको छैन ।’
गत असार २४ गते स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतका विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिहरू नियुक्त भएका थिए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नविसमान सिंह प्रधान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. स्मृति कार्की नियुक्त भएका थिए । यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नारायणसिंह गुरुङ, कर्णालीमा डा. सूर्यमान म्याहाङम्बो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. अजयकुमार मिश्रले उपकुलपतिको जिम्मेवारी पाएका थिए ।
यसपटक उपकुलपति चयनका लागि सरकारले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ निर्माण गरी खुला र पारदर्शी प्रक्रिया अपनाएको थियो ।
