काठमाडौँ — बारामा एक बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा पक्राउ परेका आरोपी किशोरको बयान भन्दै सामाजिक सञ्जालमा फैलिएको छ । अनुसन्धानका क्रममा लिइएको भिडियो फेसबुक, एक्स (ट्विटर), टिकटक र रेडिटजस्ता प्लेटफर्ममा भाइरल भएपछि अनुसन्धान प्रक्रियामाथि नै प्रश्न उठेको छ ।
सार्वजनिक भएको भिडियोमा आरोपी किशोरले घटनाको विवरण दिइरहेको देखिन्छ । भिडियोमा नेपाल प्रहरीका कर्मचारीले नै उक्त दृश्य खिचिरहेको प्रस्ट देख्न सकिन्छ ।
नेपालको प्रचलित कानुनले अनुसन्धानका क्रममा रहेका आरोपीको पहिचान खुल्ने कुनै पनि सामग्री सार्वजनिक गर्न रोक लगाएको छ । वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ को दफा १७ ले अनुसन्धानको सिलसिलामा रहेका व्यक्तिलाई सार्वजनिक गर्न नहुने व्यवस्था गरेको छ ।
उक्त दफामा स्पष्ट भनिएको छ, ‘कानुनबमोजिम अनुसन्धानको सिलसिलामा रहेको कुनै पनि व्यक्तिलाई लागेको कसूरका सम्बन्धमा सम्बन्धित निकायमा अभियोगपत्र दायर नभएसम्म निजलाई अधिकारप्राप्त अधिकारीले कुनै पनि तरिकाले सार्वजनिक गर्न वा गराउनु हुँदैन ।’
प्रहरीकै नियन्त्रणमा रहेको अवस्थामा गोप्य रहनुपर्ने भिडियो बाहिरिएपछि मधेश प्रदेश प्रहरीले यस विषयमा आन्तरिक छानबिन अगाडि बढाएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालले भिडियो चुहावट भएको घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताए ।

‘कारबाहीका क्रममा यस्तो कार्य हुनु हुँदैनथ्यो । यो कसरी र कसको संलग्नतामा भयो भनेर हामीले खोजी गरिरहेका छौँ,’ प्रवक्ता ढकालले कान्तिपुरसँग भने, ‘यसमा संलग्न जोकोहीलाई पनि आवश्यक कारबाहीको दायरामा ल्याउँछौँ ।’
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मिनबहादुर घलेले पनि भिडियो कसरी सर्कुलेट भयो भन्नेबारे अनुसन्धान भइरहेको जनाए । कान्तिपुरसँगको कुराकानीमा उनले भने, ‘भिडियो कसले खिच्यो र कसरी सर्कुलेट भयो भन्नेबारे हामीले पनि छानबिन गरिरहेका छौँ ।’
प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले पनि भिडियो सार्वजनिक हुनु गलत भएको बताएका छन् । ‘बलात्कार र हत्या जस्तो गम्भीर अपराधको अनुसन्धान र कानुनी प्रक्रिया चलिरहेको छ भने अभियुक्तमाथि प्रश्न उठ्नु स्वाभाविक हो । सत्य बाहिर आउनुपर्छ, दोषीले कानुनअनुसार सजाय पाउनुपर्छ । तर अदालतले फैसला नगर्दै नाबालकको बयानको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्नु न्यायको प्रक्रिया होइन ।हामीले एउटा कुरा कहिल्यै बिर्सनु हुँदैन, पीडितको पीडा ‘कन्टेन्ट’ होइन । अभियुक्तको बयान ‘भाइरल सामग्री’ होइन,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।
