काठमाडौँ — भारतको तमिलनाडुका मुख्यमन्त्री जोसेफ विजयले वार्षिक २.५ लाख भारुभन्दा कम आय भएका प्रत्येक परिवारलाई वर्षमा तीनवटा निःशुल्क एलपीजी सिलिन्डर उपलब्ध गराउने घोषणा गरेका छन् । सोमबार विधानसभा बैठकमा उनले यसको घोषणा गरेका हुन् ।
‘अन्नपूर्णी सुपर सिक्स’ नाम दिइएको यो योजना सन् २०२७ देखि कार्यान्वयनमा आउनेछ । यसबाट करिब १ करोड ३० लाख परिवार लाभान्वित हुने अपेक्षा गरिएको छ ।
योजनाअन्तर्गत योग्य लाभग्राहीले खरिद गरेका तीनवटा एलपीजी सिलिन्डरको रकम सीधै उनीहरूको बैंक खातामा जम्मा गरिनेछ । यसका लागि राज्य सरकारलाई वार्षिक करिब ४ हजार करोड भारु खर्च हुने अनुमान गरिएको छ।
योजना घोषणा गर्दै विजयले खाडी क्षेत्रमा जारी युद्धका कारण खाना पकाउने ग्यासको अभाव हुनुका साथै सिलिन्डरको मूल्य बढ्दा परिवारमाथि थप आर्थिक भार परेको बताए ।
‘यसलाई ध्यानमा राख्दै आर्थिक रूपमा कठिन अवस्था हुँदाहुँदै पनि जनताको आर्थिक भार कम गर्न, उनीहरूको हित संरक्षण गर्न र जनतासमक्ष गरेको प्रतिबद्धता पूरा गर्न सरकारले खाना पकाउने ग्यास सिलिन्डरमा खर्च भएको रकम उपलब्ध गराउने निर्णय गरेको छ ,’ उनले विधानसभामा भने ।
निर्वाचनको तयारीका क्रममा विजय नेतृत्वको तमिलागा वेत्री कझगम (टीभीके) ले वर्षमा ६ वटा निःशुल्क एलपीजी सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो।
महिलाका लागि निःशुल्क बस
मुख्यमन्त्री विजयले महिलालाई लक्षित गर्दै निःशुल्क बस यात्राको दायरा विस्तार गर्ने पनि घोषणा गरेका छन्।
उनका अनुसार अब महिलाका लागि लागू निःशुल्क बस यात्रा सरकारी बस, एक्सप्रेस र डिलक्स बसमा समेत लागू हुनेछ । निःशुल्क यात्रा सुविधा लिन महिलाका लागि आयको सीमा वा यात्राको संख्यामा कुनै सीमा नतोकिने उनले बताए ।
