"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना

Table of Content

काठमाडौं । सरकारले नेपाली भान्साको मौलिक खाद्य पदार्थ ‘गुन्द्रुक’ को गुणस्तर मापदण्ड तोकेको छ । गुन्द्रुक नेपाली पहिचानसँग जोडिएको रैथानै मौलिक खाद्य पदार्थ समेत हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ को अधिकार प्रयोग गर्दै पहिलोपटक गुन्द्रुकको अनिवार्य गुणस्तर मापदण्ड तोकेको हो ।

गुणस्तर मापदण्ड निर्धारण गरेर मन्त्रालयले हालै राजपत्रमा समेत सूचना प्रकाशित गरेको छ । राजपत्र अनुसार अब व्यावसायिक रूपमा उत्पादन, बिक्री–वितरण र निर्यात गरिने गुन्द्रुकले सरकारले तोकेको निश्चित रासायनिक र भौतिक मापदण्ड पूरा गर्नुपर्नेछ ।

यसअघि गुन्द्रुकको कुनै ठोस मापदण्ड नहुँदा बजारमा पाइने गुन्द्रुकको स्वच्छता र गुणस्तरमा प्रश्न उठ्ने गरेको थियो ।

सरकारले गुन्द्रुकलाई वैज्ञानिक र प्राविधिक रूपमा परिभाषित गरेको छ । राजपत्रमा उल्लेख भएअनुसार ‘ब्रासिका जात’ का रायो, तोरी, मुलाका पात तथा डुकु जस्ता हरियो सागपातलाई सफा गरी, ओइलाएर, नुन नहाली प्राकृतिक वा ‘प्योर कल्चर’ ल्याक्टिक एसिड फर्मेन्टेसन प्रक्रियाबाट तयार पारिएको खाद्य पदार्थलाई मात्र गुन्द्रुक भनिनेछ ।

यो मापदण्ड मानव उपभोगका लागि उत्पादन गरी बिक्री–वितरण गरिने सबै प्रकारका गुन्द्रुकमा लागू हुनेछ । चाहे त्यो ताजा अवस्थाको होस् वा सुकाइएको, अब सबैले यो नियम पालना गर्नुपर्ने व्यवस्था गरिएको छ।

सरकारले यो सूचना राजपत्रमा प्रकाशित भएको मिति (२०८३ वैशाख १०) ले १८१ औँ दिनदेखि अनिवार्य रूपमा लागू हुने जनाएको छ । यसको अर्थ उत्पादक र व्यवसायीहरूले करिब ६ महिनाको समयभित्र आफ्ना उत्पादन प्रक्रिया र गुणस्तरलाई यो मापदण्ड अनुसार सुधार गरिसक्नुपर्नेछ । १८१ दिन पुगेपछि बजार अनुगमन गर्दा मापदण्ड पूरा नभएको पाइएमा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने उल्लेख छ।

नेपालबाट गुन्द्रुक ठूलो मात्रामा वैदेशिक मुलुकमा रहेका नेपालीहरू र विदेशी बजारमा समेत निर्यात हुने गरेको छ । तर आधिकारिक गुणस्तर मापदण्ड नहुँदा कतिपय अवस्थामा अन्तर्राष्ट्रिय भन्सारमा समस्या आउने र गुणस्तरमा प्रश्न उठ्ने गरेको थियो । अब सरकारले नै मापदण्ड तोकिदिएपछि नेपाली गुन्द्रुकको ब्रान्डिङ गर्न र अन्तर्राष्ट्रिय बजारमा विश्वास जगाउन सजिलो हुने देखिएको छ । यसले घरेलु उद्योगको रूपमा रहेको गुन्द्रुक उत्पादनलाई व्यावसायिक र मर्यादित बनाउन मद्दत गर्ने कृषि मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले बताए ।

‘गुन्द्रुक नेपाली संस्कृतिको पहिचान हो । यसको गुणस्तर तोकिनु भनेको परम्परागत खाद्य पदार्थलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने दिशामा महत्त्वपूर्ण कदम हो,’ सचिव मिश्रले भने, ‘यसले उपभोक्तालाई स्वच्छ र स्वस्थकर खाद्य पदार्थको सुनिश्चितता मात्र दिँदैन, बरु नेपाली अर्गानिक उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन पनि मार्ग प्रशस्त गर्नेछ ।’

धातुका भाँडा प्रयोग गर्न नपाइने

गुन्द्रुक उत्पादन गर्दा अपनाइने परम्परागत विधिमा सरकारले केही प्राविधिक सुधारका निर्देशनहरू दिएको छ । गुन्द्रुकलाई बनाउँदा फलाम, एल्युमिनियम, तामा वा पित्तलबाट बनेका भाँडाहरू प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ ।

गुन्द्रुक बनाउँदा कस्ता भाँडा प्रयोग गर्ने हो भन्ने विषयमा राजपत्रमा कुनै तथ्य उल्लेख गरिएको छैन ।

विज्ञहरूका अनुसार, गुन्द्रुक बनाउने प्रक्रियामा अम्लीयपन बढ्ने हुनाले धातुका भाँडासँग रासायनिक प्रतिक्रिया भई स्वास्थ्यका लागि हानिकारक तत्त्वहरू उत्पन्न हुन सक्छन् । त्यसैले सुरक्षित सामग्री वा उपयुक्त भाँडामा मात्र गुन्द्रुक बनाउनुपर्नेछ । सुकाउनका लागि घाम, सोलार ड्रायर वा मेकानिकल ड्रायर प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

गुणस्तरका पाँच मुख्य सूचक

सरकारले गुन्द्रुकको गुणस्तर जाँच्न पाँचवटा मुख्य रासायनिक तथा जैविक मापदण्ड तोकेको छ । व्यावसायिक उत्पादकहरूले आफ्नो उत्पादनमा यी सीमाहरू पालना गर्नुपर्ने व्यवस्था गरेको छ ।

चिस्यान: सुख्खा गुन्द्रुकमा चिस्यानको मात्रा बढीमा १२ प्रतिशत मात्र हुनुपर्नेछ । चिस्यान बढी भएमा गुन्द्रुकमा ढुसी लाग्ने र चाँडै बिग्रने डर हुन्छ ।

कुल भष्म: गुन्द्रुकमा सुख्खा तौलको आधारमा कुल भष्मको मात्रा बढीमा १७ प्रतिशत तोकिएको छ ।

एसिडमा नघुलिने भष्म: गुन्द्रुकमा एसिडमा नघुलिने भष्मको मात्रा बढीमा १ प्रतिशत मात्र हुन पाउने व्यवस्था गरिएको छ । यसले गुन्द्रुकमा मिसिएको माटो वा बालुवाको मात्रालाई जनाउँछ ।

अम्लता: गुन्द्रुकमा ल्याक्टिक एसिडको रूपमा अम्लता न्यूनतम ०.५ प्रतिशत हुनुपर्नेछ । गुन्द्रुकको विशिष्ट अमिलो स्वाद र संरक्षणका लागि यो आवश्यक मानिन्छ ।

जीवाणु: प्रति ग्राम गुन्द्रुकमा ई–कोली जीवाणु पूर्ण रूपमा अनुपस्थित हुनुपर्नेछ । यसले उत्पादनको स्वच्छता स्तरलाई सुनिश्चित गर्दछ ।

बाह्य पदार्थको मिश्रणमा पूर्ण प्रतिबन्ध

गुन्द्रुकमा कुनै पनि प्रकारका जैविक वा अजैविक बाह्य पदार्थको उपस्थिति हुन नमिल्ने व्यवस्था गरिएको छ । जैविक बाह्य पदार्थमा रौँ, भुस, चोकर, परालका टुक्रा, कपडाका टुक्रा, जिउँदो वा मरेको कीरा, मुसाको अंश वा पशुपन्छीजन्य फोहोरलाई मानिएको छ । यस्तै अजैविक बाह्य पदार्थमा ढुङ्गा, माटो, बालुवा, काँच (सिसा), प्लास्टिक र धातुका टुक्राहरूलाई राखिएको छ ।

गुन्द्रुकमा कुनै पनि प्रकारको कृत्रिम रङ, स्वाद बढाउने तत्त्व वा परिरक्षी (प्रिजरभेटिभ) राख्न पूर्ण रूपमा निषेध गरिएको छ । गुन्द्रुक पूर्णतः प्राकृतिक, स्वच्छ र स्वाभाविक स्वाद एवं बास्नायुक्त हुनुपर्नेछ ।

गुन्द्रुकमा हुनसक्ने जीवनाशक विषादीको अवशेष, भारी धातु र अन्य हानिकारक सूक्ष्म जीवाणुहरूका लागि सरकारले छुट्टै सीमा तोकेको छ । मन्त्रालयले समय–समयमा तोक्ने यस्ता ‘कन्टामिन्यान्ट्स’ र ‘टक्सिन्स’ को अधिकतम मात्राभन्दा बढी अवशेष पाइएमा त्यस्तो गुन्द्रुकलाई बजारबाट जफत गरी कानुनी कारबाही गर्ने राजपत्रमा उल्लेख छ ।

प्याकेजिङ र लेबलिङमा कडाइ

उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै प्याकेजिङमा पनि कडाइ गरिएको छ । गुन्द्रुक प्याक गर्दा खाद्य ग्रेडको सफा र सुख्खा सामग्री प्रयोग गर्नुपर्नेछ । गुन्द्रुकको लेबलमा गुन्द्रुकको प्रकार (ताजा वा सुख्खा), कुन सागबाट तयार पारिएको हो (जस्तैः रायोको गुन्द्रुक, मुलाको गुन्द्रुक आदि) र खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिमका अन्य अनिवार्य विवरणहरू उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस्तो छ कानूनी व्यवस्था

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ४० अनुसार अनुमति नलिई खाद्य व्यवसाय सञ्चालन गरेमा, पैठारी गर्नुअघि स्वीकृति वा प्रवेश अनुमति नदिइ खाद्य पदार्थ पैठारी लगायत गरेमा ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

त्यस्तै दूषित खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी, सञ्चय, ढुवानी वा बिक्री गरेमा पाँच वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

50539_364db57837bbe8658517de7d46290859-10_03_2026-16_38_19-860x484

बारामा भदौ महिनामा ८४ सवारी दुर्घटनामा १२ जनाको मृत्यु

बारा । जिल्ला प्रहरी कार्यालय बाराले भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १४४ वटा अपराधसम्बन्धी मुद्दा...
blood_group_BXxRsRezXU

मानिसमा ४९औँ रक्त समूह प्रणाली पत्ता लाग्यो

बेलायत र इजरायलका वैज्ञानिकले मानिसमा नयाँ रक्त समूह प्रणाली पत्ता लगाएका छन् । वैज्ञानिकहरुले यसलाई...
fs_i2pYj6tfCr

रसुवा बाढीले निम्त्याएको विपद्‍बाट सिक्किमदेखि कश्मीरसम्मले के सिक्ने ?

काठमाडौँ । भदौ १० गते आएको विनाशकारी रसुवा बाढीसँगै हिमाली क्षेत्रमा विपद् पूर्वसूचनाको विद्यमान प्रणालीमाथि...
death-1783488169

धनुषाको रामानन्द चोकमा घरमा आगलागी हुँदा एक जनाको ज्यान गयो

काठमाण्डौ – धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकमा रहेको एक घरमा आगलागी हुँदा एक जनाको ज्यान...
nepali_congress_flag_zP1BwtPExZ

कांग्रेसले ४३ जिल्लामा वडा अधिवेशन सक्यो, ३१ जिल्लामा आज

काठमाण्डौ – नेपाली कांग्रेसको १५औँ  केन्द्रीय महाधिवेशनअन्तर्गत हिजो ४३ जिल्लाका तीन हजार ३९६ वडामा वडा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०