"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सरकारी अस्पतालको अवस्था : एकछिन डाक्टर देखाउन दिनभरि लाइन

Table of Content

सरकारी अस्पतालको अवस्था : एकछिन डाक्टर देखाउन दिनभरि लाइन

ललितपुरकाे धापाखेलका सुरज केसी दिउँसोको साढे २ बजे पाटन अस्पतालको एउटा कुनामा अलि हतारिएको र केही थकित मुद्रामा भेटिनुभयो । उहाँ अस्पताल आइपुगेको ४ घण्टा भयो तर काम अझै सकिएको छैन । श्रीमतीको दोस्रो गर्भको पाँचौँ महिना चलिरहेको छ । नियमित फलोअपका लागि उहाँ बिहान साढे १० बजे नै अस्पताल छिर्नुभएको हो । तर समयको हिसाब गर्दा उहाँलाई अस्पताल सेवा लिन होइन, कुनै कठिन युद्ध लड्न आएको जस्तो लागिरहेको छ ।

‘साढे १० बजे आएको, अहिले साढे २ हुन लाग्यो । ४ घण्टा त यत्तिकै गयो’, सुरजले सुस्केरा हाल्दै भन्नुभयो, ‘वास्तवमा जाँच गर्ने समय जम्मा १० मिनेट हो तर त्यो १० मिनेटका लागि हामीले यहाँ ७ घण्टा बिताउनुपर्ने अवस्था छ ।’

सुरजको यो भोगाइ पाटन अस्पताल आउने हजारौँ सेवाग्राहीको प्रतिनिधि आवाज हो । नयाँ सरकारले सरकारी अस्पतालको भीड व्यवस्थापन र सेवा प्रवाहमा सुधार गर्ने निर्देशन दिए पनि भुइँ तहमा नागरिकले पाउने दुःख भने ज्यूँका त्यूँ छ ।

अस्पताल छिर्नेबित्तिकै सुरजले पहिलो चुनौती ‘कोठा नम्बर’ खोज्दा खेप्नुभयो । अस्पतालको व्यवस्थापन नै अन्योलपूर्ण देखिन्छ । कोठा नम्बर ६ पछि सीधै १० आउँछ, बीचका ७, ८ र ९ नम्बर कहाँ छन्, कसैलाई थाहा हुँदैन ।

‘हामी त कहिलेकाहीँ आउने मान्छे, कहाँ जाने, के गर्ने केही थाहा हुँदैन’, उहाँले भन्नुभयो, ‘कोठा खोज्दाखोज्दै डेढ घण्टा बित्छ । न त त्यहाँ सोधपुछका लागि पर्याप्त कर्मचारी छन्, न त स्पष्ट दिशा–निर्देश नै छ ।’

पाटन अस्पतालमा ७ वटा टिकट काउन्टर छन् । तर ती काउन्टरहरूमा लाग्ने भीड हेर्दा लाग्छ, यहाँ समयको कुनै मूल्य छैन । सुरजको अनुभवअनुसार अस्पतालले कार्ड सिस्टम त शुरू गरेको छ तर त्यो नाम मात्रको छ । ‘कार्ड स्क्यान गर्नेबित्तिकै बिरामीको हिस्ट्री आउनुपर्ने हो, तर यहाँ त हरेक पटक नयाँ बिरामी आएझैँ सबै विवरण सोधिराख्नुपर्छ’, उहाँ भन्नुहुन्छ ।

उहाँको अर्को गुनासो टिकट काउन्टरको अव्यवस्थित प्रकृतिमा छ । मुटुको बिरामी, गर्भवती र ज्येष्ठ नागरिक सबैलाई एउटै भीडमा मिसाइएको छ । विभागअनुसार टिकट काउन्टर छुट्ट्याउने हो भने भीड आधा घट्ने उहाँको भनाइ छ ।

अस्पताल व्यवस्थापनलाई उहाँको सुझाव छ–अनलाइन अपोइन्टमेन्ट र मोबाइल एप । आजभोलि सबैको हातमा स्मार्टफोन छ । यदि अस्पतालले एउटा एप बनाएर फलोअपका बिरामीका लागि अनलाइन टिकट र भुक्तानीको व्यवस्था गर्ने हो भने आधा समस्या हल हुने देखिन्छ ।

‘अनलाइनबाटै कुन समयमा आउने भनेर टोकन पाएको भए हामी ठ्याक्कै त्यही समयमा आउँथ्यौँ । न त यहाँ अनावश्यक भीड हुन्थ्यो, न त बिरामीका कुरुवाहरूले सास्ती पाउनुपर्थ्याे’, सुरज भन्नुहुन्छ । भित्र ओपीडीमा पनि टोकन सिस्टम लागू गरेर डिस्प्ले बोर्ड राखिदिने हो भने ‘मेरो पालो कहिले ?’ भन्दै ढोका ढक्ढक्याउनुपर्ने अवस्था अन्त्य हुने उहाँ बताउनुहुन्छ ।

कुराकानीकै बीचमा सुरजले घडी हेर्नुभयो । उहाँलाई घरमा छोरा लिन जानु छ । श्रीमती अझै लाइनमै हुनुहुन्छ । ‘म बच्चा लिन जान लागेको छु, श्रीमती अझै लाइनमै छिन् । साढे २ घण्टा त एउटै लाइनमा बसिरहनुपर्‍याे’, उहाँ निकै चिन्तित हुनुहुन्छ ।

अस्पतालको व्यवस्थापन टोलीले एसी कोठामा बसेर निर्देशन मात्र दिनुभन्दा पनि एकपटक स्वयम् काउन्टर र गल्लीहरूमा आएर नागरिकको सास्ती हेर्नुपर्ने उहाँको सुझाव छ । एउटा बिरामी र कुरुवाको दिनभरिको समय, ऊर्जा र मानसिक तनावको हिसाब सरकारले कहिले गर्ने हो ?

दिनभरि कोठा–कोठा धाउँदै समय र पैसा खर्च

हेटौँडाबाट आएर ललितपुरको थैबमा डेरा गरेर बस्ने रीता घर्ती आफ्ना बिरामी बुबालाई लिएर अस्पताल पुग्नुभएको छ । बुबा रोगको पीडाले आत्तिरहनुभएको छ । उहाँको मनमा एउटै हुटहुटी छ—‘छिट्टै डाक्टरलाई देखाउन पाए बुबाको उपचार गरेर छिटै निको हुन्थ्यो कि !’

बिहान ६ बजेदेखि ८ बजेसम्म रीताले टिकट लिनकै लागि लाइनमा बस्नुपर्‍याे । ‘२ घण्टा त टिकटकै लाइनमै बित्छ’, उहाँले सुस्केरा हाल्दै भन्नुभयो, ‘हामी लाइनमा बसिरहन्छौँ, कोही बीचबाट सीधै छिर्छन् । बल्लतल्ल साढे ८ बजे हातमा टिकट पर्छ ।’

टिकट हातमा परेपछि शुरू हुन्छ कोठा नम्बरहरूको दौडधुप । पहिले १६ नम्बर कोठा जहाँ डाक्टर पर्खिन थप १ घण्टा लाग्छ । त्यसपछि १६ नम्बर कोठाबाट २० नम्बरमा पैसा तिर्न पठाइन्छ । रीतालाई त्यहाँ झन्डै २० मिनेट लाइनमा बस्नुपर्‍याे र ८०० रुपैयाँ तिर्नुभयो । त्यसपछि फेरि १६ नम्बरमै फर्किनुभयो जहाँ पुनः आधा घण्टा पर्खिनुपर्छ । त्यसपछि बल्ल बिरामी हेर्ने पालो आउँछ । बिरामीलाई डाक्टरले सामान्य हेरेपछि रीता फेरि ८ नम्बर कोठामा बिल लिन जानुहुन्छ । ‘८ नम्बरमा पुगेर १ घण्टा उभिएपछि मात्र बिल पाइन्छ’, रीताले आफ्नो पीडा सुनाउनुभयो, ‘त्यहाँबाट फेरि २४ नम्बर कोठामा एक्स–रेका लागि पठाइन्छ । त्यहाँ पनि आधा घण्टा लाइन बस्नुपर्छ, फेरि पैसा तिर्न अर्को लाइन । जताततै लाइनै लाइन !’

‘बिहान ६ बजेदेखि दिउँसोसम्म झन्डै साढे ६ घण्टा केवल लाइन बस्न र एउटा कोठाबाट अर्को कोठा धाउँदामै बित्छ’, रीताले भन्नुभयो ।

रीताकी बिरामी बुबालाई रोगले झन् झन् च्यापिरहेको छ, अस्पतालले मुटु र पेटको एक्स–रे गर्न भनेको छ ।

झन् विडम्बना त के भने, झन्डै ३ हजार रुपैयाँ खर्च भइसक्दा पनि बुबाको हातमा एउटा चक्की औषधि परेको छैन । ‘अस्ति ७ हजार गयो, आज ३ हजार गयो । तर डाक्टरले औषधि दिएका छैनन्’, रीताले आक्रोश पोख्नुभयो, ‘आज दिनभरिको सास्तीपछि पनि एक्स–रे हुन सकेको छैन । साढे ५ बजे मात्रै एक्स–रे हुन्छ रे, अब भोलि ९ बजे आउनु भन्नुहुन्छ ।’

बाराको जीतपुर सिमरा उपमहानगरपालिकाकी ओमकुमारी कार्की पनि उपचार गराउन पाटन अस्पताल आउनुभएको छ । उहाँका लागि काठमाण्डौको यो नामी अस्पताल पहिलो अनुभव हो । उहाँ भन्नुहुन्छ, ‘अस्पतालभित्र त राम्रो रहेछ, डाक्टरहरू पनि राम्रा । तर एउटै कुराले मन अमिलो बनाउँछ, त्यो कहिल्यै नसकिने लामो लाइन ।’

उहाँ बिहानै ९ बजे अस्पताल पुग्नुभएको थियो । तर उपचारको प्रक्रिया शुरू गर्न उहाँले जुन सास्ती खेप्नुपर्‍याे, त्यो कुनै युद्ध जितेभन्दा कम थिएन ।

‘९ बजे आएर लाइन बसेको, साढे ११ बजे बल्ल टिकट पाइयो’, उहाँले भन्नुभयो । २–साढे २ घण्टा त केवल एउटा कागजको टुक्रा (टिकट) लिनमै बित्यो । त्यसपछि शुरू भयो अर्को सास्ती, डाक्टरलाई भेट्ने र रिपोर्ट देखाउने ।

ओमकुमारीका अनुसार टिकट काट्न ३ घण्टा, डाक्टरलाई भेट्न १ घण्टा र फेरि औषधि लिन १ देखि डेढ घण्टा— यसरी हेर्दा ५ घण्टाभन्दा बढी समय त उहाँको केवल लाइनमै उभिएर बित्यो । बिहान ९ बजे अस्पताल छिरेर दिउँसो ३ बजेमात्र बाहिर निस्कनुभयो ।

‘हामी त खप्न सकौँला, अरूलाई कति गाह्रो होला ?’ उहाँको प्रश्न छ ।

अस्पतालको आन्तरिक व्यवस्थापन र उपचार पद्धतिबाट उहाँ सन्तुष्ट हुनुहुन्छ । तर बिरामी मान्छेलाई ५–५ घण्टा लाइनमा उभ्याउनु न्यायोचित नभएको उहाँको ठम्याइ छ । ‘लाइन त बस्नैपर्‍याे तर लाइन बस्दा बिरामीलाई धेरै गाह्रो हुने रहेछ’, उहाँ भन्नुहुन्छ, ‘म त अलिअलि खप्न सक्नेछु र पो तर कति बिरामी त निकै गलेका हुन्छन् । उनीहरू कसरी घण्टौँ लाइन बस्छन् होला ?’

ओमकुमारीलाई लागेको थियो, काठमाण्डौका ठूला अस्पतालमा प्रविधि होला, काम छिटो होला । तर यहाँको ‘लाइन संस्कृति’ देख्दा उहाँ अक्कबक्क हुनुहुन्छ । नयाँ सरकार बनेको र स्वास्थ्य क्षेत्रमा सुधारका कुराहरू भइरहेको सुनेकी उहाँलाई एउटा आशा छ – बिरामीलाई अझ बढी सुविधा होस्, अलि गाह्रो भएको बिरामीलाई प्राथमिकता दिइयोस् ।

झन्डै ४ घण्टाअघि बिरामी नन्दलाई लिएर अस्पताल छिर्नुभएकी गोठाटारकी गीता लामिछाने बल्ल केही फुर्सद लिएर अस्पतालको आँगनमा निस्किनुभएको छ । गीताको अनुहारमा थकाइ प्रष्टै देखिन्छ । तर मनमा एउटा सन्तोष छ – ढिलै भए पनि उपचार त भयो ।

नगरकोटकी स्थानीय बासिन्दा गीता अहिले गोठाटारमा बस्नुहुन्छ । उहाँ आफैँमा स्वास्थ्य स्वयंसेविका पनि हुनुहुन्छ । त्यसैले होला स्वास्थ्य सेवाका साना–मसिना कुराहरूमा पनि उनको सूक्ष्म ध्यान जान्छ । आफ्नी नन्दलाई लेलेबाट उपचारका लागि पाटन अस्पताल ल्याउनुको कारण यहाँको गुणस्तरीय सेवा नै हो । ‘यहाँ बच्चादेखि मुटु रोग, सुगर, प्रेसर सबैको उपचार एकै ठाउँमा छ’, उहाँ भन्नुहुन्छ, ‘लेलेबाट नजिक पनि पर्ने र सेवा पनि राम्रो पाइने भएकाले हामी यहाँ आएका हौँ ।’

तर गुणस्तरीय सेवा पाउनुको मूल्य भने ’समय’ ले चुकाउनुपर्छ । बिहान साढे ११ बजे अस्पताल पुग्नुभएकी उहाँले ३ घण्टा त लाइनमै बिताउनुपर्‍याे । ‘लाइन त मान्छेको चापअनुसार बस्नैपर्‍याे, नियम त मान्नैपर्छ’, उहाँले भन्नुभयो । तर एउटा स्वास्थ्य स्वयंसेविकाको आँखाले उहाँलाई प्रणालीमा रहेको एउटा ठूलो कमजोरी महसुस गराएको छ—सेवाको भद्रगोल व्यवस्थापन ।

काठमाण्डौका केही अस्पतालमा सम्बन्धित विभागमै टिकट काट्ने र डाक्टर भेट्ने छुट्टाछुट्टै व्यवस्था छ । ‘त्यसरी विभाग छुट्यायो भने त एकदम छिटो र सजिलो हुन्छ नि ! ठ्याक्कै जुन ठाउँमा उपचार गराउने हो, त्यहीँ गएर टिकट काट्न पाए त नानाथरी झमेला नै हुँदैनथ्यो’, उहाँ भन्नुहुन्छ ।

टिकट काट्न एउटै लाइन, जचाउन अर्को लाइन र औषधि लिन फेरि अर्को घण्टौँको प्रतीक्षा । यो ’भद्रगोल’ ले गर्दा उपचारका लागि आउने मानिसको पूरै दिन बित्ने गरेको छ ।

गीताको एउटै सुझाव छ—अस्पतालमा यस्तो व्यवस्था होस् कि बिरामी आएको १–डेढ घण्टामा काम सकेर घर फर्कियोस् ।

‘जागिर खाने मान्छे होस् वा घरको काम गर्ने, सबैलाई समयको महत्त्व हुन्छ’, उहाँ थप्नुहुन्छ, ‘अलिकति छुट्टी लिएर आउनेले पनि उपचार गरेर काममा फर्कन सक्ने वातावरण बन्नुपर्छ ।’

नयाँ सरकार र नयाँ व्यवस्थाप्रति उहाँको आशा छ—अस्पतालको सेवालाई विभागअनुसार विकेन्द्रित गरियोस् । छालाको बिरामी छालाकै विभागमा जाओस्, मुटुको बिरामी मुटुमै । यसो भएमा न भीडभाड हुन्छ, न त बिरामीले सास्ती नै भोग्नुपर्छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

चेपाङ केन्द्रभित्र फलफूल तथा तरकारी उत्पादन

रत्ननगर । नेपाली समाज सदियौँदेखि खेतीपातीबाट गुज्रिँदै आएको समाज हो । विकसित समाजमा भने खेतीपातीका अनेक विकल्प अपनाउन थालिएको छ । चितवनको पहाडी क्षेत्रलाई हेर्ने हो भने खेतीपाती पनि पर्याप्त नहुँदा त्यस क्षेत्रमा बसोवास गर्ने विपन्न समुदाय वर्तमान अवस्थामा पनि अनिकालको चपेटामा छन् । खोरियाबारीमा राम्रो उत्पादन नहुने र रोजगारको विकल्प नहुँदा चेपाङ समुदायले आफ्ना...

बुटवल–पाल्पा सुरुङमार्गमा आउँदो असोजदेखि गाडी सञ्चालन गर्ने तयारी, सुरुङको ६८ भौतिक प्रगति पुरा

बुटवल–पाल्पा सुरुङमार्गमा आउँदो असोजदेखि गाडी सञ्चालन गर्ने तयारी, सुरुङको ६८ भौतिक प्रगति पुरा काठमाण्डौ — सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आउँदो असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ । आयोजनाले सुरुङमार्ग भित्रका संरचना निर्माण, सडक र सुरक्षा व्यवस्थासम्बन्धी कामलाई एकसाथ अघि बढाएको जनाएको छ । आयोजनाका अनुसार सुरुङमार्गको हालसम्म भौतिक प्रगति ६८...

आज सुनचाँदीको भाउ बढ्यो,सुन तोलाको २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार

आज सुनचाँदीको भाउ बढ्यो,सुन तोलाको २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ९ सय रुपैयाँले बढेको हो । हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँले घटेकोमा आज १ हजार ९ सय रूपैयाँले बढेर तोलाको २ लाख ९२ हजार ८...

हावाहुरीका कारण रुख ढल्दा ट्रिपिङको समस्या, समस्या समाधानमा प्राधिकरण प्रयासरत

हावाहुरीका कारण रुख ढल्दा ट्रिपिङको समस्या, समस्या समाधानमा प्राधिकरण प्रयासरत काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढलेका कारण देशका केही क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध भएको जानकारी दिएको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालले जतिसक्दो छिटो समाधानको प्रयासमा प्राविधिक टोली खटिएको पनि जानकारी दिए । ‘तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख...

महिला च्याम्पिनसिपमा नेपालले आज भुटानसँग खेल्दै

महिला च्याम्पिनसिपमा नेपालले आज भुटानसँग खेल्दै नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ ।  दुईटोलिबीचको खेल भारतको गोवामा रहेको जवहारलाल नेहरु रंगशालामा नेपाली समयानुसार दिउँसो पौने ५ बजेदेखि हुनेछ । खेलमा दुवै टोली विजयी सुरुआतको खोजीमा छन् । यी दुईले समूह ‘ए’को पहिलो खेल खेल्न लागेको हुन् । नेपाल प्रतियोगिताको ६ पटकको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०