बारा । जिल्ला प्रहरी कार्यालय बाराले भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १४४ वटा अपराधसम्बन्धी मुद्दा दर्ता भएको जनाएको छ। कार्यालयले शनिबार सार्वजनिक गरेको भदौ महिनाको प्रगति विवरणअनुसार अपराध अनुसन्धानसँगै शान्ति-सुरक्षा, लागूऔषध नियन्त्रण, सवारी व्यवस्थापन, विपद् उद्धार तथा समुदाय केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिइएको छ।
प्रहरीको तथ्यांकअनुसार भदौमा सबैभन्दा बढी सामाजिक अपराधका ३२ वटा मुद्दा दर्ता भएका छन्। त्यसपछि आत्महत्यासम्बन्धी २८, महिला तथा बालबालिकासम्बन्धी १९, सवारी ज्यानसम्बन्धी ११, चोरीसम्बन्धी ५ र ज्यानसम्बन्धी २ वटा मुद्दा दर्ता भएका छन्। अन्य प्रकृतिका ५३ वटा मुद्दा रहेको प्रहरीको विवरणमा उल्लेख छ।
त्यस्तै, जघन्य तथा गम्भीर आर्थिक अपराधतर्फ बैंकिङ कसुरका ११ र ठगीका १० गरी २१ वटा मुद्दा दर्ता भएका छन्।लागूऔषध नियन्त्रणतर्फ भदौ महिनामा ६ वटा मुद्दा दर्ता गरी ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट १६८ किलो १६ ग्राम गाँजा, १ ग्राम १६ मिलिग्राम ब्राउन सुगर र १८ हजार ३०० थान ट्रामाडोल बरामद गरिएको प्रहरीको विवरणमा उल्लेख छ।
विभिन्न मुद्दामा फरार रहेका ४४ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूबाट ११ वर्ष ४ महिना २५ दिन कैद तथा १ लाख ८६ हजार १५० रुपैयाँ जरिवाना असुल गरी अदालतमा दाखिला गरिएको जनाइएको छ। भदौ महिनामा बारामा ८४ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा १२ जनाको मृत्यु र १२२ जना घाइते भएका छन् भने प्रहरीले ११५ जनाको उद्धार गरेको जनाएको छ।
प्रहरीको विश्लेषणअनुसार दुर्घटनामध्ये ८१ वटा चालकको कारण, एक–एक वटा सवारीसाधन, यात्रु र मौसमका कारण भएका छन्। दुर्घटनामा संलग्न ९१९ वटा सवारीसाधनमाथि कारबाही गर्दा ९ लाख ८५ हजार ५०० रुपैयाँ जरिवाना संकलन भएको विवरणमा उल्लेख छ। घरेलु हिंसातर्फ भदौमा १७४ वटा उजुरी परेकोमा १५२ वटा मिलापत्र भएका छन् भने ६ वटा उजुरी अदालत पठाइएको प्रहरीले जनाएको छ।
यसैगरी, महिला, पुरुष, बालक, बालिका तथा ज्येष्ठ नागरिक गरी २८ जना हराएकोमा १६ जना फेला परेको प्रहरीको विवरणमा उल्लेख छ। भदौमा बारामा ३९ वटा विपद्सम्बन्धी घटना भएका छन्। ती घटनामा ८ जनाको मृत्यु र १२० जना घाइते भएका छन्। विपद्बाट करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्यांकमा उल्लेख छ। विपद् व्यवस्थापनतर्फ प्रहरीले आगलागी, बाढी तथा पहिरो, चट्याङ, करेन्ट लाग्ने, जनावरको आक्रमण तथा पानीमा डुबीलगायत घटनामा उद्धार तथा जनचेतनामूलक काम गरेको जनाएको छ।
अपराध न्यूनीकरण तथा जनचेतना अभिवृद्धिका लागि जिल्ला प्रहरीले भदौ महिनामा १३१ वटा समुदाय तथा विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गरेको छ। लागूऔषध, आत्महत्या, महिला हिंसा, ज्येष्ठ नागरिक, विपद्, बालविवाह, बालश्रम, जातीय भेदभाव तथा छुवाछूत, नागरिक सुनुवाइ र ट्राफिक सचेतनालगायत विषयमा कार्यक्रम सञ्चालन गरिएको हो। प्रहरीका अनुसार ती कार्यक्रममा ४ हजार १०८ जना लाभान्वित भएका छन्। यस्तै, सीमान्तकृत, अल्पसंख्यक तथा पिछडिएका वर्ग लक्षित छुट्टै कार्यक्रम भने सञ्चालन नभएको प्रगति विवरणमा उल्लेख छ।
जिल्ला प्रहरी कार्यालयले सेवाग्राहीका लागि सुलभ शौचालय सञ्चालनमा ल्याएको जनाएको छ। साथै, भिआईपी तथा भिभिआईपीको भ्रमणका क्रममा सुरक्षा व्यवस्थापन तथा स्कर्टिङसमेत गरिएको जनाएको छ। विपद्सम्बन्धी सचेतना तथा पूर्वतयारीका लागि जिल्ला प्रशासन कार्यालयमा जिल्लाभरका विपद्सँग सम्बन्धित कार्यालय प्रमुखहरूको बैठकसमेत सम्पन्न गरिएको प्रहरीले जनाएको छ। विपद्बाट बच्ने उपायसम्बन्धी जनचेतनामूलक तालिम पनि सञ्चालन गरिएको विवरणमा उल्लेख छ।
त्यसैगरी, प्रहरीले दुई थान भरुवा बन्दुक र २ किलो १७० ग्राम साइकलको ब्यारिङ बल बरामद गरेको छ। राजस्व चुहावट तथा भन्सार छलीका ९ लाख ६८ हजार ७० रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको तथ्यांकमा उल्लेख छ। प्रहरीले जिल्लामा १९ हजार ८९० लिटर अवैध मदिरा बरामद गर्नुका साथै १८ वटा अवैध मदिरा भट्टी नष्ट गरेको जनाएको छ। प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ ७ वटा ट्र्याक्टर बरामद गरी ७० हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै, ४८.५४ क्युफिट काठ बरामद गरी १ लाख १३ हजार ४०० रुपैयाँ राजस्व तथा जरिवाना असुल गरिएको तथ्यांकमा उल्लेख छ।
प्रहरीले अपराध न्यूनीकरणका लागि दिवा तथा रात्रि गस्ती, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त परिचालन, समुदाय लक्षित सचेतनामूलक कार्यक्रम, सीसीटीभीमार्फत निगरानी, पूर्वअपराधसम्बन्धी सूचना संकलन, ट्राफिक सचेतना तथा कानुनबमोजिम अनुसन्धान गरी मुद्दा अदालतमा पेस गर्ने कार्यलाई निरन्तरता दिएको जनाएको छ। तथ्यांकअनुसार बारा जिल्लामा कुल १ हजार ७२१ जना प्रहरी जनशक्ति कार्यरत छन्। जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक राजाबाबु ठाकुरले सार्वजनिक गरेको भदौ महिनाको प्रगति विवरणमा उक्त तथ्यांक उल्लेख गरिएको छ।
