भण्डारा,असोज २३ । राप्ती नगरपालिकामा मेयर र प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर वलीबीचको विवाद चर्किएपछि स्थानीयले नगरपालिका कार्यालयमै तालाबन्दी गरेका छन् । कार्यालयमा तालाबन्दी भएपछि नगरका दैनिक प्रशासनिक कार्य, भुक्तानी प्रक्रिया र जनसेवासँग सम्बन्धित सम्पूर्ण काम ठप्प बन्ने अवस्थामा पुगेको छ । नगर प्रमुख शमशेर लामाले प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर वली विच विवाद बढेपछि वलीले बुधवार देखि कार्यालयमा काम गर्न नसक्ने भन्दै हाजिर नगरेका हुन । स्थानीयका अनुसार राप्ती नगर प्रमुख शमशेर लामाकै कार्यकक्षमा मौरि व्यवसायी धर्म श्रेष्ठ र भण्डारा माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर सारुले हाकिमलाई धम्क्याएको घटनापछि उनले कार्यालयमा हाजिरी नगरेका हुन । तालाबन्दी गरेका स्थानीयहरूले मेयर लामा, श्रेष्ठ र सारुले प्रमुख प्रशासकीय अधिकृतसँग औपचारिक रूपमा माफी मागेपछि मात्रै तालो खोलिने बताएका छन् ।
तालावन्दि पछि कार्यालय ठप्प
स्थानीयले ताला लगाएपछि विहिवार दिउसो १२ बजे पछि नगरपालिकाको प्रशासनिक कामकाज ठप्प हुदै जाने भएको छ । हाकिमले कार्यालय नआएपछि भुक्तानी, निवेदन दर्ता, सिफारिस, र नगर विकाससम्बन्धी कागजी प्रक्रियामा समस्या आएको छ । नगरपालिकामा काम गर्न आएका कर्मचारीलाई स्थानीयले बाहिर जान आग्रह गरेर तालावन्दि गरेका हुन ।
