रत्ननगर। ६९औँ प्रहरी दिवस २०८३ को अवसरमा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित हुनुभएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयद्वारा आयोजित कार्यक्रममा उहाँलाई फौजदारी अपराधको वस्तुनिष्ठ तथा वैज्ञानिक अनुसन्धानमा उत्कृष्ट कार्यदक्षता, व्यावसायिक निष्ठा र अनवरत समर्पण प्रदर्शन गरेको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिएको हो।
राष्ट्र र नागरिकको सेवामा समर्पित रही अपराध अनुसन्धानको क्षेत्रमा पुर्याउनुभएको योगदानको मूल्याङ्कन गर्दै उहाँलाई सम्मान गरिएको हो।
कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले डिएसपी भट्टलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो। सम्मान प्रदान गर्दै प्रहरी महानिरीक्षक कार्कीले आगामी दिनमा पनि राष्ट्र सेवाको पवित्र जिम्मेवारीमा थप प्रतिबद्ध भई कर्तव्यपथमा अविचलित रूपमा लागिरहन शुभकामना व्यक्त गर्नुभयो।
‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित हुनुभएका डिएसपी भट्टको यस उपलब्धिले अपराध अनुसन्धानमा खटिने प्रहरी कर्मचारीलाई थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
