काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ४ करोड ९६ लाख अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने जनाएको छ । राष्ट्रसङ्घले ४ करोड ९६ लाख अमेरिकी डलर अर्थात् झण्डै ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने गरी मानवीय सहायताका साझेदार निकायसँग अपिल गरेको हो ।
भोटेकोशी तथा त्रिशूली नदीमा गएको बाढी र पहिरोबाट प्रभावित ८४ हजारभन्दा धेरै नागरिकसम्म जीवनरक्षक सहायता पुर्याउन अन्तरराष्ट्रिय निकायसँग राष्ट्रसङ्घले अपिल गरेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा सरकारले तयार पारेको हिउँद शुरु हुनुअघिका लागि (चार महिने) योजनालाई यो सहयोग रकमले प्राथमिकताका साथ सम्बोधन गर्ने नेपालमा रहेको राष्ट्रसङ्घको कार्यालयले जनाएको छ । संयुक्त राष्ट्रसङ्घ र मानवीय सहायताका साझेदार निकायहरू नेपाल सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत कार्यसँगै समन्वयमा रहेर काम गरिरहेका छन् ।
रसुवा, नुवाकोट र धादिङ जिल्लाका थुप्रै बस्ती विस्थापित भएका छन् । नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक लिला पिटर्स याहियाले यो सहयोग अपिलको मुख्य प्राथमिकता सरकारकै नेतृत्वमा हिउँद लाग्नुअघि सबैभन्दा दुर्गम बस्तीसम्म ओत, उपचार, सफा पानी र नगद सहयोग पुर्याउनु रहेको बताउनुभएको छ ।
