काठमाडौँ । चीनको तिब्बततर्फबाट भोटेकोशी र त्रिशूली नदीमा ठुलो बाढी प्रवेश गरेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।
बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले भदौ १० गते बिहान करिब ९ बजेको समयमा तिब्बततर्फबाट भोटेकोशी नदीमा ठुलो मात्रामा पानीको बहाव प्रवेश गरेको हो। यो बाढी अहिले रसुवा हुँदै नुवाकोटको विदुरभन्दा तल पुगिसकेको र यसले माथिल्लो क्षेत्रमा ठुलो क्षति पुर्याएको प्रारम्भिक सूचना प्राप्त भएको पराजुलीले बताए ।
पराजुलीले विभागले रसुवा, नुवाकोट, धादिङ र चितवनका तटीय क्षेत्रहरूलाई उच्च जोखिमको सूचीमा राखेको जानकारी दिए । विशेष गरी त्रिशूली नदी र मर्स्याङ्दीको दोभान (मुग्लिन) सम्मको क्षेत्रलाई अति उच्च जोखिम मानिएको छ। बाढी मुग्लिनसम्म पुग्न करिब ४ देखि ५ घण्टा लाग्ने अनुमान गरिएको छ, त्यसैले आज बेलुकीसम्म नै विशेष सावधानी अपनाउनु पर्ने पराजुलीले बताए ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै विभागले पृथ्वी राजमार्ग र त्रिशूली नदी किनारका अन्य कोरिडोर राजमार्गहरूमा आवागमन नगर्न र सम्भव भएसम्म यातायात बन्द गर्न सुझाव दिएको छ।
नदी किनारका बस्ती, घर र कृषि क्षेत्रमा रहेका नागरिकहरूलाई तत्काल सुरक्षित र उचाइ भएको स्थानमा जान पनि आग्रह गरिएको पराजुलीले बताए ।
त्रिशूलीमा पानीको सतह बढ्दा तादी, बुढीगण्डकी र मलेखु लगायतका सहायक नदीहरूमा पनि पानी फर्किने हुनसक्ने भएकाले ती क्षेत्रमा पनि सावधानी अपनाउन भनिएको उनको भनाइ छ ।
यो बाढी वर्षाका कारण नभई आकस्मिक रूपमा आएको देखिएकाले तिब्बतमा हिमताल विस्फोट भएको हुनसक्ने आशङ्का गरिएको छ। यसबारे थप जानकारीका लागि चिनियाँ अधिकारीहरूसँग समन्वय र उपग्रहबाट अध्ययन भइरहेको पराजुलीले जानकारी दिए ।
