"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

एक्कासि किन घट्न थाल्यो सेयर बजार?

Table of Content

लगभग आठ दिनको कारोबारपछि सेयर बजार परिसूचक नेप्से सोमबार एक्कासि घट्यो। सोमबार एकै दिन ३३ अंकले घटेको बजार मंगलबार पनि पूर्ण रूपमा सम्हालिन सकेन।

मंगलबार नेप्से ४.६४ अंकले घटेर २६९६ विन्दुमा झरेको छ।

योसँगै नेप्से लगातार ६ कारोबार दिनपछि पुनः २७ सय विन्दुभन्दा तल आएको छ। केही दिनदेखि क्रमिक रूपमा उकालो लागेको बजार अचानक ओरालो लाग्नुका पछाडि प्राविधिक, नीतिगत तथा राजनीतिक कारणहरू देखिएका छन्।

पहिलो कारण हो, प्राविधिक संकेत।

नेप्से परिसूचकमा प्रयोग गरिने ५० दिने र २०० दिने मुभिङ एभरेज रेखाले करिब ‘डेथ क्रसओभर’ को संकेत दिएको छ।

अर्थात्, ५० दिने औसत रेखा २०० दिने औसत रेखाभन्दा तल झर्ने अवस्थामा पुगेको देखिन्छ। प्राविधिक विश्लेषणमा यसलाई बजार केही समय थप कमजोर हुन सक्ने संकेतका रूपमा लिइन्छ।

यद्यपि यही आधारमा मात्र बजार पूर्ण रूपमा ‘बियरिस’ प्रवृत्तिमा प्रवेश गरिसकेको निष्कर्ष निकाल्न हतारो हुन सक्छ। नेपाली सेयर बजारमा उच्च उतारचढाव हुने भएकाले यस्ता क्रसओभर छोटो अवधिमै बनेका र फेरि उल्टिएका उदाहरण छन्। त्यसैले यही एउटै सूचकका आधारमा मात्र लगानी रणनीति बनाउनु उपयुक्त मानिँदैन।

दोस्रो कारण हो, वाणिज्य बैंकको लाभांशमा अन्योल।

सोमबार घटेको बजारलाई मंगलबार वाणिज्य बैंक समूहमा आएको गिरावटले थप बल पुग्यो। सोमबार करिब एक अंकले सुधार देखिएको यो समूह मंगलबार १.१३ अंक घट्यो।

पछिल्ला केही सातादेखि बजार वृद्धिमा वाणिज्य बैंक समूहले टेवा दिँदै आएको थियो। तर अर्थतन्त्र चलायमान बनाउन नेपाल राष्ट्र बैंकले बैंकहरूलाई बोनसभन्दा नगद लाभांशमा जोड दिन सक्ने चर्चा बजारमा फैलिएसँगै यो समूहमा बिक्री चाप बढेको हुन सक्ने ब्रोकरहरूको भनाइ छ।

बोनस सेयर वितरण गर्दा बैंकबाट नगद बाहिरिँदैन। बरू बैंकको चुक्ता पुँजी बढ्छ र लगानीकर्ताले थप सेयर प्राप्त गर्छन्। तर नगद लाभांश वितरण गर्दा बैंकबाट प्रत्यक्ष नगद बाहिरिने भएकाले लगानीकर्ताको हातमा रकम पुग्छ।

त्यसले उपभोग तथा लगानी बढाएर अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने अपेक्षासहित यस्तो नीति आउन सक्ने चर्चा छ।

अर्कातर्फ, बोनस सेयरले बैंकको चुक्ता पुँजी र त्यससँग सम्बन्धित दायित्व पनि बढाउने भएकाले पर्याप्त पुँजी भएका बैंकहरूले नगद लाभांशलाई प्राथमिकता दिनु उपयुक्त हुने तर्क पनि गरिन्छ।

तर बोनस सेयर सूचीकरणपछि बजारमै बिक्री गर्न सकिने र त्यसको अपेक्षाले सेयर मूल्य बढ्ने विश्वासका कारण धेरै लगानीकर्ताले अझै पनि बोनस सेयरलाई बढी रूचाउँछन्।

तेस्रो कारण हो, तराईमा बढ्दो तनाव।

सुनसरी लगायत तराईका केही जिल्लामा बढ्दो तनावका कारण समग्र व्यावसायिक वातावरण प्रभावित हुन सक्ने चिन्ताले पनि लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा देखिएका छन्।

औद्योगिक केन्द्र विराटनगरमा समेत उद्योग–व्यवसाय प्रभावित हुन थालेको खबरले लगानीकर्तामा थप अन्योल सिर्जना गरेको देखिन्छ।

चौथो कारण हो, सरकारभित्र बढ्दो मतभेदको चर्चा।

केही समययता प्रधानमन्त्री बालेन शाहले उद्योगी, व्यवसायी तथा सेयर लगानीकर्तासँग छुट्टाछुट्टै भेटघाट गर्दै आएका छन्। ती भेटमा अर्थमन्त्री स्वर्णिम वाग्लेको अनुपस्थितिलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका थिए।

लगत्तै अर्थमन्त्रीले पनि व्यवसायीहरूसँग समानान्तर रूपमा भेटघाटलाई तीव्रता दिए। सोमबार नेपाल धितोपत्र बोर्ड पुगेर उनले पुँजी बजार सुधारका लागि सक्रिय रूपमा काम गर्न निर्देशनसमेत दिए।

यसले सरकारभित्र समन्वय नभइरहेको र प्रधानमन्त्री र अर्थमन्त्री अलग अलग अगाडि बढ्न खोजिरहेको चर्चालाई थप बल दिएको छ।

यसैबीच अर्थमन्त्रीले आफूले प्रधानमन्त्री र ऊर्जामन्त्रीजस्तो धेरै सल्लाहकार नराखेको समेत बताउन भ्याए। त्यसले प्रधानमन्त्री र अर्थमन्त्रीबीच मतभेद बढ्दै गएको हो कि भन्ने अड्कलबाजी सुरू भएको छ।

यद्यपि अर्थमन्त्रीले प्रधानमन्त्री र आफूबीच कुनै मतभेद नरहेको मंगलबार पनि दोहोर्‍याएका छन्।

प्रधानमन्त्री र अर्थमन्त्रीबीच कार्यशैलीमा मतभेद रहेको चर्चा बजारमा भइरहेका बेला त्यसले लगानीकर्ताको मनोबलमा पनि केही प्रभाव पारेको देखिन्छ।

ब्रोकरहरूका अनुसार यस्ता राजनीतिक अनिश्चितताले लगानीकर्तालाई तत्काल स्पष्ट लगानी रणनीति बनाउन कठिन बनाइरहेको छ।

अहिले सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्ने क्रम चलिरहेको छ। कम्पनीहरूको वित्तीय अवस्था नै आगामी दिनमा सेयर मूल्यलाई प्रभावित गर्ने प्रमुख आधार भएकाले अहिलेको गिरावटका आधारमा हतारमा लगानी निर्णय नलिन ब्रोकरहरूले सुझाव दिएका छन्।

उनीहरूका अनुसार अपेक्षाभन्दा सबल वित्तीय विवरण सार्वजनिक भए बजारले पुनः सकारात्मक गति लिन सक्ने भएकाले लगानीकर्ताले धैर्यपूर्वक रणनीति बनाउनुपर्छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

balen_shah_23nRbIoxh8

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि : प्रधानमन्त्री शाह

काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताउनुभएको...
mustang-1789365165

मुस्ताङमा हुन लागेको घरपझोङ जलवायु सम्मेलनको तयारी अन्तिम चरणमा

काठमाण्डौ – हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा भोलिदेखि हुने दुई दिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’...
teej-2076-9-0292019064909_0KbwKCF1SJ

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड : चारै ढोका खुला

काठमाण्डौ – आज तीज पर्वको अवसरमा पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । पशुपतिनाथको...
808052775_122108694309464902_4180526666920376324_n-1789350374

टी–२० मा अफगानिस्तानमाथि भारतको सहज जीत

काठमाण्डौ – भारतले अफगानिस्तानलाई पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा ७ विकेटले हराएको छ । नयाँ दिल्लीको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०