सरकारी अस्पतालको अवस्था : एकछिन डाक्टर देखाउन दिनभरि लाइन
ललितपुरकाे धापाखेलका सुरज केसी दिउँसोको साढे २ बजे पाटन अस्पतालको एउटा कुनामा अलि हतारिएको र केही थकित मुद्रामा भेटिनुभयो । उहाँ अस्पताल आइपुगेको ४ घण्टा भयो तर काम अझै सकिएको छैन । श्रीमतीको दोस्रो गर्भको पाँचौँ महिना चलिरहेको छ । नियमित फलोअपका लागि उहाँ बिहान साढे १० बजे नै अस्पताल छिर्नुभएको हो । तर समयको हिसाब गर्दा उहाँलाई अस्पताल सेवा लिन होइन, कुनै कठिन युद्ध लड्न आएको जस्तो लागिरहेको छ ।
‘साढे १० बजे आएको, अहिले साढे २ हुन लाग्यो । ४ घण्टा त यत्तिकै गयो’, सुरजले सुस्केरा हाल्दै भन्नुभयो, ‘वास्तवमा जाँच गर्ने समय जम्मा १० मिनेट हो तर त्यो १० मिनेटका लागि हामीले यहाँ ७ घण्टा बिताउनुपर्ने अवस्था छ ।’
सुरजको यो भोगाइ पाटन अस्पताल आउने हजारौँ सेवाग्राहीको प्रतिनिधि आवाज हो । नयाँ सरकारले सरकारी अस्पतालको भीड व्यवस्थापन र सेवा प्रवाहमा सुधार गर्ने निर्देशन दिए पनि भुइँ तहमा नागरिकले पाउने दुःख भने ज्यूँका त्यूँ छ ।
अस्पताल छिर्नेबित्तिकै सुरजले पहिलो चुनौती ‘कोठा नम्बर’ खोज्दा खेप्नुभयो । अस्पतालको व्यवस्थापन नै अन्योलपूर्ण देखिन्छ । कोठा नम्बर ६ पछि सीधै १० आउँछ, बीचका ७, ८ र ९ नम्बर कहाँ छन्, कसैलाई थाहा हुँदैन ।
‘हामी त कहिलेकाहीँ आउने मान्छे, कहाँ जाने, के गर्ने केही थाहा हुँदैन’, उहाँले भन्नुभयो, ‘कोठा खोज्दाखोज्दै डेढ घण्टा बित्छ । न त त्यहाँ सोधपुछका लागि पर्याप्त कर्मचारी छन्, न त स्पष्ट दिशा–निर्देश नै छ ।’
पाटन अस्पतालमा ७ वटा टिकट काउन्टर छन् । तर ती काउन्टरहरूमा लाग्ने भीड हेर्दा लाग्छ, यहाँ समयको कुनै मूल्य छैन । सुरजको अनुभवअनुसार अस्पतालले कार्ड सिस्टम त शुरू गरेको छ तर त्यो नाम मात्रको छ । ‘कार्ड स्क्यान गर्नेबित्तिकै बिरामीको हिस्ट्री आउनुपर्ने हो, तर यहाँ त हरेक पटक नयाँ बिरामी आएझैँ सबै विवरण सोधिराख्नुपर्छ’, उहाँ भन्नुहुन्छ ।
उहाँको अर्को गुनासो टिकट काउन्टरको अव्यवस्थित प्रकृतिमा छ । मुटुको बिरामी, गर्भवती र ज्येष्ठ नागरिक सबैलाई एउटै भीडमा मिसाइएको छ । विभागअनुसार टिकट काउन्टर छुट्ट्याउने हो भने भीड आधा घट्ने उहाँको भनाइ छ ।
अस्पताल व्यवस्थापनलाई उहाँको सुझाव छ–अनलाइन अपोइन्टमेन्ट र मोबाइल एप । आजभोलि सबैको हातमा स्मार्टफोन छ । यदि अस्पतालले एउटा एप बनाएर फलोअपका बिरामीका लागि अनलाइन टिकट र भुक्तानीको व्यवस्था गर्ने हो भने आधा समस्या हल हुने देखिन्छ ।
‘अनलाइनबाटै कुन समयमा आउने भनेर टोकन पाएको भए हामी ठ्याक्कै त्यही समयमा आउँथ्यौँ । न त यहाँ अनावश्यक भीड हुन्थ्यो, न त बिरामीका कुरुवाहरूले सास्ती पाउनुपर्थ्याे’, सुरज भन्नुहुन्छ । भित्र ओपीडीमा पनि टोकन सिस्टम लागू गरेर डिस्प्ले बोर्ड राखिदिने हो भने ‘मेरो पालो कहिले ?’ भन्दै ढोका ढक्ढक्याउनुपर्ने अवस्था अन्त्य हुने उहाँ बताउनुहुन्छ ।
कुराकानीकै बीचमा सुरजले घडी हेर्नुभयो । उहाँलाई घरमा छोरा लिन जानु छ । श्रीमती अझै लाइनमै हुनुहुन्छ । ‘म बच्चा लिन जान लागेको छु, श्रीमती अझै लाइनमै छिन् । साढे २ घण्टा त एउटै लाइनमा बसिरहनुपर्याे’, उहाँ निकै चिन्तित हुनुहुन्छ ।
अस्पतालको व्यवस्थापन टोलीले एसी कोठामा बसेर निर्देशन मात्र दिनुभन्दा पनि एकपटक स्वयम् काउन्टर र गल्लीहरूमा आएर नागरिकको सास्ती हेर्नुपर्ने उहाँको सुझाव छ । एउटा बिरामी र कुरुवाको दिनभरिको समय, ऊर्जा र मानसिक तनावको हिसाब सरकारले कहिले गर्ने हो ?

दिनभरि कोठा–कोठा धाउँदै समय र पैसा खर्च
हेटौँडाबाट आएर ललितपुरको थैबमा डेरा गरेर बस्ने रीता घर्ती आफ्ना बिरामी बुबालाई लिएर अस्पताल पुग्नुभएको छ । बुबा रोगको पीडाले आत्तिरहनुभएको छ । उहाँको मनमा एउटै हुटहुटी छ—‘छिट्टै डाक्टरलाई देखाउन पाए बुबाको उपचार गरेर छिटै निको हुन्थ्यो कि !’
बिहान ६ बजेदेखि ८ बजेसम्म रीताले टिकट लिनकै लागि लाइनमा बस्नुपर्याे । ‘२ घण्टा त टिकटकै लाइनमै बित्छ’, उहाँले सुस्केरा हाल्दै भन्नुभयो, ‘हामी लाइनमा बसिरहन्छौँ, कोही बीचबाट सीधै छिर्छन् । बल्लतल्ल साढे ८ बजे हातमा टिकट पर्छ ।’
टिकट हातमा परेपछि शुरू हुन्छ कोठा नम्बरहरूको दौडधुप । पहिले १६ नम्बर कोठा जहाँ डाक्टर पर्खिन थप १ घण्टा लाग्छ । त्यसपछि १६ नम्बर कोठाबाट २० नम्बरमा पैसा तिर्न पठाइन्छ । रीतालाई त्यहाँ झन्डै २० मिनेट लाइनमा बस्नुपर्याे र ८०० रुपैयाँ तिर्नुभयो । त्यसपछि फेरि १६ नम्बरमै फर्किनुभयो जहाँ पुनः आधा घण्टा पर्खिनुपर्छ । त्यसपछि बल्ल बिरामी हेर्ने पालो आउँछ । बिरामीलाई डाक्टरले सामान्य हेरेपछि रीता फेरि ८ नम्बर कोठामा बिल लिन जानुहुन्छ । ‘८ नम्बरमा पुगेर १ घण्टा उभिएपछि मात्र बिल पाइन्छ’, रीताले आफ्नो पीडा सुनाउनुभयो, ‘त्यहाँबाट फेरि २४ नम्बर कोठामा एक्स–रेका लागि पठाइन्छ । त्यहाँ पनि आधा घण्टा लाइन बस्नुपर्छ, फेरि पैसा तिर्न अर्को लाइन । जताततै लाइनै लाइन !’
‘बिहान ६ बजेदेखि दिउँसोसम्म झन्डै साढे ६ घण्टा केवल लाइन बस्न र एउटा कोठाबाट अर्को कोठा धाउँदामै बित्छ’, रीताले भन्नुभयो ।
रीताकी बिरामी बुबालाई रोगले झन् झन् च्यापिरहेको छ, अस्पतालले मुटु र पेटको एक्स–रे गर्न भनेको छ ।
झन् विडम्बना त के भने, झन्डै ३ हजार रुपैयाँ खर्च भइसक्दा पनि बुबाको हातमा एउटा चक्की औषधि परेको छैन । ‘अस्ति ७ हजार गयो, आज ३ हजार गयो । तर डाक्टरले औषधि दिएका छैनन्’, रीताले आक्रोश पोख्नुभयो, ‘आज दिनभरिको सास्तीपछि पनि एक्स–रे हुन सकेको छैन । साढे ५ बजे मात्रै एक्स–रे हुन्छ रे, अब भोलि ९ बजे आउनु भन्नुहुन्छ ।’
बाराको जीतपुर सिमरा उपमहानगरपालिकाकी ओमकुमारी कार्की पनि उपचार गराउन पाटन अस्पताल आउनुभएको छ । उहाँका लागि काठमाण्डौको यो नामी अस्पताल पहिलो अनुभव हो । उहाँ भन्नुहुन्छ, ‘अस्पतालभित्र त राम्रो रहेछ, डाक्टरहरू पनि राम्रा । तर एउटै कुराले मन अमिलो बनाउँछ, त्यो कहिल्यै नसकिने लामो लाइन ।’
उहाँ बिहानै ९ बजे अस्पताल पुग्नुभएको थियो । तर उपचारको प्रक्रिया शुरू गर्न उहाँले जुन सास्ती खेप्नुपर्याे, त्यो कुनै युद्ध जितेभन्दा कम थिएन ।
‘९ बजे आएर लाइन बसेको, साढे ११ बजे बल्ल टिकट पाइयो’, उहाँले भन्नुभयो । २–साढे २ घण्टा त केवल एउटा कागजको टुक्रा (टिकट) लिनमै बित्यो । त्यसपछि शुरू भयो अर्को सास्ती, डाक्टरलाई भेट्ने र रिपोर्ट देखाउने ।
ओमकुमारीका अनुसार टिकट काट्न ३ घण्टा, डाक्टरलाई भेट्न १ घण्टा र फेरि औषधि लिन १ देखि डेढ घण्टा— यसरी हेर्दा ५ घण्टाभन्दा बढी समय त उहाँको केवल लाइनमै उभिएर बित्यो । बिहान ९ बजे अस्पताल छिरेर दिउँसो ३ बजेमात्र बाहिर निस्कनुभयो ।
‘हामी त खप्न सकौँला, अरूलाई कति गाह्रो होला ?’ उहाँको प्रश्न छ ।
अस्पतालको आन्तरिक व्यवस्थापन र उपचार पद्धतिबाट उहाँ सन्तुष्ट हुनुहुन्छ । तर बिरामी मान्छेलाई ५–५ घण्टा लाइनमा उभ्याउनु न्यायोचित नभएको उहाँको ठम्याइ छ । ‘लाइन त बस्नैपर्याे तर लाइन बस्दा बिरामीलाई धेरै गाह्रो हुने रहेछ’, उहाँ भन्नुहुन्छ, ‘म त अलिअलि खप्न सक्नेछु र पो तर कति बिरामी त निकै गलेका हुन्छन् । उनीहरू कसरी घण्टौँ लाइन बस्छन् होला ?’
ओमकुमारीलाई लागेको थियो, काठमाण्डौका ठूला अस्पतालमा प्रविधि होला, काम छिटो होला । तर यहाँको ‘लाइन संस्कृति’ देख्दा उहाँ अक्कबक्क हुनुहुन्छ । नयाँ सरकार बनेको र स्वास्थ्य क्षेत्रमा सुधारका कुराहरू भइरहेको सुनेकी उहाँलाई एउटा आशा छ – बिरामीलाई अझ बढी सुविधा होस्, अलि गाह्रो भएको बिरामीलाई प्राथमिकता दिइयोस् ।
झन्डै ४ घण्टाअघि बिरामी नन्दलाई लिएर अस्पताल छिर्नुभएकी गोठाटारकी गीता लामिछाने बल्ल केही फुर्सद लिएर अस्पतालको आँगनमा निस्किनुभएको छ । गीताको अनुहारमा थकाइ प्रष्टै देखिन्छ । तर मनमा एउटा सन्तोष छ – ढिलै भए पनि उपचार त भयो ।
नगरकोटकी स्थानीय बासिन्दा गीता अहिले गोठाटारमा बस्नुहुन्छ । उहाँ आफैँमा स्वास्थ्य स्वयंसेविका पनि हुनुहुन्छ । त्यसैले होला स्वास्थ्य सेवाका साना–मसिना कुराहरूमा पनि उनको सूक्ष्म ध्यान जान्छ । आफ्नी नन्दलाई लेलेबाट उपचारका लागि पाटन अस्पताल ल्याउनुको कारण यहाँको गुणस्तरीय सेवा नै हो । ‘यहाँ बच्चादेखि मुटु रोग, सुगर, प्रेसर सबैको उपचार एकै ठाउँमा छ’, उहाँ भन्नुहुन्छ, ‘लेलेबाट नजिक पनि पर्ने र सेवा पनि राम्रो पाइने भएकाले हामी यहाँ आएका हौँ ।’
तर गुणस्तरीय सेवा पाउनुको मूल्य भने ’समय’ ले चुकाउनुपर्छ । बिहान साढे ११ बजे अस्पताल पुग्नुभएकी उहाँले ३ घण्टा त लाइनमै बिताउनुपर्याे । ‘लाइन त मान्छेको चापअनुसार बस्नैपर्याे, नियम त मान्नैपर्छ’, उहाँले भन्नुभयो । तर एउटा स्वास्थ्य स्वयंसेविकाको आँखाले उहाँलाई प्रणालीमा रहेको एउटा ठूलो कमजोरी महसुस गराएको छ—सेवाको भद्रगोल व्यवस्थापन ।
काठमाण्डौका केही अस्पतालमा सम्बन्धित विभागमै टिकट काट्ने र डाक्टर भेट्ने छुट्टाछुट्टै व्यवस्था छ । ‘त्यसरी विभाग छुट्यायो भने त एकदम छिटो र सजिलो हुन्छ नि ! ठ्याक्कै जुन ठाउँमा उपचार गराउने हो, त्यहीँ गएर टिकट काट्न पाए त नानाथरी झमेला नै हुँदैनथ्यो’, उहाँ भन्नुहुन्छ ।
टिकट काट्न एउटै लाइन, जचाउन अर्को लाइन र औषधि लिन फेरि अर्को घण्टौँको प्रतीक्षा । यो ’भद्रगोल’ ले गर्दा उपचारका लागि आउने मानिसको पूरै दिन बित्ने गरेको छ ।
गीताको एउटै सुझाव छ—अस्पतालमा यस्तो व्यवस्था होस् कि बिरामी आएको १–डेढ घण्टामा काम सकेर घर फर्कियोस् ।
‘जागिर खाने मान्छे होस् वा घरको काम गर्ने, सबैलाई समयको महत्त्व हुन्छ’, उहाँ थप्नुहुन्छ, ‘अलिकति छुट्टी लिएर आउनेले पनि उपचार गरेर काममा फर्कन सक्ने वातावरण बन्नुपर्छ ।’
नयाँ सरकार र नयाँ व्यवस्थाप्रति उहाँको आशा छ—अस्पतालको सेवालाई विभागअनुसार विकेन्द्रित गरियोस् । छालाको बिरामी छालाकै विभागमा जाओस्, मुटुको बिरामी मुटुमै । यसो भएमा न भीडभाड हुन्छ, न त बिरामीले सास्ती नै भोग्नुपर्छ ।
