भरतपुर । कृषि तथा वनविज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय, रामपुरमा भदौ १० गते भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीको कारण भएको जनधनको क्षतिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभ साथै बेपत्ता व्यक्तिहरुको सकुशल उद्धारको कामना गर्दै शोकसभा गरिएको छ ।
यस दुःखद घडीमा सो प्राकृतिक विपद्बाट प्रभावित परिवार एवम् समुदायको राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले कृषि तथा वनविज्ञान विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरुको भदौ महिनाको तलबबाट कट्टी हुने गरी ६० लाख रूपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गर्ने निर्णय गरिएको छ ।
जसमा उपकुलपति, रजिस्ट्रार, डिनहरु र परीक्षा नियन्त्रकको जनही एक महिनाको तलबबराबरको रकम, निर्देशकहरु तथा सहायक डिनहरुले जनही आधा महिनाको तलबबराबरको रकम, प्राध्यापक तथा प्रशासक र सह–प्राध्यापक तथा सह–प्रशासक वा सोसरहका शिक्षक, कर्मचारीबाट १० दिनको तलब, उप–प्राध्यापक तथा उप–प्रशासक र शाखा अधिकृत तथा प्रशिक्षक वा सोसरहका शिक्षक, कर्मचारीको सात दिनको तलब, मुख्य कार्यालय सहायक र कार्यालय सहायक वा सोसरहका कर्मचारीबाट पाँच दिनको तलब र सवारी चालक, कार्यालय सहयोगीलगायतका श्रेणीविहीन कर्मचारीको दुई दिनबराबरको पारिश्रमिक गरी ६० लाख रूपैयाँ कोषमा जम्मा गर्ने निर्णय भएको रजिस्ट्रार प्रा.डा. सुविर सिंहले जानकारी दिए ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. ऋषिराम कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. सुविर सिंह तथा कृषि सङ्कायका डिन प्रा.डा. सुन्दर तिवारी, पशुविज्ञान, पशुचिकित्सा र मत्स्यविज्ञान सङ्कायका डिन डा. शंकर वर्सिलालगायत परीक्षा नियन्त्रक, निर्देशकहरु, सहायक डिनहरु, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
