‘उच्च शिक्षा अध्ययनका लागि विदेश नगएर ठीक गरेँ’
कक्षा १२ सकेपछि राहदानी बनाउनु, कन्सल्टेन्सी धाउनु, आईईएलटीएस वा भाषा परीक्षाको तयारी गर्नु र अन्ततः विदेश उड्ने निश्चित भएपछि सामाजिक सञ्जालमा ‘फ्लाइङ टु…’ लेखेर तस्वीर हाल्नु धेरै नेपाली युवाहरूको साझा बाध्यता र नियतिजस्तै बनेको छ । छिमेकीको छोराले विदेश गएर टन्न पैसा कमाएको, दुई/चार वर्षमै घर बनाएको र साथीहरूको ताँतीले सिर्जना गरेको लहरमा नबग्ने युवा भेट्न मुश्किल छ । तर, यही भीडमा यस्ता केही पात्रहरू पनि छन् जसले स्वदेशमै सम्भावनाको नयाँ मार्गचित्र कोरेका छन् । तिनैमध्येका एक प्रतिनिधि पात्र हुनुहुन्छ झापाकाे बिर्तामोडका अभिषेक विमली ।
कोभिड–१९ को पहिलो लहर आउनुअघि अभिषेकको पाइला पनि विदेशतिरै सोझिएका थिए । उहाँले आईईएलटीएस पनि गर्नुभयो । तर, कोभिड महामारी र पारिवारिक परिस्थितिले उहाँको सोच बदलिदियो । उहाँले नेपालमै बसेर सूचना प्रविधि विषयमा स्नातक (ब्याचलर्स) पढ्ने निर्णय गर्नुभयो । आज फर्केर हेर्दा उहाँलाई लाग्छ– ‘मैले जीवनकै सबैभन्दा सही निर्णय लिएको थिएँ ।’
अभिषेकको व्यावसायिक यात्रा स्नातक तहको चौथो सेमेस्टरबाट शुरू भयो । कलेजको ‘इन्टरप्राइज प्रोजेक्ट’ अन्तर्गत रोबोटिक्स र इन्टरनेट अफ थिङ्ग्समा काम गर्दागर्दै उहाँको लगाव र क्षमता देखेर एक प्राध्यापकले उहाँलाई कलेजकै अनुसन्धान र विकास विभागमा कामको प्रस्ताव गर्नुभयो ।
कलेज परिसरभित्रै काम गर्न पाउनु उहाँका लागि सबैभन्दा ठूलो अनुकूलता थियो । बिहान कलेज पढ्ने, दिउँसो अनुसन्धान र काममा खटिने । कलेजको कार्यतालिकाअनुसार कामको समय फेरबदल गर्न पाउँदा उहाँलाई थप सहज बनायो ।
अभिषेकको अनुभवमा विद्यार्थी उमेरमै जागिर वा इन्टर्नशिप गर्दा केवल प्राविधिक ज्ञान मात्र प्राप्त हुँदैन, यसले वास्तविक संसारको कर्पोरेट बजार बुझ्न सिकाउँछ । ‘आफ्नै स्टार्टअप वा व्यवसाय शुरू गर्छु भन्दा पनि बजार कसरी चल्छ भन्ने ज्ञान चाहिन्छ’, अभिषेक भन्नुहुन्छ, ‘अफिसमा कसरी बोल्ने, सिनियर–जुनियरको मर्यादा र कर्पोरेट हाइराकी कसरी मेन्टेन गर्ने भन्नेजस्ता सफ्ट स्किल्स र व्यावसायिक कौशलता काम गरेरै मात्र सिकिन्छ ।’
आईटी क्षेत्रको पढाइ बाहिर सुनिने गरेजस्तै केही महँगो र खर्चिलो निश्चितै छ । तर, कलेजमै इन्टर्नशिप शुरू गरेपछि अभिषेकले आफ्नो दैनिक खर्चका लागि परिवारको भर पर्नु परेन । झन्डै तीन वर्षअघिको इन्टर्नशिपका दिनहरू सम्झँदै उहाँ भन्नुहुन्छ, ‘त्यति बेला मेरो दैनिक कमाइ झन्डै एक हजार रुपैयाँ हुन्थ्यो । महिनाको २५ देखि ३० हजार रुपैयाँ एउटा विद्यार्थीका लागि पर्याप्त मात्र होइन, धेरै बढी हुन्थ्यो । आफ्नो खाजा, लुगाफाटो र दैनिक आवश्यकता मात्र नभई कमाइको केही हिस्सा बचतसमेत गर्न सफल भएँ ।’
समय बदलिएको छ र सँगसँगै अभिषेकको भूमिका पनि । हिजो कलेजमा विद्यार्थी र इन्टर्नका रूपमा छिरेका अभिषेक आज त्यही कलेजमा शिक्षक हुनुहुन्छ । उहाँ अहिले एकातिर स्नातकोत्तर अध्ययन गर्दै कलेजकै माध्यमबाट बाहिरका दुई/चार वटा कम्पनीहरूमा व्यावसायिक रूपमा जोडिनुभएको छ ।
हिजो इन्टर्नशिपको कमाइबाट खुशी हुने उहाँको आम्दानी र स्तर अहिले पहिलाको तुलनामा निकै माथि पुगेको छ । ‘अहिले म सबै कुराबाट खुशी छु । जागिर पनि छ, स्यालरी पनि राम्रो छ र भविष्यमा अझै राम्रो हुँदै जाने मार्ग प्रष्ट छ ।’
नेपालबाट वार्षिक रूपमा हजारौँ विद्यार्थीहरू विदेश पलायन भइरहेका छन् । यसलाई रोक्न कस्तो शिक्षा नीति चाहिन्छ त ? प्रश्न गम्भीर छ । अभिषेकको बुझाइमा राज्यले ल्याउन लागेको ‘पढ्दै–कमाउँदै’ नीतिलाई मात्रै अक्षरशः र सही ढङ्गले कार्यान्वयन गर्ने हो भने आधाभन्दा धेरै युवाहरूलाई स्वदेशमै रोक्न सकिन्छ ।
विद्यार्थीहरू प्लस–टु सकेपछि परिवारको कमजोर आर्थिक अवस्था देखेर वा आफैँ परनिर्भर हुन मन नलागेर विदेशिने सोच बनाउँछन् । अभिषेक भन्नुहुन्छ, ‘विद्यार्थीलाई शुरूमै धेरै पैसा चाहिँदैन । कम्तीमा आफ्नो खाजा खर्च र कपडा किन्न घरमा माग्नु नपरोस् । यदि पढ्दै गर्दा महिनाको २०–२५ हजार रुपैयाँ कमाउने वातावरण बन्ने हो र बिहान कलेज पढेर दिउँसो तीन/चार घण्टा काम गर्ने अवसर पाउने हो भने धेरै विद्यार्थी विदेश जाँदैनन् ।’
उहाँ थप्नुहुन्छ, ‘उच्च शिक्षाका लागि विदेश नै जानुपरे पनि ब्याचलर्स सकेर, आफूसँग केही न केही प्राविधिक सीप लिएर मात्र मास्टर्सका लागि जानु बुद्धिमानी हुन्छ । सीपविहीन भएर प्लस–टुकै भरमा विदेश जाँदा श्रम बजारको तल्लो तहमा परेर पैसा कमाए पनि सीप र करियरको विकास ठप्प हुन्छ ।’
अभिषेकका धेरै साथीहरू अहिले विदेशमा छन् । उनीहरू पैसा त कमाइरहेका छन्, तर उनीहरूको काम र जीवनमा कतै न कतै असन्तुष्टि छ । अभिषेक भन्नुहुन्छ, ‘कतिपय साथीहरूले मलाई भन्छन्–तँ नेपालमै बसेर ठीक गरिस् ।’
‘पढ्दै–कमाउँदै’ गर्दा मिलेको सन्तुष्टि
स्नातक तहमा भर्ना भएपछि धेरैजसो विद्यार्थीको एउटै चिन्ता हुन्छ, ‘पढाइ खर्च कसरी धान्ने र बुबाआमासँग कतिन्जेल पैसा मागिरहने ?’ काठमाण्डौको उमाकुण्डकी अनुषा घिमिरे र उहाँका साथीहरूबीच पनि कलेजमा यस्तै भलाकुसारी चल्छ । अनुषा भन्नुहुन्छ,‘ मेरो एक साथीले त निकै भावुक हुँदै भनिन्, मलाई त अब घरमा पैसा माग्दा माग्दा लाज लागिसक्यो ।’
अनुषाले भने त्यो यथार्थलाई आफ्नो जीवनमा बदल्ने प्रयास गर्नुभयो । काठमाण्डौको मैतीदेवीमा सनवे कलेजमा ‘बीएससी अन कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स’ मा दोस्रो सेमेस्टरमा अध्ययनरत अनुषा अहिले कलेजमा केवल विद्यार्थी मात्र होइन, कलेजमै काम गर्दै आर्थिक रूपमा आत्मनिर्भर युवा हुनुभएको छ । पढाइ र कामलाई एउटै लयमा अगाडि बढाएर उहाँले कलेज जीवनलाई एउटा नयाँ आयाम दिनुभएको छ ।
कलेजमा हुने विभिन्न अतिरिक्त कार्यक्रम र गतिविधिहरूमा रुचि राख्ने भएकाले उहाँ भर्ना हुनुभन्दा एक वर्ष अगाडिदेखि नै कलेज आउने–जाने गर्नुहुन्थ्यो ।
नोभेम्बर २०२५ को इन्टेकमा भर्ना भएकी अनुषाको औपचारिक पढाइ नोभेम्बर २ देखि शुरू भयो । तर, उहाँका लागि त्यो दिन कलेजको पहिलो दिन मात्र रहेन, जागिरको पनि पहिलो दिन बन्न पुग्यो । कलेजले आन्तरिक रूपमा विद्यार्थीहरूका लागि इन्टर्नशिप र रोजगारीको भ्याकेन्सी (विज्ञापन) खुलाएको थियो । कलेजले सामाजिक सञ्जालमा राखेको गुगल फर्ममार्फत अनुषाले आवेदन दिनुभयो । लगत्तै गुगल क्यालेन्डरमार्फत मिटिङ सेट गरी घरबाटै अनलाइन अन्तर्वार्ता दिइ दुई/तीन दिनमै उहाँ छनोट भएको इमेल आयो । यसरी कलेजको शैक्षिक यात्रा शुरू भएकै दिनदेखि उहाँको आफ्नो व्यावसायिक यात्रा पनि शुरू भयो ।
कलेजले विद्यार्थीहरूका लागि काउन्सिलिङ (विद्यार्थी परामर्श) र वेबसाइट म्यानेजमेन्ट जस्ता थुप्रै कोटाहरू खुलाएको थियो । तर, अनुषाको रुचि सिर्जनात्मक क्षेत्रमा भएकाले उहाँले ‘कन्टेन्ट क्रिएशन’ विधा रोज्नुभयो ।
तीन महिनाको अवधि अनुषाका लागि सिकाइमै बित्यो र उहाँले थुप्रै प्राविधिक सीपहरू हासिल गर्नुभयो । कलेजका लागि कस्ता भिडियोहरू बनाउने, बजारमा के ट्रेन्ड चलिरहेको छ, कस्तो सङ्गीत प्रयोग गर्ने र भिडियोमा कसलाई फिचर गर्नेजस्ता सम्पूर्ण योजना आफैँ बनाउन थाल्नुभयो । आफ्नै उमेरका साथीहरूले इन्स्टाग्राममा कस्तो फिड मन पराउँछन् भन्ने कुरालाई ध्यानमा राखेर उहाँले कन्टेन्टहरू तयार पार्नुभयो । त्यसै क्रममा उहाँले व्यावसायिक रूपमा डीएसएलआर क्यामेरा चलाउन, अत्याधुनिक माइकहरूको व्यवस्थापन गर्न र स्टुडियोभित्र लाइटिङ मिलाएर भिडियो रेकर्ड गर्नसमेत सिक्नुभयो । यो अनुभवले गर्दा भोलि कलेज बाहिरको बजारमा यही विधामा काम गर्नुपरेमा आफू पूर्णरूपमा सक्षम भइसकेको उहाँ गर्वका साथ बताउनुहुन्छ ।
धेरैजसो विद्यार्थीलाई ब्याचलर्स पढ्दाको समयमा आर्थिक रूपमा स्वतन्त्र हुन गाह्रो हुन्छ । अनुषाले पनि शुरूका दुई महिना घरमै मागेर खचै चलाउनुभयो । तर, जागिरको पारिश्रमिक आउन थालेपछि विगत पाँच/छ महिनादेखि उहाँले घरमा एक रुपैयाँ पनि माग्नुभएको छैन । उहाँ अहिले आफ्नो खर्च आफैँ धान्न सक्ने हुनुभएको छ ।
अनुषाका अनुसार विद्यार्थी जीवनमा ठूलो खर्च भनेको दैनिक कलेज आउँदा–जाँदा लाग्ने गाडी भाडा र खाजा नै हो । कलेजको कमाइले उहाँको यो खर्च मज्जाले धानेको छ । यति मात्र होइन, आफ्नो कमाइबाट आफैँलाई मनपर्ने लुगा, जुत्ता किन्न र फुर्सदको समयमा साथीहरूसँग घुमघाम गर्नसमेत पुग्छ । उहाँले कलेजको कमाइबाट बचेको पैसालाई शेयर बजारमा समेत लगानी गर्न थाल्नुभएको छ ।
कलेजले आफ्ना विद्यार्थीहरूलाई केवल सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी ’पढाइसँगै कमाइ’ को अवसर दिएर उदाहरणीय काम गरेको छ । कलेजले हरेक नयाँ शैक्षिक सत्र वा इन्टेकका विद्यार्थीहरू (जस्तै भर्खरै भर्ना भएका मार्च २०२६ इन्टेकका विद्यार्थीहरू) का लागि आवश्यकताअनुसार आन्तरिक रोजगारीको ढोका खोलिदिन्छ । यसले गर्दा कलेजका विद्यार्थीहरूले बाहिरी बजारमा भौँतारिनु पर्दैन ।
कलेजले विद्यार्थीहरूका लागि विभिन्न क्षेत्रमा रोजगारी र सिकाइको अवसर सिर्जना गरेको छ । जस्तै– वेबसाइट म्यानेजमेन्ट, रिसर्च इन्टर्नशिप र रेन इन्कुबेसन आदि । अनुषाको अनुभवमा कलेजभित्र इन्टर्न गर्दा संस्थागत ज्ञान मात्र मिल्दैन, बरु कलेजमा आउने विभिन्न बाह्य कार्यक्रमहरूमा स्वयंसेवकका रूपमा जाने पहिलो अवसर पनि इन्टर्नहरूले नै पाउँछन् ।
सबै विद्यार्थीसँग कलेजको पढाइसँगै कामलाई समय दिने अनुकूलता हुँदैन र कलेजसँग सबैलाई पुग्ने कोटा पनि हुँदैन । तर, कलेजले सिर्जना गरिदिएको यो अवसरलाई जसले सदुपयोग गर्न सक्छ, उसका लागि मार्गदर्शक बन्ने निश्चित छ । कलेज आफैँले आफ्ना विद्यार्थीको क्षमतामाथि विश्वास गरेर रोजगारी र इन्टर्नशिपको बाटो खोलिदिँदा विद्यार्थीहरूलाई सीपयुक्त, आत्मनिर्भर र बजार सुहाउँदो दक्ष जनशक्ति बन्न मद्दत पुग्छ ।
