"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

‘उच्च शिक्षा अध्ययनका लागि विदेश नगएर ठीक गरेँ’

Table of Content

‘उच्च शिक्षा अध्ययनका लागि विदेश नगएर ठीक गरेँ’

कक्षा १२ सकेपछि राहदानी बनाउनु, कन्सल्टेन्सी धाउनु, आईईएलटीएस वा भाषा परीक्षाको तयारी गर्नु र अन्ततः विदेश उड्ने निश्चित भएपछि सामाजिक सञ्जालमा ‘फ्लाइङ टु…’ लेखेर तस्वीर हाल्नु धेरै नेपाली युवाहरूको साझा बाध्यता र नियतिजस्तै बनेको छ । छिमेकीको छोराले विदेश गएर टन्न पैसा कमाएको, दुई/चार वर्षमै घर बनाएको र साथीहरूको ताँतीले सिर्जना गरेको लहरमा नबग्ने युवा भेट्न मुश्किल छ । तर, यही भीडमा यस्ता केही पात्रहरू पनि छन् जसले स्वदेशमै सम्भावनाको नयाँ मार्गचित्र कोरेका छन् । तिनैमध्येका एक प्रतिनिधि पात्र हुनुहुन्छ झापाकाे बिर्तामोडका अभिषेक विमली ।

कोभिड–१९ को पहिलो लहर आउनुअघि अभिषेकको पाइला पनि विदेशतिरै सोझिएका थिए । उहाँले आईईएलटीएस पनि गर्नुभयो । तर, कोभिड महामारी र पारिवारिक परिस्थितिले उहाँको सोच बदलिदियो । उहाँले नेपालमै बसेर सूचना प्रविधि विषयमा स्नातक (ब्याचलर्स) पढ्ने निर्णय गर्नुभयो । आज फर्केर हेर्दा उहाँलाई लाग्छ– ‘मैले जीवनकै सबैभन्दा सही निर्णय लिएको थिएँ ।’

अभिषेकको व्यावसायिक यात्रा स्नातक तहको चौथो सेमेस्टरबाट शुरू भयो । कलेजको ‘इन्टरप्राइज प्रोजेक्ट’ अन्तर्गत रोबोटिक्स र इन्टरनेट अफ थिङ्ग्समा काम गर्दागर्दै उहाँको लगाव र क्षमता देखेर एक प्राध्यापकले उहाँलाई कलेजकै अनुसन्धान र विकास विभागमा कामको प्रस्ताव गर्नुभयो ।

कलेज परिसरभित्रै काम गर्न पाउनु उहाँका लागि सबैभन्दा ठूलो अनुकूलता थियो । बिहान कलेज पढ्ने, दिउँसो अनुसन्धान र काममा खटिने । कलेजको कार्यतालिकाअनुसार कामको समय फेरबदल गर्न पाउँदा उहाँलाई थप सहज बनायो ।

अभिषेकको अनुभवमा विद्यार्थी उमेरमै जागिर वा इन्टर्नशिप गर्दा केवल प्राविधिक ज्ञान मात्र प्राप्त हुँदैन, यसले वास्तविक संसारको कर्पोरेट बजार बुझ्न सिकाउँछ । ‘आफ्नै स्टार्टअप वा व्यवसाय शुरू गर्छु भन्दा पनि बजार कसरी चल्छ भन्ने ज्ञान चाहिन्छ’, अभिषेक भन्नुहुन्छ, ‘अफिसमा कसरी बोल्ने, सिनियर–जुनियरको मर्यादा र कर्पोरेट हाइराकी कसरी मेन्टेन गर्ने भन्नेजस्ता सफ्ट स्किल्स र व्यावसायिक कौशलता काम गरेरै मात्र सिकिन्छ ।’

आईटी क्षेत्रको पढाइ बाहिर सुनिने गरेजस्तै केही महँगो र खर्चिलो निश्चितै छ । तर, कलेजमै इन्टर्नशिप शुरू गरेपछि अभिषेकले आफ्नो दैनिक खर्चका लागि परिवारको भर पर्नु परेन । झन्डै तीन वर्षअघिको इन्टर्नशिपका दिनहरू सम्झँदै उहाँ भन्नुहुन्छ, ‘त्यति बेला मेरो दैनिक कमाइ झन्डै एक हजार रुपैयाँ हुन्थ्यो । महिनाको २५ देखि ३० हजार रुपैयाँ एउटा विद्यार्थीका लागि पर्याप्त मात्र होइन, धेरै बढी हुन्थ्यो । आफ्नो खाजा, लुगाफाटो र दैनिक आवश्यकता मात्र नभई कमाइको केही हिस्सा बचतसमेत गर्न सफल भएँ ।’

समय बदलिएको छ र सँगसँगै अभिषेकको भूमिका पनि । हिजो कलेजमा विद्यार्थी र इन्टर्नका रूपमा छिरेका अभिषेक आज त्यही कलेजमा शिक्षक हुनुहुन्छ । उहाँ अहिले एकातिर स्नातकोत्तर अध्ययन गर्दै कलेजकै माध्यमबाट बाहिरका दुई/चार वटा कम्पनीहरूमा व्यावसायिक रूपमा जोडिनुभएको छ ।

हिजो इन्टर्नशिपको कमाइबाट खुशी हुने उहाँको आम्दानी र स्तर अहिले पहिलाको तुलनामा निकै माथि पुगेको छ । ‘अहिले म सबै कुराबाट खुशी छु । जागिर पनि छ, स्यालरी पनि राम्रो छ र भविष्यमा अझै राम्रो हुँदै जाने मार्ग प्रष्ट छ ।’

नेपालबाट वार्षिक रूपमा हजारौँ विद्यार्थीहरू विदेश पलायन भइरहेका छन् । यसलाई रोक्न कस्तो शिक्षा नीति चाहिन्छ त ? प्रश्न गम्भीर छ । अभिषेकको बुझाइमा राज्यले ल्याउन लागेको ‘पढ्दै–कमाउँदै’ नीतिलाई मात्रै अक्षरशः र सही ढङ्गले कार्यान्वयन गर्ने हो भने आधाभन्दा धेरै युवाहरूलाई स्वदेशमै रोक्न सकिन्छ ।

विद्यार्थीहरू प्लस–टु सकेपछि परिवारको कमजोर आर्थिक अवस्था देखेर वा आफैँ परनिर्भर हुन मन नलागेर विदेशिने सोच बनाउँछन् । अभिषेक भन्नुहुन्छ, ‘विद्यार्थीलाई शुरूमै धेरै पैसा चाहिँदैन । कम्तीमा आफ्नो खाजा खर्च र कपडा किन्न घरमा माग्नु नपरोस् । यदि पढ्दै गर्दा महिनाको २०–२५ हजार रुपैयाँ कमाउने वातावरण बन्ने हो र बिहान कलेज पढेर दिउँसो तीन/चार घण्टा काम गर्ने अवसर पाउने हो भने धेरै विद्यार्थी विदेश जाँदैनन् ।’

उहाँ थप्नुहुन्छ, ‘उच्च शिक्षाका लागि विदेश नै जानुपरे पनि ब्याचलर्स सकेर, आफूसँग केही न केही प्राविधिक सीप लिएर मात्र मास्टर्सका लागि जानु बुद्धिमानी हुन्छ । सीपविहीन भएर प्लस–टुकै भरमा विदेश जाँदा श्रम बजारको तल्लो तहमा परेर पैसा कमाए पनि सीप र करियरको विकास ठप्प हुन्छ ।’

अभिषेकका धेरै साथीहरू अहिले विदेशमा छन् । उनीहरू पैसा त कमाइरहेका छन्, तर उनीहरूको काम र जीवनमा कतै न कतै असन्तुष्टि छ । अभिषेक भन्नुहुन्छ, ‘कतिपय साथीहरूले मलाई भन्छन्–तँ नेपालमै बसेर ठीक गरिस् ।’

‘पढ्दै–कमाउँदै’ गर्दा मिलेको सन्तुष्टि

स्नातक तहमा भर्ना भएपछि धेरैजसो विद्यार्थीको एउटै चिन्ता हुन्छ, ‘पढाइ खर्च कसरी धान्ने र बुबाआमासँग कतिन्जेल पैसा मागिरहने ?’ काठमाण्डौको उमाकुण्डकी अनुषा घिमिरे र उहाँका साथीहरूबीच पनि कलेजमा यस्तै भलाकुसारी चल्छ । अनुषा भन्नुहुन्छ,‘ मेरो एक साथीले त निकै भावुक हुँदै भनिन्, मलाई त अब घरमा पैसा माग्दा माग्दा लाज लागिसक्यो ।’

अनुषाले भने त्यो यथार्थलाई आफ्नो जीवनमा बदल्ने प्रयास गर्नुभयो । काठमाण्डौको मैतीदेवीमा सनवे कलेजमा ‘बीएससी अन कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स’ मा दोस्रो सेमेस्टरमा अध्ययनरत अनुषा अहिले कलेजमा केवल विद्यार्थी मात्र होइन, कलेजमै काम गर्दै आर्थिक रूपमा आत्मनिर्भर युवा हुनुभएको छ । पढाइ र कामलाई एउटै लयमा अगाडि बढाएर उहाँले कलेज जीवनलाई एउटा नयाँ आयाम दिनुभएको छ ।

कलेजमा हुने विभिन्न अतिरिक्त कार्यक्रम र गतिविधिहरूमा रुचि राख्ने भएकाले उहाँ भर्ना हुनुभन्दा एक वर्ष अगाडिदेखि नै कलेज आउने–जाने गर्नुहुन्थ्यो ।

नोभेम्बर २०२५ को इन्टेकमा भर्ना भएकी अनुषाको औपचारिक पढाइ नोभेम्बर २ देखि शुरू भयो । तर, उहाँका लागि त्यो दिन कलेजको पहिलो दिन मात्र रहेन, जागिरको पनि पहिलो दिन बन्न पुग्यो । कलेजले आन्तरिक रूपमा विद्यार्थीहरूका लागि इन्टर्नशिप र रोजगारीको भ्याकेन्सी (विज्ञापन) खुलाएको थियो । कलेजले सामाजिक सञ्जालमा राखेको गुगल फर्ममार्फत अनुषाले आवेदन दिनुभयो । लगत्तै गुगल क्यालेन्डरमार्फत मिटिङ सेट गरी घरबाटै अनलाइन अन्तर्वार्ता दिइ दुई/तीन दिनमै उहाँ छनोट भएको इमेल आयो । यसरी कलेजको शैक्षिक यात्रा शुरू भएकै दिनदेखि उहाँको आफ्नो व्यावसायिक यात्रा पनि शुरू भयो ।

कलेजले विद्यार्थीहरूका लागि काउन्सिलिङ (विद्यार्थी परामर्श) र वेबसाइट म्यानेजमेन्ट जस्ता थुप्रै कोटाहरू खुलाएको थियो । तर, अनुषाको रुचि सिर्जनात्मक क्षेत्रमा भएकाले उहाँले ‘कन्टेन्ट क्रिएशन’ विधा रोज्नुभयो ।

तीन महिनाको अवधि अनुषाका लागि सिकाइमै बित्यो र उहाँले थुप्रै प्राविधिक सीपहरू हासिल गर्नुभयो । कलेजका लागि कस्ता भिडियोहरू बनाउने, बजारमा के ट्रेन्ड चलिरहेको छ, कस्तो सङ्गीत प्रयोग गर्ने र भिडियोमा कसलाई फिचर गर्नेजस्ता सम्पूर्ण योजना आफैँ बनाउन थाल्नुभयो । आफ्नै उमेरका साथीहरूले इन्स्टाग्राममा कस्तो फिड मन पराउँछन् भन्ने कुरालाई ध्यानमा राखेर उहाँले कन्टेन्टहरू तयार पार्नुभयो । त्यसै क्रममा उहाँले व्यावसायिक रूपमा डीएसएलआर क्यामेरा चलाउन, अत्याधुनिक माइकहरूको व्यवस्थापन गर्न र स्टुडियोभित्र लाइटिङ मिलाएर भिडियो रेकर्ड गर्नसमेत सिक्नुभयो । यो अनुभवले गर्दा भोलि कलेज बाहिरको बजारमा यही विधामा काम गर्नुपरेमा आफू पूर्णरूपमा सक्षम भइसकेको उहाँ गर्वका साथ बताउनुहुन्छ ।

धेरैजसो विद्यार्थीलाई ब्याचलर्स पढ्दाको समयमा आर्थिक रूपमा स्वतन्त्र हुन गाह्रो हुन्छ । अनुषाले पनि शुरूका दुई महिना घरमै मागेर खचै चलाउनुभयो । तर, जागिरको पारिश्रमिक आउन थालेपछि विगत पाँच/छ महिनादेखि उहाँले घरमा एक रुपैयाँ पनि माग्नुभएको छैन । उहाँ अहिले आफ्नो खर्च आफैँ धान्न सक्ने हुनुभएको छ ।

अनुषाका अनुसार विद्यार्थी जीवनमा ठूलो खर्च भनेको दैनिक कलेज आउँदा–जाँदा लाग्ने गाडी भाडा र खाजा नै हो । कलेजको कमाइले उहाँको यो खर्च मज्जाले धानेको छ । यति मात्र होइन, आफ्नो कमाइबाट आफैँलाई मनपर्ने लुगा, जुत्ता किन्न र फुर्सदको समयमा साथीहरूसँग घुमघाम गर्नसमेत पुग्छ । उहाँले कलेजको कमाइबाट बचेको पैसालाई शेयर बजारमा समेत लगानी गर्न थाल्नुभएको छ ।

कलेजले आफ्ना विद्यार्थीहरूलाई केवल सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी ’पढाइसँगै कमाइ’ को अवसर दिएर उदाहरणीय काम गरेको छ । कलेजले हरेक नयाँ शैक्षिक सत्र वा इन्टेकका विद्यार्थीहरू (जस्तै भर्खरै भर्ना भएका मार्च २०२६ इन्टेकका विद्यार्थीहरू) का लागि आवश्यकताअनुसार आन्तरिक रोजगारीको ढोका खोलिदिन्छ । यसले गर्दा कलेजका विद्यार्थीहरूले बाहिरी बजारमा भौँतारिनु पर्दैन ।

कलेजले विद्यार्थीहरूका लागि विभिन्न क्षेत्रमा रोजगारी र सिकाइको अवसर सिर्जना गरेको छ । जस्तै– वेबसाइट म्यानेजमेन्ट, रिसर्च इन्टर्नशिप र रेन इन्कुबेसन आदि । अनुषाको अनुभवमा कलेजभित्र इन्टर्न गर्दा संस्थागत ज्ञान मात्र मिल्दैन, बरु कलेजमा आउने विभिन्न बाह्य कार्यक्रमहरूमा स्वयंसेवकका रूपमा जाने पहिलो अवसर पनि इन्टर्नहरूले नै पाउँछन् ।

सबै विद्यार्थीसँग कलेजको पढाइसँगै कामलाई समय दिने अनुकूलता हुँदैन र कलेजसँग सबैलाई पुग्ने कोटा पनि हुँदैन । तर, कलेजले सिर्जना गरिदिएको यो अवसरलाई जसले सदुपयोग गर्न सक्छ, उसका लागि मार्गदर्शक बन्ने निश्चित छ । कलेज आफैँले आफ्ना विद्यार्थीको क्षमतामाथि विश्वास गरेर रोजगारी र इन्टर्नशिपको बाटो खोलिदिँदा विद्यार्थीहरूलाई सीपयुक्त, आत्मनिर्भर र बजार सुहाउँदो दक्ष जनशक्ति बन्न मद्दत पुग्छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

नागरिक चौतारी डिजिटल प्लेटफर्म सञ्चालनको तयारी, सरकारलाई सिधै सुझाव दिन मिल्ने

नागरिक चौतारी डिजिटल प्लेटफर्म सञ्चालनको तयारी, सरकारलाई सिधै सुझाव दिन मिल्ने काठमाण्डौ – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका नीति, योजना र गतिविधिसँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित सरकारले ‘नागरिक चौतारी’ नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याउने तयारी गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यो प्रणालीको प्रारम्भिक संस्करण छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको प्रधानमन्त्रीको स्वकीय उपसचिव...

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने काठमाण्डौ – पूर्व र मध्य भेगका केही ठाउँमा गए राति र आज बिहान हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो पनि कोशी प्रदेशका तराई, मधेश प्रदेश र अरू प्रदेशका पहाडी तथा हिमाली भेगमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार...

‘परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी’

‘परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी’ काठमाण्डौ – परराष्ट्रमन्त्री शिशिर खनाल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी हिजो स्वदेश फर्कनुभएको छ । उहाँ चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार बेइजिङ पुग्नुभएको थियो ।  भ्रमणका क्रममा सोमबार मन्त्री खनाल...

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ काठमाण्डौ – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ? ख्याल गर्नुहोला यस्ता घटना अहिले नेपालमा भइरहेका छन् । त्यस्ता ठगीबाट बच्न विशेष सावधानी अपनाउन प्रहरीले अनुरोध छ ।  हालै काठमाण्डौमा यस्तै घटना सार्वजनिक भएको छ । आफू अमेरिकामा रहेको नेपाली बोल्न नआउने भनी अङ्ग्रेजी भाषामा...

असार तेस्रो हप्तादेखि सुकुम्वासीलाई लालपुर्जा वितरण गरिने

असार तेस्रो हप्तादेखि सुकुम्वासीलाई लालपुर्जा वितरण गरिने काठमाण्डाै – सरकारले यही असारको तेस्रो हप्तादेखि सुकुम्वासीलाई लालपुर्जा वितरण शुरू गर्ने जनाएको छ । आउँदो आर्थिक वर्षको बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी गराउनुभएको हो । काठमाण्डाैका सुकुम्वासीहरूलाई विस्थापन गरेर सरकारले होल्डिङ सेन्टरमा राखिरहेको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०