‘बाध्यताले सुकुम्वासी भयौँ, काम पाउने ठाउँमा बस्न पाए हुन्थ्यो’
काठमाण्डौको वंशीघाटमा बाटो पारी घर भत्काएको ठाउँमा कवाड सङ्कलन गर्नेहरु फलामका टुक्रा बटुल्न व्यस्त छन् । घर भत्किएको ठाउँमा डोजरले सम्याउन थालेको छ । बाटोवारि बागमती किनारको छेउमा श्रीमान र चार छोराछोरीको साथमा खुला आकाशमा बसिरहनुभएको छ, अन्जु नेपाली । उहाँ भत्केको घर हेर्दै टोलाइरहनुभएको छ । बाउबाजेको पालादेखि अरूको घरमा काम गर्दै आएको अन्जुको परिवार २०६२ सालपछि धादिङको किरानचोकबाट काठमाण्डौको बागमती किनारमा बस्न थालेको हो । गएको शुक्रवार सरकारले काठमाण्डौको वंशीघाटमा अतिक्रमित घरहरु भत्काएपछि नजिकै पर्ने त्रिपुरेश्वरको दशरथ रङ्गशालामा रहेको प्राथमिक दर्ता केन्द्रमा पुग्न ढिलाई भएपछि उहाँहरु सरकारले तोकेको होल्डिङ सेन्टरमा जान पाउनुभएन । त्यसपछि अन्जुको परिवारको बास त्यहीँ बस्ती छेउको खोला किनारमा हुन थाल्यो, त्यो पनि खुला आकाशमुनी ।

‘घर भत्किएपछि रङ्गशाला गएका थियौं, दिनभर सबैजना बाटोमा राखिएका सामान मिलाउन व्यस्त भयौं । त्यहाँका कर्मचारीले आज ढिला भयो भोलि अलि छिटै आउनु भनेपछि यहीँ आएर बाहिरै बस्यौं । त्यो दिन जान नपाए पनि त्यहीँ खाजा र खाना दिइएको थियो’ अन्जुले भन्नुभयो ।
अन्जुलाई घर डोजरले भत्काएको भन्दा बढी पीर सरकारले आफूहरुलाई कहाँ लगेर राख्ला भन्नेमा छ । ‘सरकारले शहरभन्दा टाढा राख्यो भने काम पाईंदैन । श्रीमानले एउटा आँखाले देख्नुहुन्न, म पनि बुढी हुन थालें, भारी काम गर्न सकिंदैन’ अन्जु भन्नुहुन्छ, ‘नजिकैको मन्दिरमा बुढाबुढी भएर पानी, धुपबत्ति बेच्थ्यौं । अब भक्तपुरतिर लैजाने भनेको छ, त्यहाँ गएपछि के काम गर्ने हो थाहा छैन ।’

२२ वर्षअघि ताप्लेजुङबाट थापाथलीको किनारमा बस्दै आएका मदन कामीको पीडा पनि अन्जुको भन्दा कम छैन । गाउँमा भएको जग्गा जमिन पहिरोले लग्यो । गाउँ छोडेर काठमाण्डौ आउँदा गाडी दुर्घटना भएपछि आफू, बाबु र आमाको उपचार गर्नको लागि बाँकी रहेको केही जमिन पनि बेच्नुपर्यो । त्यसपछि मदनसँग केही भएन । ज्यामी काम गर्दै गुजारा चलाउनुभएका मदन श्रीमती र छोरीसहित थापाथलीको बागमती किनारमा बस्दै आउनुभएको थियोे । सरकारले थापाथलीको टहरा भत्काइदिएपछि अहिले कीर्तिपुरमा रहेको होल्डिङ सेन्टरमा हुनुहुन्छ । उहाँलाई आफ्नो काम र छोरीको पढाइको चिन्ता छ । ‘छोरीको स्कूल लागिसक्यो, यहाँबाट पहिले पढेको ठाउँमा पुर्याउन र लिन जाँदा टाढा पर्छ’ मदन दुखेसो पोख्नुुहुन्छ, ‘थापाथली हुँदा फाट्टफुट्ट काम पाइरहेको हुन्थें, यहाँ आएपछि काम गर्ने मेसो पाउन सकेको छैन ।’

थापाथलीको टहरो डोजरले भत्काएपछि कीर्तिपुरकै होल्डिङ सेन्टरमा पुगेका भीबहादुर चेपाङलाई राम्रोसँग निद्रा लाग्दैन । दिउँसोको समयमा आफू पहिलेदेखि बसिरहेको पुरानो बस्ती थापाथली पुग्नुहुन्छ ।
‘मलाई कीर्तिपुर जानै मन थिएन, प्रहरी आएर अनुरोध गरेपछि बल्ल गएँ’ ‘भीम भन्नुहुन्छ, ‘त्यहाँ रातभर निद्रा नै लागेन, रातभर लामखुट्टेले टोकेर सुत्नै सकिन, बिहानै काममा जान्छु भनेर निस्केर यहीँ आएर बसेको छु । मेरो केही नभए पनि थापाथलीको यो ठाउँमा आउँदा यसै आनन्द आउँछ । तर बेलुका उतै जान्छु, यहाँ खाना कसले दिन्छ र होल्डिङमा बस्न केही समस्या भए पनि खाना पेटभरी खुवाउँदो रहेछ ।’

चितवनमा जन्मेका भिमबहादुर २०४७ सालतिर काठमाण्डौ आउनुभयो । चितवनमा खान लगाउन निकै गाह्रो थियो । पाखोबारीमा उब्जनी हुँदैनथ्यो । ‘हाम्रो समुदायमा पढेलेखेको कोही थिएन । अलि ठूलो भएपछि आफैं हिंड्दै काठमाण्डौ आउने सडकसम्म आएँ । एउटा रोकिराखेको बसको हुटमा चालकलाई थाहा नदिइ चढें, त्यो बसमा काठमाण्डौसम्म आएँ’ भिमबहादुर सम्झनुहुन्छ । काठमाण्डौ आएपछि जाने ठाउँ भएन । त्यसपछि उहाँ बागमती नदी किनारमा बस्न थाल्नुभयो । ‘२० वर्षसम्म यही ठाउँ बसियो, अहिले आएर सरकारले हटायो । सरकारले कहाँ लान्छ थाहा छैन, तर जहाँ लगे पनि खान, बस्न र काम दियोस् मलाई काठमाण्डौमै चाहिन्छ भन्ने छैन’ उहाँले भन्नुभयो ।

झापामा अरूको घरमा काम गर्दै आउनुभएकी माया माझी घर नहुनेलाई सरकारले जग्गा दिएको छ भन्ने सुनेपछि २२ वर्षअघि परिवारसहित काठमाण्डौ आउनुभयो । बागमतीको खोला किनारमा बस्न थाल्नुभयो । अहिले सरकारले घर भत्काइदिएपछि होल्डिङ सेन्टरमा बस्नुभएकी मायालाई सरकारले केही गर्छ कि भन्ने आशा छ । ‘गाउँमा हुँदा बाउबाजेदेखि अर्काको घरमा काम गर्थ्याैं, कहिलै आफ्नो घर जग्गा किनेर बस्न सकेनौं, काम गर्दासम्म हामीलाई बस्न दिन्थे काम नहुँदा निस्केर जाउ भन्थे । त्यो हेपाइ सहन नसकेर पनि काठमाण्डौ आएर खोला किनारमा बसेका हौं । हामी जस्ता घर, जग्गा, खेत केही नहुनेलाई सरकारले हेर्छ कि भन्ने आश छ, हामीलाई सरकारले जहाँ लान्छ त्यहँ जान तयार छौं’ मायाले भन्नुभयो ।

प्रधानमन्त्री बालेन्द्र शाहले असुरक्षित र जोखिमयुक्त ठाउँमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताउनुभएको छ । सरकारले कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । तर शङ्खमुलमा बस्दै आउनुभएका नवराज कार्की सरकारले घर भत्काइदिएपछि अरू पीडितजस्तै बिचल्लीमा पर्नुभएको छ ।
शङ्खमुलमै जन्मिनुभएका नवराज पारिवारिक समस्याका कारण एक्लै बस्दै आनुभएको थियो । उहाँको परिवार सोलुखुम्बुबाट काठमाण्डौ आएको भन्ने थाहा छ, तर अहिलेसम्म त्यहाँ जानुभएको छैन । परिवारमा कोही नभएपछि फर्निचरको काम गर्दै गुजारा चलाउँदै आएका नवराज घर भत्केपछि आफूलाई सरकारले हेर्दैन कि भन्ने डरले भत्काएको घर अगाडि खुला आकाशमा एउटा खाट राखेर बस्नुभएको छ । ‘प्राथमिक दर्ता केन्द्र गयो भने घर भएको मानिसलाई राख्दैन भन्ने सुनेको छु, कोठा पनि खोजिरहेको छु तर पाएको छैन । मसँग सीप छ, मलाई बस्न मात्रै व्यवस्था भए म आफै काम गरेर खान सक्छु’ उहाँले भन्नुभयो ।

घर भत्केपछि बिचल्लीमा परेका सबै विस्थापितहरु सरकारले पायक पर्ने ठाउँमा राख्छ र काम गरेरै गुजारा चलाउन सकिन्छ भन्ने आशामा बसिरहेका छन् ।




