काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको चरौँदी कृष्णभीर क्षेत्रमा नयाँ ट्याक खोलेर गाडी चल्न थालेपछि गाडीको चाप पनि बढ्न थालेको छ ।
भदौ १० को बाढी लगत्तै अवरुद्ध कृष्णभीरको सडक वैकल्पिक मार्ग खोलेर गएको असोज १ गतेदेखि सञ्चालनमा आएको हो । झण्डै तीन हप्ता यातायात प्रभावित भएकोमा अहिले सहज बन्दै गएको छ ।
भोटेकोशी र त्रिशूली नदीको बाढीका कारण कृष्णभीर क्षेत्रमा कटान र पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध थियो । देशका विभिन्न ठाउँबाट काठमाण्डौ भित्रने र काठमाण्डौबाट बाहिरीने मुख्य सडकसञ्जाल नै क्षति भएपछि यात्रु तथा गाडीले वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको थियो ।
अहिले दुईतर्फी नै सडक सञ्चालनमा आएपछि निजी, सार्वजनिक तथा मालवाहक गाडीको चाप बढेको हो । तर सडकमा जोखिम कायमै रहेकाले सावधानी अपनाउनुपर्ने अवस्था छ ।
त्यस्तै तत्कालका लागि वैकल्पिक सडकबाट यातायात सञ्चालन भए पनि दीर्घकालीन समाधानका लागि क्षतिग्रस्त सडक तथा आसपासका संरचनाको प्राविधिक अध्ययनसहित पुनर्निर्माण आवश्यक देखिएको छ ।
