माडी । माडी नगरपालिकाको शिवद्वार बस्तीमा सञ्चालनमा रहेको अयोध्यापुरी मध्यवर्ती सामुदायिक मगर होमस्टे बर्खा लागेसँगै पाहुना नआउँदा सुनसान बनेको छ । घरबास सञ्चालकका अनुसार गत साउनदेखि घरबासमा पुग्ने पर्यटकको संख्या ह्वात्तै घटेको छ । घरबासमा पाहुना नआउँदा सञ्चालकसमेत खेतबारीको काममा व्यस्त भएका छन् । अहिले घरबासमात्रै नभएर जिल्लाका पर्यटकीयस्थल पनि सुनसानजस्तै छन् ।
दैनिक तीन सयभन्दा बढी पर्यटक आउने गरे पनि बर्खायाम लागेसँगै पर्यटकको सङ्ख्या कम भएको अयोध्यापुरी मध्यवर्ती सामुदायिक मगर होमस्टेका अध्यक्ष मोहनबहादुर पुन मगरले जानकारी दिए । वर्षायाममा बाटो अवरूद्ध हुने, यात्रा कठिन हुने, दृश्यावलोकनमा स्पष्टता नहुनेलगायका कारण असार लागेदेखि यहाँका होमस्टेमा पर्यटक आउन छोडेको उनले बताए । ‘अझै पनि माडी आउने बाटो राम्रो छैन, बाटो राम्रो भए माडीमा बर्खामा पनि पाहुना आउनेथिए’, अध्यक्ष पुन मगरले भने ।
उनका अनुसार यो होमस्टे विसं २०७२ साल पुस १२ गते तत्कालीन वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटाबाट उद्घाटन भई सञ्चालनमा आएको हो । मगर जातिको बाहुल्यता रहेको यस बस्तीमा १२ घरधुरीले सामूहिकरुपमा होमस्टे सञ्चालन गरेका छन् । म्याग्दी र पर्वतबाट २०२१ सालमा माडीको शिवद्वार बस्तीमा बसाइ सरेर आएका ७० घर पुन मगरमध्ये अहिले जम्मा १२ घर मगर रहेका छन् । २०२६ सालको बाढीले विस्थापित भएपछि ५० भन्दा बढी घरधुरीका मगर पुनर्वासका लागि बाँके पुगे । शिवद्वारमै रहेका १२ घरधुरी मगरमध्ये सात पुन मगर, एक थापा मगर, दुई नेवार र एक राई परिवारले अहिले शिवद्वारमा होमस्टे सञ्चालनमा ल्याएका छन् ।
एउटा घरमा दुई कोठा र चार बेडका हिसाबले ११ घरपरिवारले ४४ बेड क्षमताको होमस्टे सञ्चालनमा ल्याएको अध्यक्ष पुन मगरले बताए । एट्याच बाथरूमसहितको कोठा, स्थानीय परिकार र मगर सांस्कृतिक कार्यक्रमको प्याकेज निर्माण गरेर आन्तरिक तथा बाह्य पर्यटक होमस्टेमा भिœयाउने उद्देश्य लिइएको उनी बताउँछन् ।
होमस्टेमा प्राकृतिक सौन्दर्यता, स्वच्छ हावापानी, स्थानीय जैविक परिकारहरु, स्थानीयवासीको सरलता, निश्चलता, सहयोगीपन, मुस्कानसहितको बोली र व्यवहारले सबैलाई लट्ठ बनाउने गर्दछ । होमस्टे सञ्चालकहरुको आत्मीय आतिथ्यता र मगर संस्कृतिको अवलोकन गर्न पाउनु यहाँको प्रमुख आकर्षण हो । निकुञ्जनजिकको बस्ती भएकोले शिवद्वार वन्यजन्तु तथा चरा अवलोकनका लागि उपयुक्त देखिन्छ । पोखरीको ताजा माछासँगै स्थानीय जातको धान कुटेर पकाइने भात, फापर वा कोदोको रोटी, चामल वा कोदोको लोकल रक्सी, लोकल कुखुराको मासु मगर होमस्टेमा उपलब्ध परिकार हुन् । नजिकै रहेको मचानबाट सूर्योदय, सूर्यास्त र वन्यजन्तु अवलोकन गर्न सकिन्छ ।
तीनतर्फ निकुञ्ज र दक्षिणमा सोमेश्वर पर्वतले घेरिएको माडी उपत्यका मनोरम छ । माडीमा पाइने पुरातात्त्विक अवशेषहरु, मठ–मन्दिर, देवस्थलहरु, थानहरु, प्राचीन स्थलहरु र सांस्कृतिक चिन्हहरुले यसलाई धार्मिक र ऐतिहासिक दृष्टिले समृद्ध बनाएको छ । माडीका केही रमणीय स्थलहरुबाट समग्र माडीको सुन्दरता, समथर भूभाग र बस्तीहरुको अवलोकन गर्न सकिन्छ । यस्ता प्राकृतिक र सांस्कृतिक विरासतहरुले यहाँ आउने पाहुनालाई आत्मीयता र मौलिकतामा रमाउने अवसर प्रदान गर्छ । होमस्टेमा स्थानअनुसारको खानपान, नाचगान, संस्कार र बोलीचालीमार्फत पर्यटकलाई स्थानीय जीवनशैली बुझ्ने मौका दिइन्छ ।
माडी क्षेत्रभित्र धार्मिक, प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाहरुको अनुपम मिलन पाइन्छ । यसलाई देवभूमि र तपोभूमि भनेरसमेत चिनिन्छ, यस क्षेत्रभित्र ऐतिहासिक र पुराताŒिवक दृष्टिले अत्यन्त महत्त्वपूर्णस्थलहरु छन् । हरियाली, समथर भूभाग, पानीका स्रोतहरु, जैविक कृषि प्रणाली र मौलिक जीवनशैलीले भरिपूर्ण माडी अहिले सामुदायिक पर्यटनको नयाँ अभ्यासको केन्द्र बनिरहेको छ ।
