भण्डारा (चितवन) । देशकै जीवनरेखा (लाइफलाइन) मानिएको पृथ्वी राजमार्ग कृष्णभीरको पहिरोका कारण पूर्णरुपमा अवरूद्ध छ। सरकारले सडक नखुलेसम्मका लागि वैकल्पिक मार्गको प्रयोग गर्न भनेपछि गोरखाको गण्डकी गाउँपालिकाको बाटो र हेटौँडाको बाटोलाई वैकल्पिक मार्गको रुपमा प्रयोग गरिँदै आएको छ। तर, ती सडकको यात्रा पनि त्यति सहज भने छैन। जसका कारण देशको राजधानीसँग पूर्व र पश्चिमका जनताको दूरी टाढिएको छ।
कृष्णभीरको बाटो कट्ने गरेर चितवनबाटै जान सकिने वैकल्पिक मार्ग पनि छ। तर, त्यसबारे तीनै तहको सरकारले तदारूकता देखाएका छैनन्। पूर्वपश्चिम राजमार्गको भण्डाराबाट सीधै मलेखु जोडिने गरी जम्मा ६३ किलोमिटर दूरी रहेको चेपाङ मार्गको स्तरोन्नतिमात्रै गर्न सके पनि राजधानीसँग जोड्न धेरै सहज हुनेछ। चितवनतर्फ ४२ र धादिङतर्फ २१ गरी जम्मा ६३ किलोमिटर लामो रहेको बाटो खुलेको भने डेढ दशक भइसकेको छ।
तर, अहिलेसम्म स्तरोन्नति नहुँदा वैकल्पिक मार्ग बन्न सकेको छैन। अहिले पनि यो बाटोमा ट्रयाक्टर, बोलेरो जिपलगायतका सवारीसाधनमा यात्रा गर्न सकिन्छ। भण्डाराबाट उत्तर लागेपछि ११ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। बाँकी सडक पनि यौरालीटारसम्म ग्राभेल छ। यौरालीटारबाट माथि लागेपछि भने बाटो अलि असहज छ।
तर, यो बाटोलाई तीनै तहको सरकारले थोरै बल लगाइदिए भने सहज यात्रा हुन सक्ने राप्ती नगरपालिका वडा नं–१३, पोल्किमका लक्ष्मण चेपाङ बताउँछन्। खाल्डो भएको ठाउँमा ग्राभेल हाल्ने र पानी जम्ने ठाउँमा पानी कटाइदिने व्यवस्थामात्रै गरिदिए पनि बाटो धेरै सहज हुने उनले बताए। ‘बाटो खुलेको यतिका वर्ष भइसक्यो, जहिले हेरे पनि उस्तै,’ राप्ती–१३ का पूर्ववडा सदस्यसमेत रहेका चेपाङले भने, ‘यो सडकको विषयमा वडा र पालिकाभन्दा पनि प्रदेश र केन्द्र सरकारले ध्यान दिनुपर्छ।’
राजधानीको यात्रा गर्ने र राजधानीबाट तराईका जिल्ला हुँदै पूर्वपश्चिम यात्रा गर्नेहरुका लागि सरकारले यो बाटोको तत्काल स्तरोन्नति गर्नुपर्ने चेपाङ अभियन्ता केपिकिरण शर्मा बताउँछन्। यो सडक खुल्नुभन्दा पहिलेदेखि नै चेपाङ गाउँमा भिजेका शर्मा भन्छन्, ‘यस्तो सङ्कटको बेलामा पनि यो बाटोलाई ध्यान दिँदैन भने सरकारले कस्तो बेलामा चाहिँ काम गर्छ भनेर आश गर्नु?’

पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोले बाटो छेकेपछि कति मानिसहरुको कामसमेत रोकिएको हुँदा तत्काल वैकल्पिक मार्गको स्तरोन्नति गर्ने र त्यसलाई प्रयोगमा ल्याउने काममा तीनै तहको सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ। ‘म कुनै समय लोथर खोलाबाट उकालो लाग्दा १३ घन्टामा कान्द्राङगढी पुगेको छु’, हालै कान्द्राङगढी पुगेर फर्किएका गामबेँसी चेपाङ संरक्षण केन्द्रका अध्यक्षसमेत रहेका शर्मा भन्छन्, ‘तर, अहिले मोटर बाटो खुलेको छ। यसलाई यात्रामा सहज बनाइदिने हो भने तीन घन्टामा भण्डाराबाट कान्द्राङगढी पुग्न सकिन्छ।’
कान्द्राङगढीबाट धादिङतर्फको सडक भने कच्ची भए पनि सहज छ। फराकिलो पनि छ। तर, चितवनतर्फकै सडकको अवस्था हरिबिजोग भएकै कारण यो सडकबाट यात्रा गर्न नसकिएको हो। राप्ती नगरपालिका भने पालिकाको बजेटले मात्रै सडक स्तरोन्नतिको काम सम्भव नहुने भन्दै माथिल्लो तहको सरकार पर्खेर बसिरहेको छ। बर्खा सकिन लागेको हुँदा बाढीपहिरोको जोखिम पनि कम हुने भएकोले यस मार्गलाई पूर्णरुपमा सञ्चालनमा ल्याउनका लागि पालिकाले छलफल चलाइरहेको राप्ती नगरपालिकाका उपप्रमुख देवेन्द्र लामाले बताए।
केन्द्र र प्रदेश सरकारले काम गर्ने हो भने स्थानीय पालिकाले सहयोग गर्ने उनले बताए। ‘हाम्रो जनताको सुविधाका लागि पालिकाले सक्दो सहयोग गर्छ। यसमा प्रदेश र केन्द्र सरकारले विशेष ध्यान दिनुपर्छ’, उनी भन्छन्, ‘पालिकाले गर्न सक्नेसम्मको काम गर्नका लागि हामी छलफलको क्रममा छौँ।’ देशमा आएको विपद्पछि सार्वजनिक बिदा पनि धेरै दिनसम्म भएकोले आवश्यक समन्वय र सहजीकरण गर्न कठिन भइरहेको उनले बताए।
‘सडकलाई बेला–बेला सफा गर्ने हो भने नराम्रो छैन’, उनी भन्छन्, ‘थाकलटारको खोलामा थोरै समस्या हुन्छ। त्यसबाहेक अरु ठाउँमा समस्या छैन।’ हरेक वर्ष दसैँअघि सफा गर्दै आए पनि यसपटक भने अहिल्यै सफा गरिहाल्नुपर्ने बेला आएको उनले बताए। ‘हामी पालिका तहमा छलफल चलाइरहेका छौँ। सार्वजनिक बिदाहरु सकिएपछि कार्यपालिका बैठक बसेर यो सडकलाई के गर्न सकिन्छ, गर्छौं। यस विषयमा मेयरसाप पनि सकारात्मक हुनुहुन्छ’, उनी भन्छन्।
छलफलपछि कम्तीमा स्थानीय सरकारले दुईपाङ्ग्रे सवारीसाधनसहित हलुका सवारीलाई यात्रा गराउन सक्नेसम्मको काम गर्ने उनले प्रतिबद्धता जनाए। पूर्वपश्चिम राजमार्गको भण्डाराबाट उत्तर लागेपछि थाकलटार, यौरालीटार, भञ्ज्याङ, वासवाङ हुँदै कान्द्राङगढी पुगेपछि धादिङतर्फको बेनीघाट रोराङ गाउँपालिकाको ताल्तीदेखि पृथ्वी राजमार्गको मलेखु पुग्न सकिन्छ। पूर्वबाट राजधानी यात्रा गर्नेहरुका लागि नारायणगढ, मुग्लिन हुँदै मलेखु पुग्नुभन्दा चेपाङ मार्गबाट यात्रा सहज भयो भने दूरी पनि धेरै नै कम पर्छ।
कृष्णभीरमा सडक भासिएपछि चेपाङ मार्गबारे सङ्घीय सांसद् हरि ढकालमाथि जनताको प्रश्न ओइरिन थालेका छन्। तर, सांसद् ढकालसँग उत्तर खोज्न फोन गर्दा फोन नै उठाउँदैनन्।
