काठमाण्डाै – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ओटीटी प्रसारण अधिकार नेट टिभीले प्राप्त गरेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आह्वान गरेको बोलपत्रमा १८ करोड ४ लाख रुपैयाँमा नेट टिभीले ओटीटी अधिकार पाएको हो । ओटीटी प्लेटफर्मले नेपालभित्रबाट करसहित अधिकतम ४०० रुपैयाँ, खाडी देशबाट ६०० रुपैयाँ र अन्य देशबाट १० अमेरिकी डलरसम्म शुल्क लिन पाउँछन् ।
यस्तै नेपालभित्र लिनियर टेलिभिजन अधिकार १४ करोड ६४ लाख रुपैयाँमा हिमालय टेलिभिजन नेटवर्क प्रालीले पाएको छ ।
यस्तै टिकेटिङ अधिकार ८५ लाख रुपैयाँमा ई–सेवाले पाएको छ । टिकेटिङबाट प्राप्त हुने आम्दानीको ९५ प्रतिशत क्यानलाई र ५ प्रतिशत ई–सेवालाई प्राप्त हुनेछ ।
एनपीएल आउँदो कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ ।
एनपीएलको तेस्रो संस्करणलाई अझ सफल, व्यवस्थित तथा प्रभावकारी बनाउन सबै साझेदारहरूसँग सहकार्य गर्ने क्यानले प्रतिबद्धता व्यक्त गरेको छ ।

