कास्की – आउँदाे असोज ७ गतेदेखि शुरू हुने पोखरा–दुबई सीधा हवाई उडानलाई दिगो बनाउन पाेखराका पर्यटन व्यवसायीले चासो र अग्रसरता देखाएका छन् । नेपालका लागि संयुक्त अरब इमिरेटन्स (यूएई) का राजदूत अब्दुल्लाह सइद मुबारक जरवान अल शाम्सीसँग भेट गरी व्यवसायीहरूले पोखरा–दुबई नियमित उडानबारे छलफल गरेका हुन् ।
राजदूत अल शाम्सीसँगको भेटमा फ्लाई दुबईले शुरू गर्न लागेको पोखरा–दुबई उडान सेवाको निरन्तरता र दिगोपनाका विषयमा कुराकानी भएको भेटमा सहभागी पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो । ‘पोखरा–दुबई उडानलाई कसरी प्रभावकारी र दिगो बनाउन सकिन्छ भन्नेमा हाम्रो मुख्य चासो थियो’, उहाँले भन्नुभयो, ‘यसका लागि सबै पक्षबाट आवश्यक पहल र सहकार्य अगाडि बढाउने विषयमा छलफल भयो ।’
राजदूत अल शाम्सीसँगको भेटमा नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य वासुदेव त्रिपाठी, होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीलगायत सहभागी थिए । केही समयअघि फ्लाई दुबईका नेपाल प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीबीच पनि पोखरामा यही विषयमा छलफल भएको थियो ।
याे उडानबाट गण्डकी प्रदेश र आसपासका नागरिकलाई सोझै लन्डन, न्युयोर्क, टोकियोजस्ता विश्वाका २५० भन्दा धेरै गन्तव्यमा पुग्न सहज हुनेछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गएकाे जेठमा फ्लाई दुबईलाई दुबई–पोखरा–दुबई दैनिक उडानका लागि अनुमति दिएको थियो । यसबीचमा फ्लाई दुबईले उडान तालिम सार्वजनिक गरिसकेको छ । शुरूमा एक महिनाका लागि मात्र दिनको एक पटक उडान गर्ने घोषणा गरेको फ्लाई दुबईले सन् २०२७ को मार्च २६ सम्मकै बुकिङ खुला गरिएको जनाएको छ ।
सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान अनुमति पाएको थियो ।
विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सीधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्नेछ । सञ्चालनमा आएको तीन वर्ष बितिसक्दासमेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुन सकेको थिएन ।
सन् २०२५ को मार्चमा हिमालय एअरलाइन्सले पहिलो पटक पोखरा–ल्हासा नियमित व्यावसायिक उडान शुरू गरे पनि यात्रु सङ्ख्या न्यून हुँदा उडान सेवा अहिले राेकिएकाे छ । पोखरा–दुबई उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन लागेको दोस्रो व्यावसायिक उडान हो । यसअघि चीन, भारत र भूटानका विभिन्न गन्तव्यमा चार्टर्ड उडान भने हुँदै आएको थियो ।
पोखरा–दुबई उडानबाट पर्यटकीय राजधानीसमेत रहेको पोखरासहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटकहरू सीधै पोखरा आउन सक्नेछन् । वैदेशिक राजगोरी, अध्ययन, घुमफिर आदिका लागि अरब देशसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पनि यो उडान सेवा लाभदायी हुने देखिएको छ ।
विश्वकै व्यस्त र महत्त्वपूर्ण मानिने हवाई ट्रान्जिट हब दुबईमा हुने उडानले अन्तर्राष्ट्रिय क्षेत्रमा पोखराको सीधा हवाई पहुँच पुग्नेछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा रहेको छ । काठमाण्डाै केन्द्रित रहेको हवाई चापलाई विकेन्द्रीकरणसँगै पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधिका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुनुपर्ने आवाज उठ्दै आएको छ ।
