काठमाण्डौ — जनआस्थाका प्रधान सम्पादक एवं पत्रकार किशोर श्रेष्ठ रिहा हुनुभएको छ ।
बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले हिजो पत्रकार श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो । उहाँ गएराति थुनामुक्त हुनुभएको हो । सर्वोच्चको आदेश अनुसार श्रेष्ठलाई जिम्मा जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
उहाँविरूद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा उजुरी परेको थियो । श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले आफूमाथि प्रतिशोध साँधेको आरोप समेत लगाउनुभएको छ ।
प्रकाशित समाचार गलत भए कानुनी प्रक्रियामार्फत त्यसको खण्डन गर्न सक्ने कानूनी व्यवस्था रहेको उल्लेख गर्नुभयो ।
जनआस्था अनलाइनमा छापिएको एक समाचार र तस्वीरका कारण वैयक्तिक गोपनीयताको हक हनन भएको भन्दै प्रहरीले उहाँलाई गएको साउन २७ गते मध्यराति पक्राउ गरेको थियो ।
