काठमाण्डाै – अस्ति शुक्रवारदेखि बेपत्ता रहनुभएका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंहको शव फेला परेको छ ।
सिंहको शव खोजीका क्रममा आज दिउँसो गोरुसिङ्गे जङ्गलमा फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) मनोहर भट्टले जानकारी दिनुभयो ।
सिंह शुक्रवार दिउँसो त्यही क्षेत्रबाट हराउनुभएको थियो । उहाँले शुक्रवार आफूले बाटो बिराएको भन्दै व्यावसायिक साझेदारलाई सम्पर्क गर्नुभएको पाइएको प्रहरीले जनाएको छ ।
सिंह २०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट कपिलवस्तु नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो ।
६५ वर्षका सिंहले चढ्नुभएको लुम्बिनी प्रदेश ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल पूर्व–पश्चिम राजमार्गबाट झन्डै ८ किलोमिटरभित्र जङ्गल क्षेत्रमा रोकिराखेको अवस्थामा भेटिएको थियो ।
प्रहरीका अनुसार सिंहकाे खाेजिका लागि गौतमबुद्ध विमानस्थलमा रहेका तालिम प्राप्त कुकुरसमेत परिचालन भएको थियो ।
