काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम शुरू गर्ने भएको छ ।
आफ्ना मन्त्रीहरू र आमनागरिकबीच प्रत्यक्ष संवाद गराएर जनउत्तरदायी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यका साथ यो नयाँ अभियान थाल्न लागेको रास्वपा सहमहामन्त्री असिम शाहले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको हो ।
विज्ञप्तिअनुसार सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा १ पटक अनिवार्यरूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित हुनुपर्नेछ । भुइँमान्छेका आवाज र समस्यालाई सीधै राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म पुर्याउन यो कार्यक्रमले सेतुको काम गर्ने पार्टीको विश्वास छ ।
हरेक महिना सञ्चालन हुने यो कार्यक्रमलाई रास्वपाले २ चरणमा विभाजन गरेको छ । पहिलो चरणमा नागरिक संवाद हुनेछ । बेलुका ५ देखि ६ बजेसम्मको १ घण्टा पूर्णरूपमा सर्वसाधारणका लागि खुला रहनेछ । जहाँ नागरिकले आफ्ना गुनासा, अपेक्षा र सुझाव मन्त्रीसमक्ष सोझै राख्न पाउनेछन् ।
यस्तै दोस्रो चरणमा नेतृत्व संवाद हुनेछ । बेलुका ६ बजेपछि मन्त्री, पार्टीका केन्द्रीय सदस्य र सांसदहरूबीच संयुक्त बैठक बस्ने विज्ञप्तिमा भनिएको छ । यो बैठकमा नागरिकबाट आएका सुझाव र देशको समसामयिक नीतिगत विषयमा सघन छलफल गरी पार्टीको धारणा तय गरिने रास्वपाले जनाएको छ ।

