काठमाण्डौ – नेपालसहित विभिन्न देशमा आज विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।
सन् १९९४ डिसेम्बर २३ मा राष्ट्रसङ्घ महासभाले हरेक वर्ष अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । सन् १९८२ मा जेनेभामा राष्ट्रसङ्घको आदिवासी जनसङ्ख्या सम्बन्धी कार्य समूहको पहिलो बैठक अगस्ट ९ मा भएकाले त्यही दिनलाई दिवसका रूपमा छनोट गरिएको हो ।
राष्ट्रसङ्घका अनुसार विश्वका ९० देशमा झण्डै ४७ करोड ६० लाख आदिवासी जनजाति बसोबास गर्छन् । उनीहरू विश्वको कुल जनसङ्ख्याको ६ प्रतिशतभन्दा कम भए पनि विश्वका सबैभन्दा गरिबमध्ये कम्तीमा १५ प्रतिशत आदिवासी समुदायका छन् । उनीहरूले विश्वमा बोलिने अनुमानित ७ हजार भाषामध्ये ठूलो बहुमत भाषा बोल्छन् र झण्डै पाँच हजार फरक संस्कृति प्रतिनिधित्व गर्छन् ।
आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति, परम्परा तथा मानिस र प्रकृतिबीचको सम्बन्धसम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौँदेखि संरक्षण गर्दै आएका छन् । उनीहरूको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक विशेषता आफू बसोबास गर्ने बहुसङ्ख्यक समुदायभन्दा पृथक छन् ।
इतिहासका विभिन्न कालखण्डमा उनीहरूको अधिकार उल्लङ्घन हुँदै आएको र आज पनि उनीहरू विश्वका सबैभन्दा पछाडि पारिएका तथा जोखिममा रहेका समुदायमध्ये रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
दिवसका अवसरमा आदिवासी जनजातिको अधिकार, संस्कृति, भाषा, परम्परागत ज्ञान तथा प्राकृतिक स्रोतसँगको सम्बन्धको संरक्षणका साथै उनीहरूको निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागितामा जोड दिइन्छ ।
