"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नो अनलाइन अन्ली लाइन !

Table of Content

सरकारले केही वर्षदेखि एउटा मीठो सपना देखाइरहेको छ, ‘लाइन होइन, अनलाइन !’

नागरिकलाई कार्यालय धाउन नपरोस्, घण्टौं लाइनमा बस्न नपरोस्, घरमै बसेर सेवा लिन पाइयोस् । पासपोर्ट अनलाइन, कर अनलाइन, फाराम अनलाइन, टिकट अनलाइन, भुक्तानी अनलाइन । 

सरकारका भाषण सुन्दा लाग्थ्यो, अब नेपालमा लाइन भन्ने शब्द नै इतिहासको किताबमा खोज्नुपर्ने भयो ।

तर केही समययता नागरिकमा नयाँ आशा पलाएको छ – धन्न, सरकारकै कारण नेपालीको लाइन संस्कृति जोगिने भयो !

हामीलाई त डर थियो, प्रविधिको विकाससँगै हाम्रो सदियौं पुरानो लाइन बस्ने संस्कृति पनि नासिन्छ कि भनेर । हाम्रा बाउबाजेले धानेको परम्परा हामीले जोगाउन नसक्ने हो कि भन्ने चिन्ता थियो । तर सरकार र बजारको संयुक्त प्रयासले त्यो चिन्ता हटाइदिएको छ ।

अहिले ग्यास सिलिन्डर लिनेको लाइन छ । पासपोर्ट लिन लाइन यथावत छ । अस्पतालमा जँचाउन लाइन बढेको छ । मल किन्न लाइन वर्षैपिच्छे बढिरहेको छ । बैंकमा लाइन, सरकारी कार्यालयमा लाइन र टिकट काट्न झन लामो लाइन लागेको छ । लाइनको अन्त्य कहाँ हो भनेर सोध्दा अगाडिको मान्छेले ‘म पनि लाइनमै छु’ भनेको सुन्दा मन ढुक्क हुन्छ र सन्तोषका साथ भन्न सकिन्छ यो देशको लाइन संस्कृति जुगजुगसम्म जीवित रहनेछ ।

००००००००००

हाम्रो ईतिहास लाइनले बनेको छ, संस्कार लाईनमा बसेको छ । त्यसैले लाईन बस्नुका फाइदा धेरै छन्, सरकारले अहिलेसम्म प्रचार नगरेको मात्र हो ।

पहिलो फाइदा – सामाजिक सम्बन्ध विस्तार । अनलाइनमा मान्छे एक्लै मोबाइल हेरेर बस्छ । फेसबुकमा हजारौं साथी हुन्छन्, तर आफूसँगै छेउमा बसेको मान्छेको नाम थाहा हुँदैन । लाइनमा त्यस्तो हुँदैन । ग्यासको लाइनमा दुई घण्टा उभिएपछि अगाडिको मान्छेको नाम, थर, घर, टोल, परिवारमा कति जना छन्, छोराछोरी कहाँ पढ्छन्, श्रीमती माइत गएकी छिन् कि घरमै-सबै थाहा भइसक्छ । अझ तीन घण्टा लाइनमा बसियो भने त विहेवारी गर्ने उमेरका केटाकेटी कस्को घरमा कतिजना छन् भन्ने पनि थाहा हुन्छ र भविष्यको नाता जोड्ने काम पनि शुरु गर्न सकिन्छ । नाथे, पारिवारिक इतिहास थाहा पाउनु कुन् ठूलो कुरा हुन्छ र !

दोस्रो फाइदा – आत्मीयता बढ्छ । लाइनमा उभिएका दुई अपरिचित मानिस केही समयमै पुराना साथी बन्छन् । देशको राजनीति, अर्थतन्त्र, महँगी, भ्रष्टाचारदेखि आफ्नै घरपरिवारको बेलिबिस्तार हुन थाल्छ । अनलाइनले नदिएको आत्मीयता लाइनले दिन्छ ।

तेस्रो फाइदा – मानसिक स्वास्थ्य । आजकल मानिस एक्लोपनका कारण तनावमा छन् । मोबाइलमा घण्टौं बिताउँछन् । सामाजिक सञ्जालमा अरूको सुख देखेर आफ्नो दुःख बढाउँछन् । तर लाइनमा उभिनेबित्तिकै मानसिक तनाव घट्छ । किनभने त्यहाँ आफूले भन्दा दुःख पाएका अरु धेरै भेटिन्छन् ।
‘तपाईं कति बजेदेखि ?’
‘चार बजेदेखि ।’
‘म त तीन बजेदेखि ।’
त्यसपछि मनमनै सन्तोष हुन्छ – लौ, मभन्दा अगाडि लाइन लाग्ने दुःखी मान्छे पनि रहेछन् ।
अझ अगाडि उभिएको मान्छेले भन्छ, ‘म त हिजो पनि आएको, पालो नआएर फर्किएँ ।’
त्यसपछि सोध्नेको तनाव आधा घटिहाल्छ ।

चौथो फाइदा – शारीरिक व्यायाम । जिम जान पैसा खर्च गर्नुपर्छ । लाइनमा त सित्तैमा उभिन र बेला बेला पालो लगाएर बस्न र आराम गर्न पाइन्छ । ग्यासको सिलिन्डर बोकेर पसलसम्म पुग्नुहोस् । त्यहाँ घण्टौं उभिनुहोस् । कहिले अगाडि बढ्नुहोस्, कहिले पछाडि हट्नुहोस् । पालो आयो कि आएन भनेर पटकपटक घाँटी तन्काउनुहोस् । थकाई लागेपछि एकछिन हेर्दिनु है भनेर पेटीमा टुसुक्क बस्नोस् । खुट्टा तनक्क तन्काउनोस्, कम्मर करक्क पट्काउनोस् । अनि अर्कोलाई त्यसै गर्न पालो दिनोस् । योभन्दा राम्रो ‘फुल बडी वर्कआउट’ कहाँ पाइन्छ ? अझ सिलिन्डर बोकेर घर फर्कंदा त हातको व्यायाम पनि भयो । 

पाँचौँ फाइदा – समयको सदुपयोग । अनलाइनमा काम पाँच मिनेटमै सकियो भने बाँकी समय मोबाइल चलाएर खेर जान्छ । लाइनमा समयको पूरापूर सदूपयोग हुन्छ । तपाईंले देश, समाज र मान्छे बुझ्न पाउनुहुन्छ । लाइनमा बसेरै नयाँ कुरा सिकिन्छ । कसले मल पाएन, कसले ग्यास पाएन, कसको पासपोर्ट रोकियो, कुन अस्पतालमा कुन डाक्टर राम्रो छ, कुन कार्यालयमा कुन कर्मचारीलाई चिया मन पर्छ – यी सबै राष्ट्रिय विषयमा ज्ञानको वृद्धि र विकास हुन्छ ।

छैटौँ फाइदा – धैर्य र शान्ति । आजको पुस्ता अधीर र अशान्त छ भन्ने गुनासो धेरै छ । तर त्यो पुस्ताको परिवारका सदस्यलाई ग्यासको लाइनमा लाग्न पठाउनोस् त, अधैर्य र अशान्ति दूर हुन तीन घण्टा मात्रै मात्रै लाग्छ । पहिलो घण्टा रिसले खान्छ । दोस्रो घण्टा गाली गर्न मन लाग्छ । तेस्रो घण्टा शुरु भएपछि जीवन दर्शन सम्वन्धी चिन्तन शुरु हुन्छ । चौथो घण्टामा जीवनको अर्थ बुझ्न थालिन्छ । पाँचौँ घण्टामा त ‘पालो आएन भने पनि के भयो र, जीवन पनि त एउटा लाइन नै हो’ भन्ने अनुभूति हुन्छ ।

सातौँ फाइदा – समानताको अभ्यास । लाइनमा धनी-गरिब सबै बराबर हुन्छन्, कम्तीमा पालो नआउँदासम्म । अगाडि उभिएको करोडपति होस् वा पछाडि उभिएको कंगाल, सबैको एउटै समस्या – ‘मेरो पालो कहिले आउँछ ?’ लाइनमा छँदा धन, मान, पद र प्रतिष्ठाभन्दा पालो ठूलो हुन्छ । त्यसैले, नेपालको गणतान्त्रिक प्रजातन्त्रमा लाइन सबैभन्दा लोकतान्त्रिक अभ्यास हो भन्ने पुष्टि नै हुन्छ ।

लाइनका यति धेरै फाईदा बुझेपछि तपाईंलाई लाग्छ – अलि बुझेका मान्छे सरकारमा हुन्थे भने ‘लाइन होइन, अनलाइन’ भन्ने नारा अघि सार्देनथे, सारेका भए अहिलेसम्म सच्याई सक्थे ।

किनकि,
अनलाइन यो देशको सपना हो, लाइन हाम्रो संस्कृति हो ।

अनलाइनले सेवा छिटो दिन सक्छ, तर लाइनले सम्बन्ध दिन्छ ।

अनलाइनले फाराम भर्न सक्छ, तर लाइनले मान्छे चिनाउँछ ।

अनलाइनले पैसा तिर्न सक्छ, तर लाइनले दुःख बाँड्न सिकाउँछ ।

अनलाइनले क्लिक क्लिक गर्न सक्छ, तर लाइनले पाँचै घण्टामा जीवनको दर्शन सिकाउँछ ।

०००००००००

तन्नेरीहरुको सरकारले नेपालीलाई जवर्जस्ती अनलाइनमा धकेल्ने गल्ती नगरोस् ।

ग्यासको लाइन रहोस् । मलको लाइन रहोस् । पासपोर्टको लाइन रहोस् । अस्पतालको लाइन रहोस् । सरकारी कार्यालयको लाइन रहोस् ।
किनभने यी लाइन नेपाली संस्कृति, परम्परा र सामाजिक सम्बन्धका जीवित संग्रहालय हुन् । 

अब त बरु सरकारले लाइन संरक्षण ऐन नै ल्याए हुन्छ । हरेक कार्यालयमा लाइनका लागि पर्याप्त ठाउँ छुट्याऔँ । लाइन बस्नको लागि टहरा बनाऔँ । खानेपानीको व्यवस्था गरौँ । लाइनमा बस्ने नागरिकलाई ‘लाइन भत्ता’ दिऔँ । वर्षमा एक दिन ‘राष्ट्रिय लाइन दिवस’ मनाऔँ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Psg-1786244198

प्रि–सिजनको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड र पीएसजीले बराबरी खेले

काठमाण्डौ – प्रि–सिजनको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड र पीएसजीले बराबरी खेले काठमाण्डौ – स्वीडेनको गोथेनवर्गमा...
tatopani_naka_final_sUDlFjo9VC

पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प

काठमाण्डौ – नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका अवरुद्ध भएको तीन हप्ताभन्दा धेरै भइसकेको छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०