काठमाडौं । अमेरिकाले राष्ट्रिय सुरक्षामा खतरा रहेको भन्दै रोबोटको आयातमा प्रतिबन्ध लगाएको छ । अमेरिकाले ह्युमनोइड रोबोटको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको बीबीसीले जनाएको छ ।
यो प्रतिबन्ध ह्युमनोइड र चारखुट्टे रोबोटहरूसहित अत्याधुनिक रोबोटहरूमा लागु हुनेछ । यीमध्ये धेरैजसो रोबोट चीनमा उत्पादन हुने गरेका छन् । चीन अहिले रोबोटिक्स र एआईको विकासमा अमेरिकासँग तीव्र प्रतिस्पर्धामा छ ।
यसैबीच, अमेरिकी अर्थतन्त्र र महत्वपूर्ण पूर्वाधारमा सुरक्षा जोखिम निम्त्याउन सक्ने भन्दै अमेरिकाको फेडरल कम्युनिकेसन्स कमिसन (एफसीसी)ले डाटा सेन्टर र सौर्य ऊर्जा प्रणालीमा प्रयोग हुने पावर इन्भर्टर उपकरणको आयातमा पनि प्रतिबन्ध लगाएको छ ।
एफसीसीले यी उपकरणहरूलाई आफ्नो ‘कभर्ड लिस्ट’मा समावेश गरेको छ । यो सूचीमा अमेरिकी राष्ट्रिय सुरक्षाका लागि जोखिमपूर्ण ठानिएका वस्तु तथा सेवाहरू राखिने गर्छ ।
एफसीसीबाट यसअघि नै स्वीकृति प्राप्त गरिसकेका मोडलहरूको आयात वा बिक्रीमा भने यसले असर पार्ने छैन ।
ट्रम्प प्रशासनले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनसँगको व्यापार असन्तुलनलाई सम्बोधन गर्ने प्रयास गरिरहेका बेला चिनियाँ निर्यातमाथि अमेरिकी निगरानी थप कडा बनाइएको छ ।
यसअघि पनि अमेरिकाले चीनको सैन्य आधुनिकीकरणको गति सुस्त बनाउने तथा एआई क्षेत्रमा अमेरिकाको अग्रता कायम राख्ने उद्देश्यले चीनलाई अत्याधुनिक अमेरिकी सेमिकन्डक्टर बिक्रीमा प्रतिबन्ध लगाएको थियो ।
