राप्ती, चितवन। ‘स्वच्छ राप्ती, स्वस्थ समाज, समृद्ध राप्ती’ भन्ने नारासहित चौथो राप्ती नदी दिवसको अवसरमा राप्ती नदीका विभिन्न स्थानमा सरसफाइ अभियान सम्पन्न भएको छ।
नदी तथा जलस्रोतको संरक्षण, स्वच्छ वातावरण निर्माण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मंसिर १ गते बिहान ७ बजेदेखि अभियान सञ्चालन गरिएको हो।
अभियानअन्तर्गत भिमफेदी, हेटौंडा राप्ती पुल, मनहरी, लोथर, सौराहा ड्याक, कुमरोज, बुढी राप्ती डुंगा घाट, खगेरी पुल, बीसहजारी ताल, पटिहानी, चितवन राष्ट्रिय निकुञ्जको कार्यालय गेट कसरा, मेघौली, बुद्धनगर, साराङ्घाट र गोलाघाटलगायतका स्थानमा सरसफाइ गरिएको थियो।
अभियानमा विभिन्न स्थानबाट गरी करिब ३० देखि ३५ जनाको सहभागिता रहेको जनशक्ति मध्यवर्ती सामुदायिक वनका अध्यक्ष दिनेश खनालले जानकारी दिनुभयो।
जनशक्ति महासंघ उपभोक्ता समूह राप्ती–१, बृहत् स्थानीय महासंघ उपभोक्ता समूह राप्ती–१ तथा जयहरी जनचेतना महासंघ उपभोक्ता समूह राप्ती–१ को आयोजनामा अभियान सञ्चालन गरिएको हो।
त्यस्तै, CBAPU लोथर उपभोक्ता समिति राप्ती–१ सहयोगी तथा चितवन राष्ट्रिय निकुञ्ज लोथर उपभोक्ता समिति राप्ती–१ संरक्षकका रूपमा रहेका थिए।
अभियानमार्फत नदी तथा आसपासका क्षेत्रमा सरसफाइ गर्दै नदी संरक्षण र वातावरणीय स्वच्छताको सन्देश प्रवाह गरिएको थियो। अध्यक्ष खनालले राप्ती नदीलाई स्वच्छ र प्रदूषणमुक्त राख्न स्थानीय समुदाय तथा सरोकारवाला सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।
