चितवनको भरतपुर महानगरपालिकाका ६ वटा मुख्य चोकमा जडान गरिएका ट्राफिक लाइट छिट्टै सञ्चालनमा आउने भएका छन्। ट्राफिक लाइट सञ्चालनका लागि आवश्यक सडक पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको छ।
ट्राफिक लाइट सञ्चालनलाई व्यवस्थित बनाउन आज बुधबारदेखि ६ वटै स्थानमा लेन मार्किङ, स्टपिङ लाइन तथा जेब्रा क्रसिङलगायतका सडक रेखाङ्कन गर्ने काम सुरु गरिएको छ।
दसैँ, तिहार र छठजस्ता चाडपर्वका कारण निर्धारित समयमा केही काम सम्पन्न हुन नसक्दा ट्राफिक लाइट सञ्चालनमा ढिलाइ भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाले जानकारी दिए।
अब केही दिनभित्रै बाँकी सबै काम सम्पन्न गरी ट्राफिक लाइट सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रमुख थापाले बताए।
भरतपुरका मुख्य सहरी क्षेत्रका पुल्चोक, शहीदचोक, चौबिसकोठी चोक, हाकिमचोक, भरतपुर बसपार्क चोक र मालपोत चोकमा ट्राफिक लाइट जडान गरिसकिएको छ । यी लाइट सञ्चालनमा आएपछि मुख्य चोकहरूमा सवारी आवागमन व्यवस्थापन, ट्राफिक जाम न्यूनीकरण तथा सडक सुरक्षामा थप सहजता हुने अपेक्षा गरिएको छ।
