"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नागढुङ्गा सुरुङ मार्गमा यात्रा गर्नुअघि जान्नैपर्ने कुरा

Table of Content

काठमाण्डौ उपत्यका जोड्ने मुख्य नाका नागढुङ्गामा निर्माण गरिएको सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ । निर्माण कार्य थालेको झण्डै ८० महिनापछि सुरुङमार्ग सञ्चालनमा आएको हो । यो सुरुङमार्गले काठमाण्डौको चन्द्रागिरि नगरपालिका र धादिङको धुनीबेँशी नगरपालिकालाई जोडेको छ । 

सुरुङमार्ग सञ्चालनसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा वर्षौँदेखि हुँदै आएको ट्राफिक जाम, गाडीको चाप र यात्रुको सास्ती धेरै हदसम्म कम हुने अपेक्षा गरिएको छ । यसले काठमाण्डौ प्रवेश गर्ने तथा बाहिरिने यात्राको समय करिब एक घण्टासम्म घटाउने विश्वास गरिएको छ । 

nagdhunga-tunnel-1785135107.jpg
सुरुङमार्ग सञ्चालनको पहिलो चरणलाई परीक्षण अवधिका रूपमा लिइएको छ । शुरुमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका आकस्मिक सेवाका गाडीलाई मात्र सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइएको छ । सुरुङभित्र जडान गरिएका विद्युतीय तथा यान्त्रिक प्रणाली, सुरक्षा उपकरण र ट्राफिक व्यवस्थापन प्रणालीको परीक्षण सफल भएपछि साना तथा ठूला चारपाङ्ग्रे गाडीलाई क्रमशः सञ्चालनको अनुमति दिइनेछ । सबै गाडी सञ्चालन कहिलेदेखि हुन्छ भनेर अहिल्यै मिति तोकेर भन्न सकिँदैन, तर छिटै सञ्चालन गर्ने गरी तयारी भइरहेको छ ।

सुरुङमार्ग प्रयोग गर्दा गाडी चालकहरूले विशेष सावधानी अपनाउनुपर्ने व्यवस्था गरिएको छ । सुरुङभित्र अधिकतम गति सीमा ६० किलोमिटर प्रतिघण्टा तोकिएको भए पनि अहिले परीक्षण अवधिमा ३० देखि ४० किलोमिटर प्रतिघण्टाको गतिमा मात्र गाडी चलाउन दिइनेछ । सुरुङभित्र ओभरटेक गर्न पाइने छैन । कुनै पनि अवस्थामा गाडी रोक्न मिल्दैन । साथै सुरुङभित्र प्रवेश गरेपछि गाडीको हेडलाइट अनिवार्य रूपमा बाल्नुपर्ने व्यवस्था गरिएको छ । यी नियमहरू सुरुङभित्र सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्न लागू गरिएको हो ।

pic-1785135107.jpeg
पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीन पाङ्ग्रे गाडी, ओभरलोड तथा ठूला गाडीहरूलाई सुरुङ मार्गमा प्रवेश गर्न रोक लगाइएको छ ।  त्यसैगरी पेट्रोलियम पदार्थ, प्रज्वलनशील ग्यास तथा अन्य जोखिमपूर्ण रसायन बोकेका मालवाहक गाडीहरू चलाउन पनि रोक लगाइएको छ । त्यस्ता गाडीहरूले भने पुरानै बाटो त्रिभुवन राजमार्ग प्रयोग गर्नुपर्नेछ । 

सुरुङ मार्गमा चल्न पाउने अरू गाडीहरूले सुरुङमार्ग प्रयोग नगरेर पुरानै बाटो प्रयोग गर्छु भन्न पनि पाउँछन् । तर नागढुंगा उकालोमा चाप हुने बेला साना गाडीलाई १५ र ठूलालाई ३५ मिनेट समय लाग्छ भने सुरुङ मार्गबाट झण्डै ७ मिनेटमै धादिङको सिस्नेखोलादेखि बलम्बुसम्म पुग्न सकिन्छ ।

सुरुङमार्ग प्रयोग गर्ने गाडीले नेपाल सरकारले निर्धारण गरेको दस्तुर तिर्नुपर्ने हुन्छ । सुरुङमार्ग नियमित रूपमा सञ्चालन हुन थालेपछि शुल्क लिने काम शुरु हुन्छ । गाडीको प्रकारअनुसार ६० रुपैयाँदेखि ६ सय रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ । कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अरू हलुका गाडीका लागि काठमाण्डौ प्रवेशमा ६५ रुपैयाँ र काठमाण्डौबाट बाहिरिँदा ६० रुपैयाँ शुल्क तोकिएको छ । त्यस्तै मिनीबस, मिनी टिपर र ट्रकका लागि काठमाण्डौ प्रवेशमा १२५ रुपैयाँ र काठमाण्डौबाट बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ । 

त्यसैगरी बस, ट्रकलगायतका गाडी काठमाण्डौ प्रवेश गर्दा २६० रुपैयाँ र काठमाण्डौबाट बाहिरिँदा २०० रुपैयाँ दस्तुर तोकिएको छ । मल्टिएक्सल ट्रक, भारी उपकरणका गाडी काठमाण्डौ प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाण्डौबाट बाहिरिँदा २५० रुपैयाँ शुल्क लाग्छ । शुरुमा नगद र क्युआर कोडमार्फत टोल शुल्क तिर्न सकिने व्यवस्था गरिएको छ । भविष्यमा भने सबै गाडीमा ‘आरएफआईडी’  ट्याग अनिवार्य गर्ने तयारी गरिएको छ । गाडीको अगाडिको सिसामा टाँसिने यो ट्याग सम्बन्धित बैंक खातासँग जोडिएको हुनेछ । 

1-1785135106.jpg
सुरुङमार्ग सञ्चालनसँगै सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको छ । सुरुङभित्र कुनै गाडी बिग्रिएमा तत्काल उद्धारका लागि विशेष गाडी, प्राविधिक टोली तथा आपत्कालीन सेवा चौबीसै घण्टा तयारी अवस्थामा राखिएको हुन्छ । सुरुङभित्र कुनै गाडी बिग्रिएर रोकिएमा त्यसलाई पाँचदेखि दश मिनेटभित्र सुरक्षित ठाउँमा सार्ने व्यवस्था गरिएको छ । सुरुङभित्र अक्सिजनको लागि आधुनिक भेन्टिलेसन प्रणाली, अग्नि नियन्त्रण प्रणाली, आपत्कालीन सञ्चार प्रणाली, निगरानी क्यामेरा तथा विद्युतीय नियन्त्रण प्रणाली जडान गरिएको छ ।

सुरुङ मार्गभित्र दुई वटा बाटो छन्–एउटा मुख्य सुरुङमार्ग र अर्को आपतकालीन सुरुङमार्ग । मुख्य सुरुङको दूरी २.६८ किलोमिटर र आपत्कालीन सुरुङको दूरी २.५५ किलोमिटर छ । मुख्य सुरुङ र आपत्कालीन सुरुङबाट ३७५ मिटरमा ७ वटा क्रस प्यासेज बनाइएको छ । यससँगै पहुँचमार्ग, फ्लाइओभर, पुल तथा अन्य सहायक संरचनासमेत निर्माण गरिएको छ । 

सुरुङमार्ग सञ्चालन, व्यवस्थापन तथा मर्मत सम्भारको जिम्मेवारी आगामी पाँच वर्षका लागि युसिन–एआरटी जेभी लाई दिइएको छ । कम्पनीले सुरुङ मार्गको दैनिक सञ्चालन, सुरक्षा व्यवस्थापन, मर्मत सम्भार, उद्धार सेवा तथा टोल सङ्कलनको काम गर्नेछ । यद्यपि सङ्कलित सम्पूर्ण राजस्व भने नेपाल सरकारअन्तर्गत सडक विभागको खातामा जम्मा हुनेछ । 

नेपालमा पहिलो पटक सञ्चालनमा आएको यो आधुनिक सडक सुरुङ मार्गको नियमित सञ्चालनपछि यात्राको समय छोटिने, इन्धनको खपत घट्ने, ट्राफिक जाम कम हुने र यात्रुलाई सुरक्षित तथा सहज यात्रा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

dhanraj_CzLUjFHikR

सांसदले लालपुर्जा लिएर आउँछु भनेपछि मेयरको प्रश्न, ‘कुन कानुन टेकेर २० हजारलाई लालपुर्जा दिनुहुन्छ ?’

पोखरा । पोखरा बसपार्कमा रहेको सुकुमबासी बस्ती हटाएर त्यहाँ आधुनिक बसपार्क निर्माणको क्रममा छ पोखरा...
Nepal_Electricity_Authoriy_YABsTTE9tr

असारको बिजुलीमा भ्याट नलाग्ने : तिरिसकेको भ्याट रकम भदौमा समायोजन हुने

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले उपभोक्ताले असारमा खपत गरेको बिजुली महसुलमा तिरिसकेको मूल्य अभिवृद्धि कर...
nagdhunga-tunnel-1785135107

नागढुङ्गा सुरुङ मार्गमा यात्रा गर्नुअघि जान्नैपर्ने कुरा

काठमाण्डौ उपत्यका जोड्ने मुख्य नाका नागढुङ्गामा निर्माण गरिएको सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ ।...
759420943_1030032186066644_646358051000507106_n-1785213135

देवानगञ्जको अवस्था सामान्य बन्दै : राजमार्गको कर्फ्यु हट्यो, पाँच ठाउँमा कायमै

काठमाण्डौ – सुनसरीको देवानगञ्ज क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०