काठमाण्डौ उपत्यका जोड्ने मुख्य नाका नागढुङ्गामा निर्माण गरिएको सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ । निर्माण कार्य थालेको झण्डै ८० महिनापछि सुरुङमार्ग सञ्चालनमा आएको हो । यो सुरुङमार्गले काठमाण्डौको चन्द्रागिरि नगरपालिका र धादिङको धुनीबेँशी नगरपालिकालाई जोडेको छ ।
सुरुङमार्ग सञ्चालनसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा वर्षौँदेखि हुँदै आएको ट्राफिक जाम, गाडीको चाप र यात्रुको सास्ती धेरै हदसम्म कम हुने अपेक्षा गरिएको छ । यसले काठमाण्डौ प्रवेश गर्ने तथा बाहिरिने यात्राको समय करिब एक घण्टासम्म घटाउने विश्वास गरिएको छ ।

सुरुङमार्ग सञ्चालनको पहिलो चरणलाई परीक्षण अवधिका रूपमा लिइएको छ । शुरुमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका आकस्मिक सेवाका गाडीलाई मात्र सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइएको छ । सुरुङभित्र जडान गरिएका विद्युतीय तथा यान्त्रिक प्रणाली, सुरक्षा उपकरण र ट्राफिक व्यवस्थापन प्रणालीको परीक्षण सफल भएपछि साना तथा ठूला चारपाङ्ग्रे गाडीलाई क्रमशः सञ्चालनको अनुमति दिइनेछ । सबै गाडी सञ्चालन कहिलेदेखि हुन्छ भनेर अहिल्यै मिति तोकेर भन्न सकिँदैन, तर छिटै सञ्चालन गर्ने गरी तयारी भइरहेको छ ।
सुरुङमार्ग प्रयोग गर्दा गाडी चालकहरूले विशेष सावधानी अपनाउनुपर्ने व्यवस्था गरिएको छ । सुरुङभित्र अधिकतम गति सीमा ६० किलोमिटर प्रतिघण्टा तोकिएको भए पनि अहिले परीक्षण अवधिमा ३० देखि ४० किलोमिटर प्रतिघण्टाको गतिमा मात्र गाडी चलाउन दिइनेछ । सुरुङभित्र ओभरटेक गर्न पाइने छैन । कुनै पनि अवस्थामा गाडी रोक्न मिल्दैन । साथै सुरुङभित्र प्रवेश गरेपछि गाडीको हेडलाइट अनिवार्य रूपमा बाल्नुपर्ने व्यवस्था गरिएको छ । यी नियमहरू सुरुङभित्र सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्न लागू गरिएको हो ।

पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीन पाङ्ग्रे गाडी, ओभरलोड तथा ठूला गाडीहरूलाई सुरुङ मार्गमा प्रवेश गर्न रोक लगाइएको छ । त्यसैगरी पेट्रोलियम पदार्थ, प्रज्वलनशील ग्यास तथा अन्य जोखिमपूर्ण रसायन बोकेका मालवाहक गाडीहरू चलाउन पनि रोक लगाइएको छ । त्यस्ता गाडीहरूले भने पुरानै बाटो त्रिभुवन राजमार्ग प्रयोग गर्नुपर्नेछ ।
सुरुङ मार्गमा चल्न पाउने अरू गाडीहरूले सुरुङमार्ग प्रयोग नगरेर पुरानै बाटो प्रयोग गर्छु भन्न पनि पाउँछन् । तर नागढुंगा उकालोमा चाप हुने बेला साना गाडीलाई १५ र ठूलालाई ३५ मिनेट समय लाग्छ भने सुरुङ मार्गबाट झण्डै ७ मिनेटमै धादिङको सिस्नेखोलादेखि बलम्बुसम्म पुग्न सकिन्छ ।
सुरुङमार्ग प्रयोग गर्ने गाडीले नेपाल सरकारले निर्धारण गरेको दस्तुर तिर्नुपर्ने हुन्छ । सुरुङमार्ग नियमित रूपमा सञ्चालन हुन थालेपछि शुल्क लिने काम शुरु हुन्छ । गाडीको प्रकारअनुसार ६० रुपैयाँदेखि ६ सय रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ । कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अरू हलुका गाडीका लागि काठमाण्डौ प्रवेशमा ६५ रुपैयाँ र काठमाण्डौबाट बाहिरिँदा ६० रुपैयाँ शुल्क तोकिएको छ । त्यस्तै मिनीबस, मिनी टिपर र ट्रकका लागि काठमाण्डौ प्रवेशमा १२५ रुपैयाँ र काठमाण्डौबाट बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ ।
त्यसैगरी बस, ट्रकलगायतका गाडी काठमाण्डौ प्रवेश गर्दा २६० रुपैयाँ र काठमाण्डौबाट बाहिरिँदा २०० रुपैयाँ दस्तुर तोकिएको छ । मल्टिएक्सल ट्रक, भारी उपकरणका गाडी काठमाण्डौ प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाण्डौबाट बाहिरिँदा २५० रुपैयाँ शुल्क लाग्छ । शुरुमा नगद र क्युआर कोडमार्फत टोल शुल्क तिर्न सकिने व्यवस्था गरिएको छ । भविष्यमा भने सबै गाडीमा ‘आरएफआईडी’ ट्याग अनिवार्य गर्ने तयारी गरिएको छ । गाडीको अगाडिको सिसामा टाँसिने यो ट्याग सम्बन्धित बैंक खातासँग जोडिएको हुनेछ ।

सुरुङमार्ग सञ्चालनसँगै सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको छ । सुरुङभित्र कुनै गाडी बिग्रिएमा तत्काल उद्धारका लागि विशेष गाडी, प्राविधिक टोली तथा आपत्कालीन सेवा चौबीसै घण्टा तयारी अवस्थामा राखिएको हुन्छ । सुरुङभित्र कुनै गाडी बिग्रिएर रोकिएमा त्यसलाई पाँचदेखि दश मिनेटभित्र सुरक्षित ठाउँमा सार्ने व्यवस्था गरिएको छ । सुरुङभित्र अक्सिजनको लागि आधुनिक भेन्टिलेसन प्रणाली, अग्नि नियन्त्रण प्रणाली, आपत्कालीन सञ्चार प्रणाली, निगरानी क्यामेरा तथा विद्युतीय नियन्त्रण प्रणाली जडान गरिएको छ ।
सुरुङ मार्गभित्र दुई वटा बाटो छन्–एउटा मुख्य सुरुङमार्ग र अर्को आपतकालीन सुरुङमार्ग । मुख्य सुरुङको दूरी २.६८ किलोमिटर र आपत्कालीन सुरुङको दूरी २.५५ किलोमिटर छ । मुख्य सुरुङ र आपत्कालीन सुरुङबाट ३७५ मिटरमा ७ वटा क्रस प्यासेज बनाइएको छ । यससँगै पहुँचमार्ग, फ्लाइओभर, पुल तथा अन्य सहायक संरचनासमेत निर्माण गरिएको छ ।
सुरुङमार्ग सञ्चालन, व्यवस्थापन तथा मर्मत सम्भारको जिम्मेवारी आगामी पाँच वर्षका लागि युसिन–एआरटी जेभी लाई दिइएको छ । कम्पनीले सुरुङ मार्गको दैनिक सञ्चालन, सुरक्षा व्यवस्थापन, मर्मत सम्भार, उद्धार सेवा तथा टोल सङ्कलनको काम गर्नेछ । यद्यपि सङ्कलित सम्पूर्ण राजस्व भने नेपाल सरकारअन्तर्गत सडक विभागको खातामा जम्मा हुनेछ ।
नेपालमा पहिलो पटक सञ्चालनमा आएको यो आधुनिक सडक सुरुङ मार्गको नियमित सञ्चालनपछि यात्राको समय छोटिने, इन्धनको खपत घट्ने, ट्राफिक जाम कम हुने र यात्रुलाई सुरक्षित तथा सहज यात्रा उपलब्ध हुने अपेक्षा गरिएको छ ।
