काठमाण्डौ – नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको विवाद र अन्योल थप पेचिलो बनेको छ ।
वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको अध्यक्षतामा आज बसेको बहुमत सदस्य बैठकले अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
पछिल्लो समय एन्फाका बारेमा आएको विषयवस्तुबारे सम्बन्धित व्यक्तिबाटै जानकारीका लागि पत्राचार गर्ने निर्णय भएको सहायक महासचिव बद्री भट्टराईले जानकारी दिनुभयो ।
आजको बैठकमा एन्फा कार्यसमितिका २० मध्ये १२ जना सहभागी थिए । बैठकले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र सरकारसँग समन्वय गर्न उपाध्यक्ष दीपक खतिवडाको नेतृत्वमा समन्वय समिति गठन गरेको छ ।
खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा मुुद्दा परेका अध्यक्ष नेम्बाङ र महासचिव राई समान ५ लाख तथा कोषाध्यक्ष जोशी १५ र लेखापाल पाण्डे १२ लाख धरौटीमा यसअघि रिहा भएका छन् । तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाबाट एन्फा निलम्बनमा छ ।
