साझा यातायात प्रा.लि.ले हाल सञ्चालनमा रहेका हरियो बसलाई ब्लु बस अर्थात् नीलो बसमा रूपान्तरण गर्न अस्वीकार गरेको छ ।
वालेन्द्र शाह (बालेन) नेतृत्वको रास्वपा सरकारले सातै प्रदेशमा ब्लु बस सञ्चालन गर्ने योजनासहित प्रारम्भिक चरणमा काठमाडौं उपत्यकामा साझाका आठवटा विद्युतीय बसलाई ब्लु बस बनाएर चलाउने तयारी गरेको थियो । सोहीअनुसार पूर्वाधार विकास मन्त्रालयबाट अर्थ मन्त्रालयमा प्रस्ताव गरेको योजना स्वीकृत भइसकेको छ । तर, साझाको हरियो बसलाई ब्लु बस बनाएर सञ्चालन गर्ने सरकारको प्रस्ताव साझाले अस्वीकार गरेको हो ।
साझा यातायातका प्रबन्ध निर्देशक भूपेन्द्र आर्यालले शिलापत्रसँग भने, ‘साझाको हरियो बसलाई ब्लु बनाएर चलाउने कुनै तयारी गरेका छैन । यो मान्ने कुरै होइन । साझाको आफ्नो ६४ वर्षको ब्रान्ड छोड्दैन ।’
उनले अगाडि भने, ‘अहिले रास्वपाको सरकार छ, ब्लु बस बनाऊँ भन्ला, फेरि अर्को सरकार आउला रातो बना भन्ला । अर्को आउला पहेँलो बना भन्ला । यसरी सरकारअनुसार बसको कलर परिवर्तन गर्दै जाने भन्ने हुँदैन । यो सम्भव छैन ।’
उनका अनुसार अब महिलाहरूका लागि निःशुल्क ब्लु बसको व्यवस्थाका लागि सरकारी योजनाअनुसार साझाको हरियो बसलाई विशेष नीलो स्टिकर राखेर सञ्चालन गरिनेछ । ‘ब्लु बस लेखेर वा कुनै सांकेतिक स्टिकर टाँसेर सञ्चालन हुनेछ’, प्रबन्ध निर्देशक अर्यालले भने ।
आगामी आर्थिक वर्ष २०८३/८४ को सुरुदेखि नै सञ्चालन गर्ने भनिएको ब्लु बसका लागि हालसम्म साझासँग सम्झौता भने हुन सकेको छैन । पूर्वाधार विकास मन्त्रालय, यातायात व्यवस्था विभाग र साझा यातायातबीच ब्लु बस सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर (एमओयू) हुने चरणमा रहेको पनि अर्यालले जानकारी दिए ।
प्रारम्भिक चरणमा पाइलट प्रोजेक्टको रूपमा साझाका आठवटा विद्युतीय सवारीलाई ब्लु बस सञ्चालन गरिने भनिए पनि अहिले ६ वटा मात्र हुन सक्ने उनले बताए ।
एउटा विद्युतीय बसको दैनिक खर्च १० देखि १२ हजार रुपैयाँ रहेको छ । यसो गर्दा आठवटा विद्युतीय बस सञ्चालनका लागि साझाले सरकारसँग वार्षिक ३ करोड ४८ लाख रुपैयाँ बराबरको खर्च प्रस्ताव गरेको छ । तथापि, यही खर्च पेट्रोलियम गाडीमा हो भने थप ३० प्रतिशत बढी आउने प्रबन्ध निर्देशक अर्यालले हामीलाई जानकारी दिए
