नवलपरासी– सरकारले भारतसँग सीमा जोडिएको पश्चिम नवलपरासीको सुस्तामा सुरक्षा उपस्थिति बढाएको छ ।
गृह मन्त्रालयले असार १९ मा जिल्ला प्रशासन कार्यालयलाई थप सुरक्षाकर्मी परिचालन गर्न र स्थानीय नागरिकका समस्या समाधान गर्न निर्देशन दिएपछि सशस्त्र प्रहरीको संख्या २५ बाट ४० पुर्याइएको छ ।
त्यसपछि नेपाली सेनाको टोलीले पनि स्थलगत निरीक्षण गरेको छ ।
सुस्तामा निर्माणाधीन तटबन्धको कामका क्रममा करिब डेढ महिनाअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली भू–भागमै पुगेर निर्माण रोक्न चेतावनी दिएको थियो ।
त्यसयता नेपालले सुरक्षा उपस्थिति बढाएपछि भारतीय पक्षले नेपाली सेनाको भ्रमणबारे चासो व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपालले उक्त टोली मनसुनजन्य विपद् जोखिमको अध्ययनका लागि गएको जानकारी भारतलाई दिएको छ ।
यसैबीच, सुस्ताका स्थानीयले सुरक्षा सुदृढ गर्न, नागरिकता वितरणको समस्या समाधान गर्न र राज्यको उपस्थिति प्रभावकारी बनाउन माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
गृह मन्त्रालयको निर्देशनपछि स्थानीय तहले नागरिकता प्राप्त गर्न योग्य व्यक्तिको विवरण संकलनको काम पनि सुरु गरेको छ ।
