आज चराहरूको विश्व बसाइँसराइ दिवस
काठमाण्डौ – आज चराहरूको विश्व बसाइँसराइ दिवस । हरेक वर्ष मे महिनाको दोस्रो शनिवार मनाइने यो दिवस यस वर्ष हरेक चरा महत्त्वपूर्ण छन्, तपाईंको अवलोकनले महत्व राख्छ भन्ने नाराका साथ मनाइँदैछ ।
अनुकूल मौसम, सुरक्षित बासस्थान र प्रजननका लागि चराहरू लामो यात्रा गर्छन् । यही यात्रालाई बसाइँसराइ भनिन्छ । विश्वमा पाइने ११ हजारभन्दा बढी प्रजातिमध्ये झन्डै ४० प्रतिशत नियमित रूपमा बसाइँ सर्ने चराविद् कृष्ण भुसालले बताउनुभयो ।
नेपाल मध्यएशियाली उडानमार्गमा अवस्थित भएकाले यहाँ बसाइँसराइ चराको आवागमन विशेष महत्त्वपूर्ण छ । हिउँद याममा रुस, चीन, मङ्गोलिया र युरोपबाट डेढ सयभन्दा बढी प्रजातिका हजारौँ चरा नेपाल आउँछन् भने गर्मी याममा अफ्रिका र श्रीलङ्काबाट झन्डै ६२ प्रजातिका चरा बच्चा कोरल्न आउँछन् ।
झन्डै ५० प्रजातिका चरा नेपालको बाटो हुँदै भारत, पाकिस्तान र अफ्रिकासम्म जान्छन् । चराको यात्रा अत्यन्तै चामत्कारिक छ । आर्कटिक टर्न हरेक वर्ष झन्डै ९० हजार किलोमिटर पार गर्छ भने नेपालमा हिउँद बिताउन आउने खोयाहाँस सगरमाथाभन्दा माथि, झन्डै ९ हजार ३ सय ७५ मिटर उचाइबाट सिधै हिमाल नाघेर प्रवेश गर्छ ।
तर पछिल्ला वर्षहरूमा यी चरा गम्भीर सङ्ककटमा छन् । वासस्थान विनाश, वनडढेलो, सिमसार अतिक्रमण, विषादीको प्रयोग र अवैध सिकारका कारण चराकाे आवागमनमा बाधा पुगिरहेको चराविद् भुसाल बताउनुहुन्छ । विज्ञहरूका अनुसार यी चराको दिगो संरक्षणका लागि स्थानीय समुदायदेखि अन्तरदेशीय साझेदारीसम्मको सक्रिय सहभागिता आवश्यक छ ।















