काठमाण्डौ – मुख्य चाड दशैँको बेला अहिले किसानलाई पाकेको धान भित्र्याउन भ्याइनभ्याइ छ ।
धेरैजसो ठाउँमा दशैँको टीका कोजाग्रत पूर्णिमा अर्थात् पर्सि सोमबारसम्म लगाउने गरिन्छ । तर मौसम पूर्वानुमान महाशाखाले बुधबार ११ गतेदेखि पानी पर्ने प्रक्षेपण गरेसँगै दशैँको टीकाकैबीच किसानलाई पाकेको धानबाली काट्न र भित्र्याउन हतारो भएको छ । अहिले अन्नको भण्डार तराई/मधेशदेखि पहाडी क्षेत्रमा धान पाकेर पहेँलपुर भएको छ ।
जेठ, असारमा रोपिएको बर्खे धानबालीका लागि गरिएको लगानीअनुसार अहिले बेलैमा भित्र्याउन नपाए नोक्सानी हुने जोखिम छ । धान काटिसकेका तर अहिलेसम्म भण्डारण गर्न नपाएका किसानलाई पानी परे खेतको बाली भिज्ने डर छ । काट्न बाँकी रहेकालाई पनि हावाहुरी र पानीले धान ढाल्ने चिन्ता छ । धानको बाला लामो समयसम्म भिजे बिग्रने जोखिम हुन्छ ।
विगतमा पनि असोज/कात्तिक महिनामा आएको बेमौसमी बाढी र वर्षाले तयारी अवस्थाको धानबाली नष्ट गर्दा किसानले क्षति बेहोर्नुपरेको थियो । मंगलबारदेखि पानी पर्न सक्ने मौसमबारेका जानकारले यसअघि नै भनेकोमा मौसम पूर्वानुमान महाशाखाले भने आधिकारिक रुपमा ढिलो गरी पूर्वतयारी गर्न सचेत गराएको छ । त्यसअनुसार किसानलाई तत्काल धान काट्न र भित्र्याउन समस्या पनि छ ।
दशैँको बेला भएकाले काम गर्ने जनशक्तिको अभाव छ । अर्थात् खेतमा काम गर्ने खेताला वा मजदुर पाउन निकै मुस्किल छ । थ्रेसर, ट्र्याक्टर जस्ता आधुनिक उपकरणको सुविधा लिन सहज छैन । हतार–हतार काटिएको धान राम्रोसँग सुकाउन र सुरक्षित भण्डारण गर्न पनि समस्या हुने गर्छ ।
मौसमविद्ले किसानलाई मौसमको अवस्था हेरेर मात्र धान काट्न र काटिसकेको धानलाई सुरक्षित ठाउँमा राख्न सुझाव दिएका छन् । नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले कृषि मौसम सल्लाह बुलेटिनमार्फत् पाकिसकेको धानबाली १० गते मंगलबारभित्र भित्र्याउन आग्रह गरेको छ ।
त्यस्तै मंगलबारयता भित्र्याउन नसके मौसम सुधार भएपछि मात्र प्राविधिकको सल्लाहअनुसार धान काट्ने र भित्र्याउने गरी समय मिलाउन, बाला पसाएका र नपाकेको धान भए खेतमा विभिन्न ठाउँबाट कुलेसो काटी पानीको निकास व्यवस्था गर्न किसानलाई सल्लाह छ ।
