चितवन राष्ट्रिय निकुञ्जको वरिष्ठ संरक्षण अधिकृतमा डिलबहादुर पुर्जा पुनः फर्किने भएका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तलाई वन तथा वातावरण मन्त्रालयले विभागमा सरुवा गरेपछि पुर्जालाई उक्त जिम्मेवारी दिइएको हो ।
यसअघि झण्डै २० महिना चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृतका रूपमा काम गरिसकेका पुर्जा पछिल्लो १५ महिनादेखि शिवपुरी राष्ट्रिय निकुञ्जमा कार्यरत थिए ।
निकुञ्ज प्रमुख रहेका डा. पन्तले निकुञ्ज आसपासका अतिक्रमित क्षेत्रमा रहेका बस्ती हटाउन सार्वजनिक सूचना जारी गरेका थिए । मन्त्रालयसँग समन्वय नगरी सूचना जारी गरेको आरोप लागेपछि उनलाई दुई वर्ष कार्यकाल पूरा नहुँदै मन्त्रालय तानिएको हो ।
