सुर्खेत । डोल्पा कारागारमा १५ जना सुरक्षाकर्मीले सुरक्षा दिँदा पनि ४ मिटर लामो सुरुङ खनेर ८ जना कैदीले ‘जेलब्रेक’ गरेको घटनाले सुरक्षा प्रणालीमाथि नै गम्भीर प्रश्न खडा गरेको छ ।
यति ठुलो सुरक्षाका बिचमा ८ जना कैदीबन्दीले सुरुङ खनेर भाग्दा पनि सुरक्षा अधिकारीले कुनै चाल नपाएको बताएका छन् । १७ मध्ये ९ जना कैदीबन्दी कारागारमै छन् ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जुनु हमाल ढकालले उक्त विषयमा अध्ययन समिति बनेको र उक्त समितिले प्रतिवेदन तयार पार्ने काम गरिरहेको बताइन् । ‘सबैलाई सचेत बनाउने घटना भयो । हामीले हाम्रो जिल्ला तहमा समिति बनाएर काम भइरहेको छ,’ उनले रातोपाटीसँग भनिन्, ‘प्रतिवेदनले के देखाउँछ, त्यसपछि हामी बाँकी कारबाही अगाडि बढाउँछौँ ।’
उनका अनुसार, जिल्ला प्रहरी कार्यालयको इन्स्पेक्टरको कमान्डमा समिति बनेको छ ।
सुरुङ खन्न रड र पाइपको टुक्राको सहायता
सीडीओ हमाल बाहिर आलोचना भएजस्तो भित्र नरहेको दाबी गर्छिन् । ‘यो केसमा अहिले आधिकारिक रूपमा प्रतिवेदन पनि आउला, तर बाहिर प्रश्न आएको जस्तो १४ फिट वा ४ मिटर लामो सुरुङ भने पनि खासमा त्यहाँ खनेको अथवा ‘ब्रेक थ्रु’ गरेको जम्मा ४ फिट जतिको वाल हो,’ उनले भनिन्, ‘बिचमा बाँकी ३ मिटर जतिको सेफ्टी ट्याङ्की पर्छ । त्यसलाई सुरुङ नभनौँ । एउटा आफ्नो रुमको वाल भत्काएपछि सेफ्टी ट्याङ्क आउँछ, सेफ्टी ट्याङ्क पछिको अर्को वाल भत्काएपछि बाहिरको कम्पाउन्ड आइहाल्छ ।’
त्यो हिसाबले हेर्दा लामो तयारी गरेर खनेको अथवा ठुला–ठुला औजार प्रयोग भएको देखिँदैन । उनका अनुसार, कैदीबन्दीहरूले भित्रै सानोतिनो पाइपको टुक्रा, रडको टुक्रा प्रयोग गरेको देखिन्छ ।
‘बाहिरबाट लगेर ठुलो खन्ने औजार प्रयोग गरेको छैन,’ उनले भनिन् ‘एउटा सानो पाइपको टुक्रा, सानो फलामको रड र किचेनमै हुने चक्कु–चुलेसी जस्ता साना टुक्राहरू प्रयोग गरेको देखिन्छ ।’
कारागारभित्रै उपलब्ध भएका सामग्रीले नै सुरुङ खनिएको सीडीओ हमालको भनाइ छ । माटो–ढुंगाले बनेका पर्खाल भएकाले साना औजारले सजिलै भत्काउन सकेको उनको आकलन छ ।
सुरक्षाकर्मीको लापरबाही भन्दा पनि कमजोर पूर्वाधारको फाइदा कैदीले उठाएको हुनसक्ने उनले बताइन् । ‘उनीहरूले मेन्टल्ली तयारी गरे होलान्, तर सेक्युरिटीले निरीक्षण गर्दा देखिने गरी एक्सनमा उनीहरूले बढीमा दुई रात काम गरेको जस्तो देखिन्छ,’ उनले भनिन् ।
कारागार प्रशासनले नियमित निरीक्षण गरिरहे पनि कैदीबन्दीले छोटो समयमा योजनालाई सफल बनाएको उनको भनाइ छ ।
३ दिन अगाडि मात्रै गरियो थियो सुरक्षा कमान्ड परिवर्तन
कारागारको सुरक्षा कमान्ड सो घटना हुनुभन्दा ३ दिन अगाडिमात्रै परिवर्तन गरेको पाइएको छ ।
प्रमुख जिल्ला अधिकारी हमालका अनुसार, कमान्डर चेन्ज भएको, अनि दसैँ–तिहारको बिदामा जेलर पनि बाहिर भएको समयमा घटना भएको हो । हमाल यसलाई एकदम धेरै लापरवाही भन्दिनन् । तर त्यहाँ भित्रका कैदीहरूले धेरै दिमाग लगाएर एकदम सजिलो बाटो पत्ता लगाएर भागेको देखिने उनको भनाइ छ ।
डोल्पा जिल्ला कारागार ५० महिला र १०० पुरुष गरी १५० जना क्षमताको हो । अहिले १७ जना मात्रै कैदीबन्दी थिए ।
‘ओपन जेल’ अर्को कारण
डोल्पा कारागार ‘ओपन जेल’ भनेर चिनिन्छ । प्रमुख जिल्ला अधिकारी हमाल पनि कारागार कम्पाउन्डभित्र ‘ओपन जेल’ अवधारणा रहेको बताउँछिन् ।
त्यो भनेको भनेको कैदीबन्दीहरूलाई आफ्नो च्याम्बरमा लक नगर्ने, कम्पाउन्डभित्र खुला रूपमा यताउता गर्न मिल्ने, मुभमेन्ट गर्न रुमहरू खुला हुने खालको छ । ‘जेलको कन्सेप्ट नै त्यही थियो यहाँको,’ हमालले भनिन्, ‘सबै १७ जना एक अर्कासँग घुलमिल भएर बस्ने, एउटै किचेनमा खाना खाने पनि खालको छ ।’
उनका अनुसार, सुरुङ खनेर भाग्ने खालको आकलन गर्न सक्ने सङ्केत त्यहाँ थिएन । ‘किनभने उनीहरू थोरै दिनमै एक्सनमा गइहालेको जस्तो देखिएको छ,’ उनले थपिन् ।
यो घटनाले सबैलाई सचेत गराएको उनी बताउँछिन् ।
खोजीकार्य तीव्र
शुक्रबार राति सुरुङ खनेर भाग्नेमा ५ जना जबर्जस्ती करणी मुद्दाका र बाँकी चोरीको घटनाका कैदीबन्दी छन् । सुरक्षा निकायले शनिबार बिहानमात्रै घटनाबारे थाहा पाएको थियो । घटना घटेको दुई दिन बितिसक्दा पनि भागेका कैदीबारे कुनै विवरण फेला परेको छैन । भागेका कैदीबन्दीको खोजी भइरहेको सीडीओ हमालले बताइन् ।
‘खोजी कार्यमै हामी फोकस छौँ, जिल्ला लेभलको सुरक्षाकर्मीदेखि लिएर अन्तर–जिल्ला, कहाँ जान सक्छन् भनेर पूरै प्रदेशभरि परिचालन भएको छ,’ उनले भनिन्, ‘सीमातिर इन्डिया जान सक्ने बोर्डर एरियामा पनि खोजी भइराखेको छ । हामी एकदमै एक्टिभ्ली यतातिर लागेका छौँ ।’
साथै, कमजोरी कसको भयो भन्ने अनुसन्धान पनि भइराखेको उनले बताइन् ।
