मुस्ताङ — मुस्ताङका विभिन्न स्थानमा यार्सागुम्बा संकलन सुरु भएको छ । यहाँको तल्लो क्षेत्र थासाङ गाउँपालिकाअन्तर्गत कुञ्जो, कोवाङ र टुकुचे संरक्षण क्षेत्र व्यवस्थापन समितिअन्तर्गतका उच्च लेकमा यार्सागुम्बा संकलन सुरु भएको हो ।
यार्सागुम्बा समुद्री सहतको ३ हजारदेखि ६ हजार मिटरको उचाइमा पाइने जडीबुटी हो । यहाँका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका आधा दर्जनभन्दा बढी स्थानमा हरेक वर्ष वैशाखदेखि असार मसान्तसम्म यार्सा संकलन हुन्छ । यार्सा संकलनका लागि जिल्लाका स्थानीय, जिल्लामा अस्थायी बसोबार गरेका व्यक्ति र जिल्ला बाहिरबाट उल्लेख्य व्यक्तिहरु लेक पुग्छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतका संरक्षण क्षेत्र व्यवस्थापन समिति (सीएमसी) हरुले शुल्क लिएर यार्सागुम्बा संकलनका लागि अनुमति दिने गरेको एक्याप जोमसोमका प्राकृतिक स्रोत सरक्षण सहायक दीपक ओलीले जानकारी दिए । कार्यालयहरुले यार्सा संकलनको अवधिभर कार्यविधि र मापदण्ड निर्धारण गर्छ । संकनका क्रममा हुन सक्ने जोखिम, चोरी सिकारी, वन डढेलो, अवान्छित र अपराधजन्य घटना रोकथाम गर्ने सर्त उल्लेख गरी अनुमति दिने चलन छ ।
थासाङ गाउँपालिकाको कोवाङ सीएमसीले सर्वसाधारण नागरिकलाई यार्सा संकलन पुर्जी वितरण गरेको समितिका अध्यक्ष जीवन थकालीले जानकारी दिए । उनका अनुुसार स्थानीयलाई ३ हजार ५ सय र जिल्ला बाहिरबाट आउनेलाई ७ हजार शुल्क उठाउने गरिएको छ ।
कोवाङ समितिले मुलिखर्क, मुली, पड्के, ठूलो सरे र सानुसरेलगायतका लेकमा यार्सा संकलन फुकुवा गरेको छ । समितिको लेकका लागि हालसम्म ९ स्थानीयसहित ८७ जनाले अनुमति लिएका छन् ।
थासाङको बतासेमा पनि संकलन फुकुवा भइसकेको छ । उक्त लेकका लागि ४५ जनाले अनुमति लिएका छन् । टुकुचे समितिले स्थानीयलाई १ हजार रुपैयाँ र जिल्ला बाहिरका व्यक्तिलाई ३ हजार शुल्क तोकेको छ ।
थासाङको कुञ्जो लेकमा पनि यार्सा संकलन सुरु भइसकेको छ । घरपझोङ गाउँपालिकास्थित संरक्षण व्यवस्थापन समितिले वैशाख २५ देखि यार्सा संकलन अनुमति दिने तयारी गरेको समितिका सचिव पवन गुरुङले जानकारी दिए ।
जोमसोम समितिले जोमसोम, ठिनी र ढुम्बा गाउँका स्थानीयलाई यार्सा संकलनका लागि ४ हजार र सोही क्षेत्रमा अस्थायी बसोबास गरी घरखेत कमाएर बसेका व्यक्तिलाई प्रतिव्यक्ति ६ हजार शुल्क तोकेको छ ।
वारागुङ मुक्तिक्षेत्र-१ को मुक्तिनाथ संरक्षण क्षेत्र व्यवस्थापन समितिले आगामी जेठ २ गतेदेखि यार्सा संकलन फुकुवा गर्ने तयारी गरेको छ । मुक्तिनाथ संरक्षण क्षेत्र व्यवस्थापन समितिले नेर झोङ, लिरी, रिसम्बा र छिमीघ्वा लगायतका लेकहरुमा यार्सा संकलन गर्ने अनुमति दिने गरेको समितिका सचिव लाक्पाटसी गुरुङले जानकारी दिए ।
