चितवन । सशक्तीकरणका लागि हाम्रो अभियानको आयोजनामा तिहारको अवसर पारेर राप्ती नगरपालिकामा अन्तरविद्यालयस्तरीय रंगोली प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता राप्ती नगरपालिका–५ स्थित अग्निमा आयोजना गरिएको थियो।
प्रतियोगितामा राप्ती नगरपालिकाभित्रका ८ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा मातृ सहयोग आधारभूत विद्यालय, श्री राष्ट्रिय माध्यमिक विद्यालय महादेवटार, श्री भण्डारा माध्यमिक विद्यालय, साकुरा एकेडेमी, संग्रिला इङ्लिस बोर्डिङ स्कुल, माध्यमिक विद्यालय ब्रह्मनगर, नेपाल–कोरिया विज्डम स्कुल र आइरिस इङ्लिस स्कुलका विद्यार्थीहरू सहभागी भएका थिए।
प्रतियोगितामा माध्यमिक विद्यालय ब्रह्मनगरबाट २ समूह, श्री राष्ट्रिय माध्यमिक विद्यालय महादेवटारबाट ४ समूह तथा आइरिस इङ्लिस स्कुलबाट २ समूह सहभागी भएका थिए।
४५ मिनेटको समयसीमा निर्धारण गरिएको प्रतियोगिताको निर्णायकमा परश भण्डारी, पुष्कर पोखरेल र दिलीप दल्लाकोटी रहेका थिए।
प्रतियोगितामा श्री राष्ट्रिय माध्यमिक विद्यालय महादेवटारको समूह प्रथम भएको छ भने मातृ सहयोग आधारभूत विद्यालय द्वितीय र श्री राष्ट्रिय माध्यमिक विद्यालय महादेवटारकै अर्को समूह तृतीय भएको छ।
तिहारको सांस्कृतिक महत्त्व, सिर्जनशीलता र विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
