काठमाडौँ । बाघको संख्या पुनः बढ्न थाले पनि बन्दी अवस्थामा बाघ पालिने फार्मबाट हुने अवैध व्यापारले जंगली बाघको संरक्षणमा चुनौती थपेको छ ।
संरक्षणका नाममा स्थापना गरिएका बाघ फार्महरूबाट बाघका अंग तथा शरीरका उत्पादनको अवैध कारोबार हुन सक्ने जोखिम रहेकाले त्यस्ता केन्द्रमाथि कडा निगरानी र पारदर्शिता आवश्यक रहेको संरक्षणकर्मीहरूले बताएका छन् ।
वन्यजन्तु तथा वनस्पतिको लोपोन्मुख प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस) को स्थायी समितिको ८१औँ बैठक यसै साता स्विट्जरल्यान्डको जेनेभामा चलिरहेको छ । बैठकका क्रममा वातावरण अनुसन्धानसम्बन्धी संस्था ईआईए (इन्भाइरोन्मेन्टल इन्भेस्टिगेसन एजेन्सी) लगायत विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले बन्दी अवस्थामा बाघ पाल्ने केन्द्रहरूको प्रभावकारी नियमन, पारदर्शिता र नियमित प्रतिवेदन प्रणाली विकास गर्न सरकारहरूलाई आग्रह गरेका छन् ।
साइटिसमा आबद्ध देशहरूले करिब दुई दशकअघि नै बाघका अंग तथा शरीरका उत्पादनको व्यापारका लागि बाघ प्रजनन गर्न नपाइने र संरक्षणका उद्देश्यले मात्रै प्रजनन गर्न सकिने सहमति गरेका थिए । तर, उक्त निर्णय कार्यान्वयनमा देशहरूबिच एकरूपता नरहेको र प्रगतिको मूल्यांकन गर्न आवश्यक तथ्यांकसमेत उपलब्ध नभएको विज्ञहरूको भनाइ छ ।
सन् २०१० मा विश्वमा जंगली बाघको संख्या करिब तीन हजार दुई सयमा सीमित थियो । वासस्थान विनाश, चोरीसिकार, वन्यजन्तुको अवैध व्यापार र मानव–वन्यजन्तु द्वन्द्वका कारण बाघको अस्तित्व संकटमा परेको थियो ।
त्यसपछि विभिन्न देशका सरकार, आदिवासी समुदाय, स्थानीय बासिन्दा, वन्यजन्तु संरक्षणकर्मी, सुरक्षाकर्मी र अन्तर्राष्ट्रिय संस्थाहरूले बाघ संरक्षणका लागि साझा अभियान सञ्चालन गरे । त्यसको परिणामस्वरूप अहिले विश्वमा जंगली बाघको संख्या बढेर करिब पाँच हजार सात सय पुगेको छ । यद्यपि, बाघ अझै लोपोन्मुख अवस्थामा रहेकाले संरक्षणका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ ।
६ देशले मात्रै बुझाए विवरण
साइटिसको स्थायी समितिको ८१औँ बैठकका लागि तयार पारिएका दस्तावेजअनुसार थुनेर बाघ राख्ने वा प्रजनन गराउने केन्द्रहरूको सरकारी निगरानीसम्बन्धी उपाय कार्यान्वयनबारे अहिलेसम्म ६ देशले मात्रै विवरण बुझाएका छन् । साइटिस सचिवालयले यसलाई अत्यन्त सीमित भनेको छ ।
पर्याप्त विवरण नहुँदा सम्बन्धित देशहरूले सहमति कार्यान्वयन गरेका छन् वा छैनन् र थप कस्ता कदम आवश्यक छन् भन्ने मूल्यांकन गर्न कठिन भएको छ ।
विवरण बुझाएका कुनै पनि देशले आफ्नो क्षेत्रमा रहेका बाघ फार्मको संख्या र प्रत्येक फार्ममा पालिएका बाघको संख्यासमेत पर्याप्त रूपमा उपलब्ध गराएका छैनन् । त्यसैले थुनिएका बाघको संख्या संरक्षणका उद्देश्यमा मात्रै सीमित राखिएको छ वा छैन भन्ने यकिन गर्न सकिएको छैन ।
विशेषज्ञहरूका अनुसार बाघ फार्मको संख्या, त्यहाँ पालिएका बाघको विवरण, जन्म, मृत्यु र एक स्थानबाट अर्को स्थानमा सारिएका बाघको अभिलेख अनिवार्य रूपमा सार्वजनिक तथा व्यवस्थित गर्नुपर्छ । यसले बाघको वास्तविक अवस्थाको अनुगमन गर्नुका साथै वैध र अवैध व्यापारबिचको सम्बन्ध पहिचान गर्न सहयोग पुर्याउँछ ।
बाघ फार्मको चरणबद्ध अन्त्य गर्न सुझाव
ईआईए तथा फोर पज इन्टरनेसनल, वाइल्डलाइफ कन्जर्भेसन सोसाइटी, विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) र वाइल्डलाइफ जस्टिस कमिसनलगायत संस्थाले बाघ फार्मबाट हुने व्यापार रोक्न साइटिसका विद्यमान निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन् ।
ती संस्थाहरूले समस्याग्रस्त बाघ फार्मलाई क्रमशः बन्द गर्ने प्रक्रियामा सरकारलाई सहयोग पुग्ने विभिन्न निर्देशिका तथा प्रकरणसमेत औंल्याएका गरेका छन्, यसमा बाघ फार्मको निरीक्षण, संरक्षणका उद्देश्यले बाघको प्रजनन व्यवस्थापन, मरेका बाघको शरीर तथा अंगहरूको उचित व्यवस्थापन र अवैध व्यापार नियन्त्रणका लागि डीएनए अभिलेख प्रणालीको प्रयोग समावेश छन् ।

विशेषगरी टाइगरबेस नामक डीएनए प्रोफाइल प्रणालीले बाघको पहिचान र त्यसको आवागमनसम्बन्धी विवरण राख्न सहयोग पुर्याउनेछ । यसबाट चोरीसिकार तथा अवैध व्यापारमा संलग्न समूहको पहिचान र अनुसन्धान गर्न सहज हुने अपेक्षा गरिएको छ ।
संरक्षण संस्थाहरूले आगामी साइटिस बैठकहरूमा नियमित प्रतिवेदन बुझाउने व्यवस्था अनिवार्य गर्न पनि आग्रह गरेका छन् । त्यसअन्तर्गत संरक्षणबाहेकका उद्देश्यले बाघ पाल्ने वा प्रजनन गराउने केन्द्रको संख्या, त्यहाँ रहेका बाघको संख्या तथा बाघको जन्म, मृत्यु र स्थानान्तरणसम्बन्धी विवरण समावेश हुनुपर्ने उनीहरूको माग छ ।
यस्तो तथ्यांकले बाघ फार्ममा बाघको संख्या अस्वाभाविक रूपमा बढेको छ वा छैन भन्ने पहिचान गर्न र ती केन्द्रहरू अवैध व्यापारमा प्रयोग भइरहेका छन् कि छैनन् भन्ने मूल्यांकन गर्न सहयोग पुग्नेछ ।
अन्तर्राष्ट्रिय अनुगमन र अनुसन्धानमा जोड
ईआईएको एसियाली ठूला बिरालो प्रजातिसम्बन्धी अभियानकी प्रमुख डेबी बैंकसले थुनुवा अवस्थामा बाघ पाल्ने केन्द्रसँग सम्बन्धित समस्या समाधान गर्ने सहमति भएको करिब दुई दशक बितिसक्दा पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएकी छन् ।
उनका अनुसार साइटिसको ८१औँ बैठकले जवाफदेहिता, कानुनको पालना र कार्यान्वयनलाई बलियो बनाउने महत्वपूर्ण अवसर प्रदान गरेको छ । सबै देशले स्पष्ट निर्देशिका, एकरूप मापदण्ड र पारदर्शी प्रतिवेदन प्रणाली अपनाउनुपर्ने उनको भनाइ छ ।

त्यसैगरि, सन् २०२५ को एक प्रतिवेदन ‘द ट्रेड इन एसियन बिग क्याट्सः एन एनालिसिस अफ ट्रेन्ड्स, थ्रेट्स, मेजर्स एन्ड स्ट्राटेजिज’ लाई उदाहरणीय अध्ययनका रूपमा प्रस्तुत गरिएको छ । उक्त प्रतिवेदनले एसियाली ठूला बिरालो प्रजातिको व्यापार, त्यसबाट उत्पन्न जोखिम र नियन्त्रणका उपायबारे विश्लेषण गरेको छ ।
बाघ पाइने देशहरूले जंगली बाघको संरक्षण र वन्यजन्तुसम्बन्धी अपराध नियन्त्रणमा ठुलो लगानी र प्रयास गरिरहेका छन् । तर, बन्दी अवस्थामा बाघ पाल्ने केन्द्रहरूलाई अवैध व्यापारका लागि प्रयोग हुनबाट रोक्न नसके संरक्षणका उपलब्धि जोखिममा पर्न सक्ने बैंकसले बताएकी छन् ।
उनी भन्छिन्, ‘जंगली बाघको संख्या वृद्धि गर्ने प्रयासलाई दिगो बनाउन र भविष्यमा बाघको अस्तित्व सुनिश्चित गर्न बन्दी अवस्थामा बाघ पाल्ने केन्द्रबाट हुने अवैध व्यापार नियन्त्रण गर्नु अपरिहार्य छ ।’
