रसुवाको भोटेकोशी बाढीले बागमती प्रदेशका विभिन्न क्षेत्रमा ठुलो जनधनको क्षति पुर्यायो । बाढीले क्षति पुगेको ३ महिना बितिसक्दा पनि पीडित नागरिकको जनजीवन अझै सामान्य बन्न सकेको छैन । कतिपय प्रभावितहरू अझै पनि अस्थायी टहरा र टेन्टमुनि रात काट्न बाध्य छन् ।
विपद्पछिको राहत, उद्धार र पुनर्निर्माणमा देखिएको सुस्तता तथा अन्योलका बिच विपद्ले निम्त्याएको क्षति अपूरणीय र दुःखद भए पनि सही योजना र दृष्टिकोण अपनाउन सके यसले बस्तीको पुनर्संरचना गर्ने अवसरसमेत प्रदान गर्दछ । विपद्पछिको पुनर्निर्माण कुनै एक तहको सरकारको प्रयासले मात्र सम्भव हुँदैन ।
संविधानले तीन तहका सरकारबिच कामको बाँडफाँट गरेझैँ पुनर्निर्माणमा पनि सोही अनुसार अघि बढ्नुपर्छ । ठुला पूर्वाधार, राजमार्ग र अन्तर्राष्ट्रिय व्यापार नाका जोड्ने मुख्य सडक संघीय सरकारको प्राथमिकतामा पर्नुपर्छ । मझौला पूर्वाधार, साना पुल, प्रादेशिक सडक र अस्थायी आवासको व्यवस्थापनमा प्रदेश सरकारले प्रमुख भूमिका खेल्न सक्छ ।
प्रदेशले ‘जनता आवास कार्यक्रम’ मार्फत घर बनाउन सक्ने भए पनि जग्गा व्यवस्थापनका लागि संघीय सरकारसँग समन्वय अपरिहार्य हुन्छ । स्थानीय सेवा प्रवाह, वास्तविक पीडितको पहिचान र राहत वितरणमा स्थानीय तह जति प्रभावकारी संघ र प्रदेश सरकार हुन सक्दैन ।
नेपालको भूगोलले नै सुरक्षित स्थानमा एकीकृत बस्तीको माग गरेको अवस्था छ ।
स्थानीय सरकारलाई जिम्मा नदिई माथिबाटै फोटो खिचाउन राहत बाँड्दा भद्रगोल भएको र अनुगमन कमजोर बनेको छ । विपद् लगत्तै तीनै तहको संयुक्त बैठक बसी योजना निर्माण, कार्यान्वयन र अनुगमनमा छलफल हुनुपर्नेमा त्यसो हुन सकेको छैन । प्रदेश र स्थानीय तहले संघको अनुमतिबिना सिधै अन्तर्राष्ट्रिय सहयोग लिन नसक्ने हुँदा लबिङ गरी संघकै स्वीकृतिमा स्रोत जुटाउनुपर्ने अवस्था छ ।
सरकारहरू फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालको प्रभावमा भन्दा नीतिगत समन्वयमा केन्द्रित हुनुपर्ने छ । विगतका पुनर्निर्माणबाट पाठ सिक्नुपर्छ । २०७२ को भूकम्पपछि घरमात्र बनाइँदा र रोजगारी तथा खेतीपातीसँग नजोडिँदा ती बस्ती बस्न लायक बनेको छैन । घरमात्रै बनाउने होइन, रोजगारीसहितको व्यवस्थित बसोबास कसरी गर्ने भन्नेतर्फ अब लाग्नुपर्छ । बस्ती एकातिर, रोजगारी र खेतीपाती अर्कोतिर हुँदा बस्तीसँग नागरिकको जीवन जोडिन सक्दैन ।
नेपालको भूगोलले नै सुरक्षित स्थानमा एकीकृत बस्तीको माग गरेको अवस्था छ । खोला किनारमा बस्ती नबसाई त्यहाँ खेतीपाती गराउनुपर्ने हुन्छ । बगरमा खेतीमात्र गर्दा बाढी आए पनि मानवीय जोखिम हुँदैन । सोही अनुसार भोटेकोशी बाढीले पुरेका खेतमा पनि सिजनल खेती गर्न सकिने हुन्छ ।
जलविद्युत्, पर्यटन र अन्तर्राष्ट्रिय व्यापारको लाइफलाइन मानिने भोटेकोशी कोरिडोरको पुनर्निर्माणमा ५ कुरामा ध्यान दिनुपर्छ । अवरुद्ध सडक कनेक्टिभिटी तत्काल जोड्ने, आर्थिक आधारका ठुला पूर्वाधारमा संघले प्राथमिकता दिने, बगाएका सरकारी संरचना पुनर्निर्माण गर्ने, बस्तीलाई सुरक्षित स्थानमा पुनर्व्यवस्थित गर्ने र प्रभावित जमिनमा सुरक्षित कृषि कार्य थाल्ने । एकीकृत बस्तीले सडक, खानेपानी, विद्युत्, विद्यालय र स्वास्थ्य चौकीजस्ता अन्य पूर्वाधार विकासलाई समेत सहज बनाउनुपर्छ ।
विपद्पछिको पुनर्निर्माण टालटुले र भोट बैंकमा आधारित हुनु हुँदैन ।
पुनर्निर्माण सुस्त हुनुमा कानुन वा कार्यविधिको अभाव छैन । नेपालमा कानुन, कार्यविधि र तालिम प्रशस्त छन्, तर कार्यान्वयन र अनुगमनमा ध्यान नपुगेको मात्र हो । सरकार र जनताको प्राथमिकता विपद् कोषमा बजेट छुट्ट्याउनु भन्दा तत्काल सडकमा खर्च गर्नमा देखिने गरेको र विपद् पर्दा प्रधानमन्त्री राहत कोषका लागि बाहिरबाट पैसा माग्नुपर्ने अवस्था योजना अभावकै उपज हो ।
प्रदेश सरकारले आयोजना छनोट गर्दा आयोजना बैंकको अवधारणा कडाइका साथ लागू गर्नुपर्ने हुन्छ । आयोजना छान्नुअघि आवश्यकताको पहिचान, पूर्वअनुमान, दिगो विकास लक्ष्य (एसडीजी) मा पुग्ने योगदान र विपद् जोखिम न्यूनीकरणको पाटो अनिवार्य हेरिनुपर्छ । भोटका लागिमात्र बाटो लगिएको छ, तर त्यहाँ पहिरो कति जान्छ, मर्मत कसरी गर्ने र विपद् जोखिम कति छ भन्ने आकलन गर्ने चलन छैन । हरेक पूर्वाधार बनाउँदा विपद् जोखिम न्यूनीकरण गर्ने प्रविधि र विधि अपनाउनुपर्ने हुन्छ ।
जलवायु परिवर्तन र डोजर खनेर त्यत्तिकै छाड्ने अनियन्त्रित विकास मोडलले विपद्को जोखिम बढाएको छ । अब नेपालमा जथाभावी सडकको नयाँ ट्र्याक खोल्न जरुरी छैन । हिमाली क्षेत्रका केही स्थान बाहेक पहाड र मधेसमा पर्याप्त सडक बनिसकेको छ । धेरै बाटामा खर्च छर्नुभन्दा निश्चित लोकमार्गलाई स्तरीय बनाई बाँकीलाई स्थानीय सडकका रूपमा विकास गर्नुपर्छ ।
सडक पूर्वाधारका लागि ‘माछाकाँडे’ संरचनाको अवधारणा अघि बढाउनुपर्छ । यस अन्तर्गत पूर्व–पश्चिम मुख्य राजमार्गलाई उत्तर–दक्षिण जोड्ने मुख्य सडक र स्थानीय सडकहरूले माछाको काँडाजस्तै गरी जोड्ने प्रणाली विकास गर्नुपर्छ । यसले जथाभावी सडक खन्ने र खर्च खेर फाल्ने प्रवृत्ति रोक्नेछ । असीमित स्रोतको दोहन, सहरीकरणलाई नै विकास ठान्ने प्रवृत्ति, अति उत्पादन र अति उपभोगका कारण प्रकृतिले सन्तुलन मिलाउन खोज्दा विपद्का घटना बढिरहेको छ ।
विपद्पछिको पुनर्निर्माण टालटुले र भोट बैंकमा आधारित हुनु हुँदैन । तीन तहका सरकारबिचको प्रभावकारी समन्वय, आयोजना बैंकमार्फत जोखिम–मैत्री योजना छनोट, रोजगारीसहितको एकीकृत बस्ती विकास र प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणलाई प्राथमिकता दिन सकेमात्र सुरक्षित र समुन्नत बनाउन सकिन्छ ।
