रत्ननगर । रत्ननगर नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाइमा नगरवासीले नगरको समग्र विकासका लागि सुझाव दिएका छन् । २०८३ साउनदेखि कात्तिक मसान्तभित्र भएका कामकारबाहीको समीक्षा गर्दै नगरवासीको सुझाव सङ्कलनका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा नगरवासीले सडक, ढल विकास, फोहोर व्यवस्थापन, पार्किङ व्यवस्थापन, डिजिटल बोर्ड, सार्वजनिक शौचालय, शैक्षिक गुणस्तर वृद्धि, छात्रवृत्तिमा पारदर्शिता, शैक्षिक अनुगमन, मन्टेश्वरी कार्यविधि, व्यवसाय दर्ता र दृष्टिविहीन कोटामा रोजगारीलगायतका विषयमा काम गर्न सुझाव दिएका छन् ।
कार्यक्रममा सहभागी अधिकांश नगरवासीले स्थानीय सरकारले सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउन सुझाव दिएका थिए । कार्यक्रममा घनश्याम उपाध्याय, गोविन्द विश्वकर्मा, बाबुलाल महतो, सङ्कल्प अर्याल, कोषराज दाहाल, चोकबहादुर गुरूङ, दीपक थापा, शम्भुभक्त थपलिया, गोविन्द पोखरेललगायतले नगरको शैक्षिक, भौतिक, आर्थिक तथा किसानका समस्याबारे आआफ्नो भनाइ राखेका थिए ।
नागरिकको गुनासो र सुझाव सुनेपछि मेयर प्रलाद सापकोटाले अन्य पालिकाको तुलनामा स्वास्थ्य, शिक्षा, खेलकुद र पूर्वाधार विकासका सवालमा तीव्ररुपमा काम भइरहेको र जनतालाई अधिकार दिलाउने सवालमा पनि स्थानीय सरकार गम्भीरताका साथ लागिपरेको बताए ।
उनले विरोधका लागि विरोधभन्दा पनि गरेका कामको जस पनि दिनुपर्नेमा जोड दिए । उनले भने, ‘एआईको विकास परिकल्पना गरेर नगरमा केही भएन भनेर हुँदैन, आर्थिक स्रोतको पनि विश्लेषण गर्नुपर्छ ।’
कार्यक्रममा उपप्रमुख यादवप्रसाद पाठक, नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्ले, कृषि तथा पशुपक्षी शाखाका प्रमुख प्रविन लामाले सरोकारवालाले राखेका जिज्ञासाको जवाफ दिएका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म सम्पादन भएका प्रशासनिक सेवा, राजस्वमा सूत्र प्रणाली, चालू तथा पुँजीगत खर्च विवरण प्रस्तुत गरेका थिए । उनले आर्थिक वर्ष २०८३/०८४ को अनुमानित राजस्व १८ करोड रूपैयाँको राजस्व लक्ष्य रहेकोमा हालसम्म ३६ प्रतिशत राजस्व सङ्कलन भएको जानकारी दिए ।
कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न विषयगत समिति, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण तथा सञ्चालन पत्रकार केदार शर्माले गरेका थिए ।
