हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण आमाबाबु गुमाएर अभिभावकविहीन बनेका १०९ जना बालबालिकाको विवरण हालसम्म प्राप्त भएको बागमती प्रदेश सरकारले जनाएको छ । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङका अनुसार मन्त्रिपरिषद्ले यसअघि बाढीबाट प्रभावित बालबालिकालाई आवाससहित कक्षा १२ सम्म निःशुल्क शिक्षा उपलब्ध गराउने निर्णय गरेअनुसार तथ्यांक संकलनको काम भइरहेको छ ।
सोही क्रममा हालसम्म १०९ जना बालबालिकाको विवरण प्राप्त भएको उनले जानकारी दिए । १८ भदौमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले रसुवा, नुवाकोट, धादिङ र चितवनका बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षा, आवास र संरक्षणको जिम्मेवारी प्रदेश सरकारले लिने निर्णय गरेको थियो ।
निर्णय कार्यान्वयनका लागि स्वास्थ्य तथा सामाजिक विकासमन्त्री तामाङले नुवाकोटको लिखु गाउ“पालिका–४ स्थित क्षेत्रपाल माध्यमिक विद्यालय, चौघडाको स्थलगत निरीक्षण गरी सरोकारवालास“ग छलफल गरेका छन् । विद्यालय परिसरमा रहेको १० कोठे भवन मर्मत गरी अभिभावकविहीन बालबालिकालाई आवासीय रूपमा राख्ने तयारी गरिएको उनले बताए ।
प्रदेश सरकारले बालबालिकाको आवास, शिक्षा, खानपान तथा आवश्यक हेरचाहको व्यवस्था गर्ने गरी तयारी अघि बढाएको मन्त्री तामाङको भनाइ छ । प्राप्त विवरणका आधारमा पुनस्र्थापनाको प्रक्रिया अगाडि बढाइने उनले बताए ।
त्यसैगरी, बाढीका कारण परिवारविहीन तथा असहाय बनेका ज्येष्ठ नागरिकलाई नुवाकोटको लिखु गाउ“पालिका–५ स्थित कभर्डहलमा आवाससहित पुनस्र्थापनाको व्यवस्था मिलाईएको मन्त्री तामाङले बताए । भोटेकोशी बाढीपछि अभिभावक गुमाएका बालबालिकाको भविष्य सुरक्षित बनाउने उद्देश्यसहित प्रदेश सरकारले आवासीय शिक्षा कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो ।
