"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

‘आफैले सुमसुम्याउँदै काटिदिएको उसको कपाल हेरेर शव पहिचान गरेँ’

Table of Content

गोरखाको पालुङटार नगरपालिका–५ नौखोर पुग्दा बद्री पण्डित आँगनमा मौलाएको दुबोको चउरमा एक्लै टोलाइरहेका थिए।

घरको देब्रे कुनामा उनकी आमा, बहिनी र आफन्तहरू भलाकुसारी गरिरहेका थिए। भतिज कोठाभित्र मोबाइल चलाइरहेका थिए।

बद्री सेतो कपडामा बसेर अगाडिको चारकुने चौतारीतिर हेरिरहेका थिए। केही दिनअघि त्यहीँ बसेर भाइ केदारसँग गरेको कुराकानी उनको आँखाअघि आइरहेको थियो।

भाइ केदार पण्डित र बुहारी सरिता अधिकारी पण्डितका दुई सन्तान छन्— ११ वर्षका छोरा र चार वर्षकी छोरी।

अहिले ११ वर्षीय भतिजलाई साथ दिन बद्री पनि किरिया बसेका छन्।

‘भदौ ७ गते भाइ केदारलाई मेरो कपाल काटिदे त, फुलेर चिलायो भनेर काट्न लगाएको थिएँ,’ उनले सम्झिए, ‘त्यसपछि उसको पनि कपाल काटिदिएँ। अगाडिको अलिकति कपाल राखिदिनू है दाइ भनेर उसले कपाल समाएको थियो।’

त्यो दाजुभाइबीचको अन्तिम भेट हुनेछ भन्ने बद्रीलाई थाहा थिएन।

नौखोर गाउँका बासिन्दाले यसपालिको जनैपूर्णिमामा गोसाइँकुण्ड तीर्थयात्रा जाने सल्लाह गरेका थिए। केदार र उनकी श्रीमती सरिता पनि यात्रामा निस्किए।

भदौ १० गते बिहान ४ बजे उनीहरू घरबाट हिँडे।

केही घण्टामै रसुवाको भैंसेमा भोटेकोशीको बाढीले उनीहरू चढेको बस छोप्यो। बसमा सवार ३६ यात्रुमध्ये ३० जनालाई बाढीले बगायो।

बद्री भने केही दिनअघि भाइको कपाल काटेर परिवार भेट्न काठमाडौं गएका थिए।

भदौ ९ गते साँझ पालुङटार फर्किए।

बुधबार बिहान ४ बजे भाइ र बुहारी गोसाइँकुण्ड यात्रामा निस्किए।

उनीहरूसँगै गएका काका तुलाराम देवकोटाले अर्कैको नम्बरबाट फोन गरे।

बद्रीले फोन उठाउनेबित्तिकै काकाले एउटै कुरा दोहोर्‍याइरहे— बद्री खत्तम भयो, खत्तम भयो!

‘के भयो भन्नु न काका,’ बद्रीले सोधे।

तुलारामले भने, ‘हामी चार जना निस्किएका थियौं। गाडी पनि बगायो, मान्छे पनि बगायो। घर पनि आउने कि नआउने, के गर्ने के! गाउँमा यस्तो भयो भनेर हल्लाखल्ला गरिदेऊ है।’

बद्री त्यसपछि दौडिएर तुलारामका भाइको घरमा पुगे। उनकै भाइलाई फोन दिएर बोल्न लगाए।

खबर गाउँमा फैलिन धेरै समय लागेन।

एक कान, दुई कान हुँदै कुरा मैदान भयो। नौखोर गाउँमा रूवाबासी चल्न थाल्यो।

केदार गोरखाको गण्डकी गाउँपालिका–५ दर्बुङस्थित भगवती माध्यमिक विद्यालयमा गणित पढाउँथे। सरिता पनि त्यही विद्यालयमा पढाउँथिन्। गत वर्ष मात्र पालुङटारको मदनेडाँडा माध्यमिक विद्यालयमा सरूवा भएको थियो।

kedar-devkota-story1-1788458904.jpeg
भगवती माविका प्रधानाध्यापक विनोद अमगाईंका अनुसार केदार र सरिता दुवै जिम्मेवार शिक्षक थिए। उनीहरू आफ्नो विषय मात्र पढाउँदैनथे, विद्यार्थीप्रतिको जिम्मेवारीलाई पनि उत्तिकै गम्भीरतापूर्वक लिन्थे।

‘उहाँहरू दुवै अत्यन्त कर्तव्यनिष्ठ शिक्षक हुनुहुन्थ्यो। शिक्षकमा हुनुपर्ने गुणले उहाँहरू निपुण हुनुहुन्थ्यो,’ उनले भने, ‘गणित पढाउने शिक्षकको देशभर अभाव भइरहेका बेला उहाँहरू आफ्नै गाउँठाउँका बालबच्चालाई जिम्मेवारीपूर्ण शिक्षण गर्नुहुन्थ्यो।’

केदारले भगवती माविमा १४ महिना प्रधानाध्यापकको जिम्मेवारीसमेत सम्हालेका थिए।

विद्यालयको जिम्मेवारीसँगै सामाजिक काममा पनि उनी सक्रिय थिए। विनोद उनलाई इमानदार शिक्षकका रूपमा सम्झिन्छन्।

बाढीले बगाएको बस अहिलेसम्म फेला परेको छैन। बसमा सवार ३६ जनामध्ये तुलारामसहित ६ जना हामफालेर बाँच्न सफल भएका थिए। बाँकी ३० जनामध्ये हालसम्म पाँच जनाको मात्र शव भेटिएको छ।

बाढीले बगाएर ल्याएका शव राख्ने ठाउँ अभाव भएपछि धादिङ, तनहुँ, गोरखा र नवलपुरबाट १०२ वटा शव पोखरा ल्याइएको थियो।

बद्री पनि भाइको शव खोज्दै पोखरा आए।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएका शवको पहिचान गर्नुअघि उनले डिस्प्लेमा राखिएका फोटो हेरे। त्यहाँ देखिएको एउटा शव उनलाई आफ्नै भाइ केदारजस्तो लाग्यो।

त्यसपछि उनी प्रहरीसँग समन्वय गरेर शवगृहभित्र गए।

‘म भाइकै बाइक चढेर शव खोज्न पोखरा गएको थिएँ,’ उनले भने, ‘मेरो भाइको अनुहार, नाक र केही दिनअघि मात्र मैले काटिदिएको कपाल हेरेर शव चिनेँ।’

शव दिन प्रहरीले आनाकानी गरेपछि केहीबेर भनाभनसमेत भएको उनले बताए।

‘यो शव मेरो भाइको हो, कसैलाई लैजान दिन्नँ। बेलुकासम्म मेरो भाइको शव पाइनँ भने एक गाडी मान्छे बोलाएर पनि लैजान्छु भनेपछि प्रक्रिया पूरा गरेर ल्याएँ,’ उनले भने।

हिलोले ढाकिएको शव प्रहरीले धोइपखाली शवगृहमा राखेको थियो। बद्रीले भाइको शरीर राम्रोसँग हेरेर पहिचान गर्न चार बोतल पानी लगेका थिए।

‘शव धोइपखाली गरेँ। त्यसपछि यकिन गरेर मात्र शव ल्याएँ,’ उनले भने।

नेपाली सेनामा लेसनायकबाट अवकाश पाएका बद्रीले पनि विपद उद्धारको तालिम लिएका छन्। तर त्यो कौशलले आफ्नै भाइ खोज्नुपर्ने दिन आउला भन्ने कल्पना गरेका थिएनन्। 

‘आफैले सुमसुम्याउँदै काटेको भाइको कपाल हेरेर शव पहिचान गर्नुपर्ने अवस्था आउला भनेर सोचेकै थिइनँ,’ उनले भने।

भदौ १५ गते बद्रीले केदारको शव गोरखा लगे। मर्स्याङ्दी र चेपे नदीको दोभानमा अन्त्येष्टि गरियो। दागबत्ती केदारका ११ वर्षीय छोराले दिए।

बालख भतिज एक्लै किरिया बस्नुपर्छ भनेर बद्रीले पनि केशमुण्डन गरे। भतिजसँगै किरिया बसे।

केदारको अन्त्येष्टि सकिँदा पनि बुहारी सरिताको शव भेटिएको थिएन।

उनको कुशको शव बनाएर अन्त्येष्टि सुरू भयो। त्यही बेला सरिताका बुबाले चितवनमा उनको अवशेष भेटिएको खबर पाए।

कुशको शवमा लगाइएको आगो निभ्न नदिन स्थानीय अञ्जन देवकोटालाई फोन गरेर आगो जोगाइराख्न भनियो।

kedar-devkota-story3-1788458904.jpeg
‘सरिता मेडमको शव चितवनमा गाडिसकेको रहेछ,’ अञ्जनले भने, ‘डिएनए परीक्षण गरेपछि प्रहरीले उहाँका दाँत बुबालाई दिएको रहेछ। कुशको शव जलिरहेको थियो। दाँत ल्याएर त्यहीँ दाहसंस्कार गरियो।’

केदारको परिवारमा आमा र दिदी छन्। बुबाको निधन भइसकेको छ।

भाइ र बुहारी बितेपछि उनीहरूका दुई सन्तानको जिम्मेवारी अब बद्रीकै काँधमा आएको छ।

‘मेरा तीन जना बच्चा छन्, अब यी दुई थपिएर पाँच जना भए,’ उनले भने, ‘यिनीहरूको शिक्षादीक्षामा कुनै समस्या आउन दिन्नँ।’

आँखाभरि आँशु बोकेका बद्री कुराकानी क्रममा बेलाबेला रोकिन्थे। रोकिँदै सानो आवाजमा बोल्थे।

केही क्षण रोकिएर उनले फेरि थपे, ‘भाइ र बुहारीमध्ये एक जना मात्र बाँचिदिएको भए पनि हुन्थ्यो जस्तो लागिरहेछ।’

बद्रीसँगै नौखोर गाउँ नै अहिले शोकमा छ। दिनहुँजसो कुनै न कुनै घरमा कुशको शव बनाएर अन्त्येष्टि भइरहेको छ। घरघरमा मानिसहरू किरिया बसेका छन्। गाउँका धेरै परिवार एकै पटक शोकमा परेकाले एकअर्कालाई साथ दिने मानिसको समेत अभाव हुन थालेको छ।

‘बुबाको निधन हुँदा पुसको जाडोमा पनि राति २ बजेसम्म बाहिरै आगो तापेर बस्थेँ। कुर्ने मान्छे हुन्थे,’ बद्रीले भने, ‘अहिले त कुरूवा बस्ने मान्छे पनि छैनन्। एउटा–दुइटा मात्र घरमा शोक परेको भए पो!’

उनले फेरि आँगनको डिलतिर हेरे र भने, ‘तपाईंहरू आइदिनुभयो। एक्लै धुमधुम्ती बस्नुभन्दा एकछिन भए पनि गफ गर्न पाएँ।’

केदार र सरिताका छोरा अहिले कक्षा ५ मा पढ्छन्। उनी सरिताले पढाउने मदनेडाँडा माध्यमिक विद्यालयमै पढिरहेका छन्। 

बद्रीका अनुसार उनी बेला बेला रून्छन्।

‘छोरी त सानै छ, बुझ्ने बेला भएको छैन,’ उनले भने, ‘बाबुले सबै कुरा थाहा पाएको छ। बेलाबेला हिक्क–हिक्क गरिरहन्छ।’

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

mustanggg_OCFZXt04SZ

भदौ ३० र ३१ मा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुने

काठमाण्डौ – मुस्ताङमा आउँदो भदौ ३० र ३१ गते ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ आयोजना हुने...
tatopani-1788496946

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाका हुँदै नेपाल फर्किए

काठमाण्डौ – रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ क्षेत्रबाट हिजो तातोपानी...
balendra_shah_IlJzwZ045V

प्रधानमन्त्री कोषमा ६ अर्ब रुपैयाँ जम्मा, कुल रकम ८ अर्ब नाघ्यो

काठमाण्डौ — विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि देश तथा विदेशबाट राहत र सहयोग जुट्ने क्रम...
1788235343-oCbRO-1788241745

बाढीका कारण ३ खर्ब ८७ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान

काठमाण्डौ – सरकारले रसुवाको भोटेकोशी बाढीका कारण झण्डै ४ खर्बको क्षति भएको अनुमान गरेको छ...
791317538_1552833346873040_7196527525538779614_n-1788336285

अस्ट्रेलियाविरूद्ध पहिले बलिङमा नेपाल

अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले अहिले दोस्रो एकदिवसीय खेल खेलिरहेको छ। अस्ट्रेलियाको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०