काठमाडौं । नेपाली फिल्म क्षेत्रका लागि साउन महिना निकै उत्साहजनक रह्यो । साउनको झरीसँगै हलमा ५ वटा नेपाली फिल्म ‘गौंथली’, ‘कमला मिस’, ‘हली’, ‘शक्ति’ र ‘लज्जावती’ प्रदर्शनमा आए ।
यो भिडमा फिल्म ‘गौंथली’ले व्यापारिक रूपमा चामत्कारिक नतिजा निकाल्यो । फिल्म बक्स अफिसमा तहल्का मच्चाउँदै २१ करोडभन्दा बढीको व्यापारसहित पाँचौँ सातामा प्रदर्शनरत छ ।
‘कमला मिस’, ‘हली’ र ‘शक्ति’ले भने दर्शकको मन जित्न सकेनन् । ‘लज्जावती’ गत शुक्रबारबाट मात्र प्रदर्शनमा आएकाले यसको व्यवसाय अहिले नै यकिन गर्न सकिने अवस्था छैन ।
साउनमा ५ वटा फिल्म प्रदर्शनमा आउँदा चलायमान बनेको फिल्म उद्योग भदौमा झनै चलायमान हुने अनुमान गर्न सकिन्छ । किनभने, भदौमा ‘मास्टर्नी’, ‘पार्वती’, ‘ककाकिकी’, ‘बाः एक योद्धा’, ‘बेहुली’, ‘पेन्सनपट्टा’, ‘अक्षरा’ र ‘माया भनेकै यस्तै होला’ गरी ८ वटा फिल्म प्रदर्शनको तयारीमा छन् । अहिलेसम्मको रिलिज क्यालेन्डर हेर्दा भदौको प्रत्येक शुक्रबार हलहरूमा नयाँ फिल्म लाग्नेछन् ।
विशेषगरी भदौ २६ गते भने एकसाथ ४ फिल्म एकआपसमा भिड्दैछन्, जसलाई फिल्मकर्मी र रङ्गपत्रकारले महत्त्वका साथ हेरेका छन् । यो महिनामा आमाको ममतादेखि बाबुको सङ्घर्षसम्म र अटिजमको कथादेखि लाहुरे समाजको व्यथासम्मका विविध विषयवस्तु बोकेका फिल्मले हल गुन्जाउनेछन् ।
भदौमा रिलिज हुने ८ वटा फिल्मको सूचीले नेपाली फिल्म उद्योग चलायमान त देखाउँछ नै, तर एकै महिना यति धेरै फिल्म र विशेषगरी भदौ २६ मा हुने ४ वटा फिल्मको भिडन्तले हलको शो बाँडफाँट र दर्शकमा ठूलो अन्योल ल्याउने निश्चित छ ।
- ‘मास्टर्नी’ र ‘पार्वती’लाई अवसर
भदौ महिनाको पहिलो र दोस्रो साता एक–एक फिल्मले सोलो (एकल) प्रदर्शनको अवसर पाउँदैछन् । यसरी एकल अवसर पाउँदा हलको शोदेखि व्यवसायसम्म राम्रो हुने विश्वास गरिन्छ । त्यसैले पहिलो र दोस्रो साता सोलो रिलिज हुने फिल्मलाई कमाउने राम्रो अवसर छ ।
पहिलो साता अर्थात् भदौ ५ गते फिल्म ‘मास्टर्नी’ प्रदर्शनमा आउँदैछ । अभिनेत्री प्रियङ्का कार्कीले पहिलोपटक निर्माण गरेको यो फिल्म आयङ्का फिल्म्सको प्रस्तुतिमा बनेको हो । आमा र छोरीको भावनात्मक सम्बन्धलाई क्राइम थ्रिलरको शैलीमा प्रस्तुत गरिएको यो फिल्मले १६ वर्षभन्दा माथिका दर्शकलाई लक्षित गरेको छ ।
प्रियङ्का कार्की आफैँले कथा लेखेको यस फिल्ममा उनीसँगै सिम्रन खड्का, दीपकराज गिरी, दीपाश्री निरौला, सन्दीप क्षेत्री, प्रमोद अग्रहरी र आर्यन सिग्देलजस्ता चल्तीका कलाकारको ठूलो लाम छ । सुवेन्दु घोषको निर्देशनमा तयार भएको यस फिल्ममा भारतीय प्राविधिक टिमको पनि संलग्नता छ ।
त्यस्तै, दोस्रो साता अर्थात् भदौ १२ गते अभिनेत्री नीता ढुङ्गानाको निर्देशनमा बनेको फिल्म ‘पार्वती’ लाग्दैछ । नीताले यस फिल्ममार्फत निर्देशनमा पाइला टेकेकी हुन् । फिल्मको मुख्य कथावस्तु ‘अटिजम’ र दिदी–भाइबीचको अटुट प्रेममा केन्द्रित छ । फिल्ममा नीता ढुङ्गाना स्वयं दिदीको भूमिकामा छिन् भने चर्चित बालगायक अशोक दर्जी भाइको भूमिकामा देखिएका छन् । दीपाश्री निरौला, सिरु विष्ट, राजेन्द्र नेपालीलगायत कलाकारको अभिनय रहेको यो फिल्मलाई नीताले आफ्नै भोगाइ र कथामा ढालेकी हुन् । सामाजिक र भावनात्मक कथा रुचाउने दर्शकका लागि ‘पार्वती’ प्रतीक्षाको विषय बनेको छ ।
- ‘बाः एक योद्धा’ भर्सेज ‘ककाकिकी’
भदौको तेस्रो साता अर्थात् १९ गते दुई फरक स्वादका फिल्मबीच प्रतिस्पर्धा हुँदैछ । एकातिर बाबुको सङ्घर्षको कथा बोकेको ‘बाः एक योद्धा’ छ भने अर्कोतिर हाँसो र रोदनको प्याकेज ‘ककाकिकी’ छ । ‘बाः एक योद्धा’मा नेपाली समाजमा एउटा बाबुले सन्तानको भविष्यका लागि गर्ने त्याग र चुनौतीलाई देखाउन खोजिएको छ । हरि लम्सालको निर्देशन रहेको फिल्ममा दिव्य देव र सुहाना थापा बाबु–छोरीको भूमिकामा छन् भने झरना थापा आमाको भूमिकामा छिन् । कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसर पारेर रिलिज हुन लागेकाले यसले भावनात्मक रूपमा दर्शकलाई आकर्षित गर्ने अनुमान गरिएको छ ।
सोही दिन ‘कमेडी दरबार’को टिमले तयार पारेको फिल्म ‘ककाकिकी’ पनि प्रदर्शनमा आउनेछ । विक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशनमा बनेको यो फिल्ममा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र दिया मास्केजस्ता दिग्गज अभिनेत्रीका साथमा चर्चित कमेडियनहरूको पनि अभिनय छ । फिल्ममा हाँसो मात्र नभएर गम्भीर सामाजिक मुद्दा पनि समेटिएको छ ।
- चार फिल्मको ‘महाभिडन्त’
नेपाली फिल्म उद्योगमा एक–अर्कासँग फिल्म भिडाउँदा कसैलाई फाइदा हुँदैन भन्ने सबैले बुझेका छन् । तैपनि, निर्माता र निर्देशक आफ्नो फिल्म एकअर्कासँग जुधाउन पछि हट्दैनन् । यसैबिच, भदौ महिनाको अन्तिम साता अर्थात् २६ गते एकसाथ ४ फिल्म ‘माया भनेकै यस्तै होला’, ‘अक्षरा’, ‘पेन्सनपट्टा’ र ‘बेहुली’ प्रदर्शनमा आउँदैछन् ।
८ वर्षपछि निर्देशनमा फर्किएकी रेखा थापाले ‘माया भनेकै यस्तै होला’ मार्फत यसपटक ‘एक्सन’ छाडेर ‘इमोसनल ड्रामा’ रोजेकी छिन् । मदनकृष्ण श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहजस्ता जम्बो स्टारकास्ट रहेको यो फिल्म प्रेम, विवाह र धोकाको कथामा आधारित छ । रेखा थापाको ब्रान्ड र नयाँ–पुराना कलाकारको सम्मिश्रणले गर्दा यो फिल्म प्रतीक्षित छ ।
अर्को फिल्म ‘अक्षरा’ विनयराज पौडेलको निर्देशनमा तयार भएको हो, जुन घरेलु हिंसा र पारिवारिक पीडाको कथामा आधारित छ । धनसम्पत्ति र बाहिरी रूप हेरेर छोरीको विवाह गरिदिँदा भोग्नुपर्ने कारुणिक परिणामलाई यसले पर्दामा उतारेको छ । सुशील सिटौला र न्यान्सी खड्काको मुख्य भूमिका रहेको यो फिल्मले समाजलाई एउटा गम्भीर सन्देश दिने प्रयास गरेको छ ।
यस्तै, कलाकार तथा निर्देशक माओत्से गुरुङले ‘पेन्सनपट्टा’ मार्फत लाहुरे समाज र उनीहरूको अवकाशपछिको जीवनको कथा ल्याएका छन् । दयाहाङ राई, विल्सन विक्रम राई र बुद्धि तामाङजस्ता कलाकार रहेको यो फिल्ममा मानवीय भावना र पारिवारिक सम्बन्धको गहिराइलाई देखाइएको छ । लाहुरे संस्कारमा बाँचेका पात्रहरूको मनछुने कथा यसको मुख्य आकर्षण हो ।
‘बेहुली’ सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको फिल्म हो । पारस बम ठकुरी र दिव्या रायमाझीको मुख्य भूमिका रहेको फिल्ममा विवाहका रीत, संस्कार र त्यसभित्रका उतारचढावलाई देखाइएको छ । नयाँ कलाकार र रङ्गीन परिवेशले गर्दा युवा दर्शक यसप्रति आकर्षित हुन सक्छन् । यस फिल्मको निर्माण सङ्गीतकार अर्जुन पोखरेलले गरेका हुन् ।
