काठमाडौँ । देशभरका विश्वविद्यालयहरू निमित्त उपकुलपति र रजिष्ट्रारको भरमा चलेका छन् । गत वैशाख २० गते राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ जारी गरेसँगै विश्वविद्यालयहरू पदाधिकारीविहीन भएका थिए ।
रिक्त पद अहिलेसम्म पूर्ति नहुँदा विश्वविद्यालयहरू निमित्तको भरमा चल्दै आएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार १५ वटा विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार निमित्तको भरमा सञ्चालनमा छन् । जसमा त्रिभुवन विश्वविद्यालयसहित पूर्वाञ्चल विश्वविद्यालय, खुला विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालय छन् । यीमध्ये त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा रेक्टर पनि निमित्तको भरमा चलिरहेका छन् ।
त्रिभुवन विश्वविद्यालयका प्रवक्ता नविन्द्रप्रसाद भण्डारीले दैनिक प्रशासनिक कामहरूमा समस्या नभए पनि नीतिगत निर्णयमा अप्ठ्यारो भएको बताए । उनले भने, ‘दैनिक विद्यार्थीको प्रमाणपत्र हस्ताक्षर गर्नुपर्ने समस्या छैन । दीर्घकालीन निर्णयमा भने अप्ठ्यारो परेको छ । कार्यकारी परिषद्ले गर्नुपर्ने नीतिगत निर्णय हुन सकेको छैन ।’
नेपाल खुला विश्वविद्यालयका निमित्त उपकुलपति जीवन खड्काले मन्त्रीस्तरीय निर्णयबाट उपकुलपति नियुक्त नहुँदासम्म दैनिक कार्यसञ्चालनका लागि जिम्मेवारी पाएका छन् । खड्काले भने, ‘गत जेठ १ गतेदेखि कामकाज सम्हालेको छु । नियमित तलब खुवाउन समस्या परेको छैन । परीक्षा सञ्चालन, परीक्षा नतिजा प्रकाशन लगायतका काममा अप्ठ्यारो परेको छैन । नीतिगत निर्णय अहिलेसम्म गर्नुपरेको छैन ।’
खुला विश्वविद्यालयमा उपकुलपतिसहित रजिष्ट्रार र तीन जना डीन निमित्तले चलाउँदै आएका छन् ।
मध्यपश्चिम विश्वविद्यालयका निमित्त उपकुलपति प्रा.डा. नारायणप्रसाद पौडेलले नियमित पठनपाठन, परीक्षा सञ्चालन लगायतका गतिविधिमा समस्या सिर्जना नभएको बताए । उनले भने, ‘नियमित हुने कामहरू भइरहेको छ । अर्को व्यवस्था नभएसम्मका लागि जिम्मेवारी दिइएको हो ।’
शिक्षा मन्त्रालयले अहिलेसम्म आठ वटा विश्वविद्यालयको सर्टलिस्ट (अल्पसूची) सार्वजनिक गरेको छ । शिक्षा मन्त्रालयको उच्च शिक्षा महाशाखाका अनुसार असार तेस्रो सातासम्म लगभग सबै कार्य पूरा हुनेछ । गत वैशाख २४ गते विभिन्न विश्वविद्यालयको उपकुलपतिको छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि २०८३ स्वीकृत भएको थियो । यही कार्यविधिमा टेकेर उपकुलपति छनोट प्रक्रिया अघि बढिरहेको छ ।
गत जेठ २२ गते शिक्षा मन्त्रालयले आठ वटा विश्वविद्यालयमा उपकुलपतिको अल्पसूची सार्वजनिक गरेको थियो, जसमा त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पोखरा विश्वविद्यालय, राजर्षिजनक विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा उपकुलपतिमा दरखास्त दिएकामध्ये ७७ जनाको नाम अल्पसूचीमा सार्वजनिक गरिएको थियो ।
सिफारिस समितिले सार्वजनिक गरिएको अल्पसूचीमा परेका उमेदवारहरूका सम्बन्धमा सरोकारवाला तथा सर्वसाधारणबाट राय र सुझावसमेत माग गरेको छ । अल्पसूचीमा रहेका उमेदवारहरूका बारेमा आफ्नो राय सुझावसमेत शिक्षा मन्त्रालयमा प्राप्त भइसकेको छ । यो प्रक्रियाले विश्वविद्यालयहरूको नेतृत्व चयनलाई थप पारदर्शी र मर्यादित बनाउने अपेक्षा गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । अब थप ७ वटा विश्वविद्यालयका पदाधिकारी ‘सर्टलिष्ट’ गर्ने काम भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ ।
गत जेठ २५ गते नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका लागि प्राप्त आवेदनहरूमध्ये स्वीकृत भएका आवेदनहरूको नामावली सार्वजनिक गरेको थियो ।
शिक्षा मन्त्रालयका सूचना अधिकारी वीरबहादुर धामीले स्क्रिनिङ गरेर अल्पसूची सार्वजनिक गर्ने काम भइरहेको बताए । धामीले भने, ‘प्रमुख विश्वविद्यालयको अल्पसूची सार्वजनिक गर्ने कार्य लगभग सकियो । बाँकीको काम प्रत्येक दिन तीव्र रूपमा भइरहेको छ । चाँडोभन्दा चाँडो टुङ्ग्याउने गरी मन्त्रालय लागिरहेको छ । सिनेटले नतिजा प्राप्त गरेर निर्णय गर्छ ।’
अध्यादेशबाट विश्वविद्यालयका उपकुलपतिहरू पदमुक्त भएपछि नयाँ उपकुलपति चयन गर्न लागिएको हो ।
सरकारले प्रथम पटक गत बैशाख २५ गते मुलुकका विभिन्न आठ वटा विश्वविद्यालयमा रिक्त रहेका उपकुलपति (भीसी) पद पूर्तिका लागि दरखास्त आह्वान गरेको थियो । नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सूचना जारी गर्दै खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत आवेदन माग गरेको थियो ।
छनोट समितिले उम्मेदवारबाट दरखास्तसाथ पेस हुन आएका योग्यता, अनुभव, आफैँले लेखी सोमा आईएसबीएन प्राप्त गरी प्रकाशित पुस्तक, अनुसन्धानात्मक परियोजना तथा लेख कृति, विश्वविद्यालयसम्बन्धी सोचपत्र तथा विश्वविद्यालयको रणनीतिक कार्ययोजनासहितको मूल्याङ्कन, उम्मेदवारले गरेको प्रस्तुतिकरण तथा अन्तवर्तिाको आधारमा सर्वाधिक अङ्क प्राप्त गर्ने तीन जना उम्मेदवार छनोट गरी वर्णानुक्रमका आधारमा उपकुलपति नियुक्तिका लागि कुलपति समक्ष सिफारिस गर्ने प्रावधान छ ।
प्राध्यापक पदमा कार्यरत अनुभव, स्वदेशी वा विदेशी विश्वविद्यालय वा प्रतिष्ठानको पदाधिकारीको अनुभव, उच्च शिक्षाको विकास, समृद्धि, शैक्षिक प्रशासन तथा व्यवस्थापनका क्षेत्रमा किताब प्रकाशन गरेको भए सो बापतको अङ्क, प्राज्ञिक अनुसन्धानमूलक परियोजना लगायतलाई उपकुलपति छनोटको आधार बनाइएको छ ।
कार्यविधिमा उपकुलपति हुन मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा विद्यावारिधि उपाधि प्राप्त गरेको, अनुसन्धान र प्राज्ञिक क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेको, शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापनसम्बन्धी सिप र कौशल प्रदर्शन गरेको हुनुपर्ने उल्लेख छ ।
यस्तै, चालिस वर्ष उमेर पूरा भएको, उच्च नैतिक चरित्र भएको, प्रचलित कानुन बमोजिम सार्वजनिक पदमा नियुक्तिका लागि अयोग्य नरहेको हुनुपर्ने व्यवस्था गरिएको छ । कार्यविधिमा आवेदकको सम्बन्धित विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको, दरखास्त दिने समयमा कुनै राजनीतिक दलको सदस्य नरहेको भनिएको छ ।
उपकुलपति हुनका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयको हकमा मान्यता प्राप्त विश्वविद्यालयबाट बौद्ध दर्शनसम्बन्धी विषयमा कम्तीमा विद्यावारिधि उपाधि हासिल, कृषि तथा वनविज्ञान विश्वविद्यालयको हकमा मान्यता प्राप्त विश्वविद्यालयबाट कृषि, भेटेरेनरी वा वनविज्ञान विषयमा कम्तीमा विद्यावारिधि उपाधि हासिल गरेको हुनुपर्नेछ ।
