यस क्षेत्रमा सामाजिक विविधता छ । ठाउँ अनुसारका समस्या र उस्तै सम्भावना पनि छन् । यहाँका उम्मेदवार यस्तै विषय समेटेर अहिले मत माग्दैछन् ।
- चितवन–१ क्षेत्रलाई कम्युनिस्टको गढ मानिए पनि पछिल्ला निर्वाचन परिणामले यहाँको राजनीतिक प्रतिस्पर्धा अनिश्चित बनेको छ।
- मतदाताहरूका विविध समस्या र गुनासाहरूबीच उम्मेदवारहरू अन्तिम समयसम्म मतदाता फकाउन व्यस्त छन्।
- यस क्षेत्रमा सामाजिक विविधता, कृषि, पूर्वाधार र लालपुर्जा जस्ता मुद्दाहरू प्रमुख बनेका छन् भने कुनै दल वा उम्मेदवार ढुक्क हुन सक्ने अवस्था छैन।
चितवन — जिल्लाको १ नम्बर निर्वाचन क्षेत्रको भूगोल दक्षिण राप्ती खोलाको तीरदेखि उत्तरमा कामिङचुली पहाडको शिरसम्म फैलिएको छ । १ लाख ४९ हजार ६ सय २१ मतदाता रहेको यस क्षेत्रमा तीन स्वतन्त्रसहित १८ उम्मेदवार प्रतिस्पर्धामा छन् । अन्तिम समयमा सबै उम्मेदवार मतदाता पक्षमा पार्ने कसरतमा छन् । उम्मेदवार मतदाता फकाउन व्यस्त छन् । भोट माग्न आउने उम्मेदवारसमक्ष मतदाताले आकांक्षा व्यक्त गरिरहेका छन् ।
उत्तर–दक्षिण फैलिएको भूगोलमा एक समय एमालेलाई चुनाव जित्न खासै गार्हो हुन्थेन । गढजस्तै थियो । ०७९ भन्दा अगाडि एकपटक मात्र यो क्रम टुटेको थियो । तर, ०७९ को निर्वाचनको नतिजापछि चितवन–१ मा जित/हारलाई लिएर कोही ढुक्क देखिँदैनन् । गत निर्वाचनमा फराकिलो मतान्तरसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकाल यस क्षेत्रबाट विजयी भएका थिए । उनी यसपटक पनि उम्मेदवार छन् ।
यस क्षेत्रमा सामाजिक विविधता छ । ठाउँ अनुसारका समस्या र उस्तै सम्भावना पनि छन् । यहाँका उम्मेदवार यस्तै विषय समेटेर अहिले मत माग्दैछन् । मतदाताका पनि आफ्नै गुनासा छन् । चितवन–१ मा राप्ती, खैरहनी र रत्ननगर नगरपालिका छन् । रत्ननगरको बकुलहरमा ५३ वर्षीय नरहरि थिङ रिक्सामा यात्रु पर्खिरहेका थिए । उनले रिक्सा चलाउन थालेको १० वर्ष भयो । पहिले अधियाँमा खेती गर्थे । उब्जाउ भएको अन्न आधा–आधा बाँड्नु पर्दथ्यो । त्यतिबेला पाइडलवाला रिक्सा चलाउँथे । टायल, मार्बल, फलाम सिमेन्ट बोक्थे । ‘अलिअलि पैसा जुटाएर यो रिक्सा किनेको हुँ,’ उनले भने, ‘प्रचार र्याली देखे पनि कुनै उम्मेदारले मसित भोट मागेका छैनन् ।’
रत्ननगर–१३ जयमंगलस्थित ऐलानीमा बसोबास छ । १७ वर्षदेखि उक्त बस्तीमा बसिरहेका छन् । प्रत्येक चुनावमा ऐलानीमा बस्नेलाई पुर्जा दिने भनेर नेताले आश्वासन दिने गरेका छन् । यस पटक त्यस्ता नारा कमै सुनेको उनले बताए । ‘त्यसैले भोट हाल्न पनि त्यति जाँगर छैन,’ उनले भने, ‘राजनीति नबुझे पनि यसअघि भोट हालेको हुँ ।’ यसअघि जितेका ढकाल पनि फर्किएर बस्तीमा नआएको उनले बताए ।
पूर्वी चितवनमा चैते धान रोप्ने चलन छ । यही बेला चुनावी माहौल तातेको छ । बीउ राख्न र यसअघि छरेको बीउ उम्रे नउम्रेको हेर्न किसान खेतखेतमा छन् । रत्ननगर–६, दोरङ्गीका ४६ वर्षीय दीपेन्द्र चौधरी पनि खेतमै भेटिए । फागुन ८ मा धानको बीउ राखेर उनले ब्याडलाई प्लास्टिकले छोपेका थिए । बुधबार बीउ उम्रे नउम्रेको हेर्न प्लास्टिक उघार्दै थिए । रोप्दा मल र बेच्दा मूल्य नपाउने चिन्तामा थिए ।
‘हामीलाई ३० किलो मल चाहिन्छ । तर, आधामात्र पाइन्छ । किसानलाई मल नपाएर आपत् छ । बिक्री गर्दा पनि मूल्य पाइँदैन,’ उनले भने, ‘दुःख गरेर उब्जायो, १५ देखि १७ सय प्रतिक्विन्टलमा बेच्नुपर्छ ।’ कम्तीमा तीन हजार रुपैयाँ प्रतिक्विन्टल मूल्य भइदिए लगानी उठ्ने उनले बताए । किसानका यस्ता मर्का बुझ्ने उम्मेदवार नदेखेको उनले बताए । उनीसँगै खेतमा भेटिएका सुभास महतो पार्टीका कट्टर समर्थकले आफ्नो दलको उम्मेदवारलाई भोट हाले पनि सर्वसाधारण मतदाताले दल नहेर्ने बताए । ‘गाउँमा पुराना हैन, नयाँ दललाई मत दिनु पर्दछ भन्छन् । हुन त यसअघि हरि ढकालले जिते,’ उनले भने, ‘उहाँको खासै काम त देखिएन । तर नयाँ भनेको नयाँ हो । बहुमत ल्याए केही निचोड ल्याउला भन्ने लाग्छ ।’
रत्ननगरकै सौराहाका रामचन्द्र अधिकारी ८५ वर्षका भए । चार दशकअघि सौराहामा होटल व्यवसाय सुरु गरेका अधिकारी कट्टर कांग्रेस समर्थक हुन् । पार्टीको बैठकमा सहभागी हुन बछौली चोकमा पुगेका अधिकारी यस पटक कांग्रेसको माहोल देखेर उत्साहित छन् । विगतमा कांग्रेसलाई घात–अन्तरघातले असर गरेको उनले बताए । ‘गगन र विश्वप्रकासको नेतृत्वमा कांग्रेस छ । पुरानो ढर्रा छैन । अहिले कांग्रेसको घैंटोमा घाम लागेको छ,’ उनले भने, ‘कांग्रेस एक भएका बेला पार्टीलाई कसैले हराउँदैन । त्यो अहिले भएको छ ।’
चितवन–१ मा कांग्रेसबाट राजेन्द्र बुर्लाकोटी उम्मेदवार छन् । उनी तेस्रो पटक उम्मेदवार बनेका हुन्। यसअघि दुई पटक पराजित भएका थिए । ‘पराजित भए पनि जिल्ला नछाडेको । कांग्रेसलाई संकट पर्दा काँध थापेको व्यक्ति भएकाले उनलाई यो पटक न्याय गर्नु पर्दछ भन्ने भावना यहाँका मतदातामा छ । ‘कांग्रेसका सबै तप्का र अन्य पार्टीका पाका मतदाताको मन यसपटक बुर्लाकोटीप्रति छ,’ कांग्रेस रत्ननगर सचिव अनिता अर्यालले भनिन् । ०७० सालको संविधानसभा सदस्य र ०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा बुर्लाकोटी उम्मेदवार थिए ।
यस क्षेत्रबाट २०४३ सालमै जागृतप्रसाद भेटवाल जनपक्षीय उम्मेदवार भएर निर्वाचित भएका थिए । पञ्चायतमा दलले चुनावमा भाग लिन पाउँथेनन् । दलविहीन भए पनि भेटवाललाई तत्कालीन नेकपा मालेले चुनावमा उठाएको थियो । जुनपछि एमाले भयो । भेटवाल भण्डाराका बासिन्दा थिए । उनले चुनाव जितेसँगै पूर्वी चितवन पहिले माले र पछि एमालेको आधार क्षेत्र बन्यो । २०४८ सालमा भएको संसदीय निर्वाचनमा चितवन–१ बाट भेटवाल विजयी भए । २०५१ को मध्यावधी निर्वाचनमा पनि भेटवाल नै विजयी भए । २०५६ सालमा उनी पराजित भए । त्यस बेला एमाले फुटेर माले पार्टी गठन भएको थियो ।
उक्त फुटको असर एमालेले उक्त निर्वाचनको परिणाममा बेहोर्यो । ०५६ को निर्वाचनमा चितवन–१ बाट कांग्रेसकी सावित्री बोगटी पाठक १९ हजार ८७ मत ल्याएर विजयी भइन् । भेटवालले १८ हजार १ सय ७६ मत ल्याए । माले उम्मेदवार कृष्णराज पन्तले १ हजार १ सय ८४ मत ल्याएका थिए । त्यसपछि भेटवाल उम्मेदवार बनेनन् । भेटवाल उम्मेदवार नभएपछि त्यस क्षेत्रबाट एमालेका उम्मेदवारले जित्दै आएका थिए । २०६४ सालमा भएको संविधान सभा सदस्य निर्वाचनमा चितवनमा पाँच निर्वाचन क्षेत्र थिए । अन्य चार क्षेत्रमा तत्कालीन नेकपा माओवादी र माओवादीले समर्थन गरेको तत्कालीन जनमोर्चा नेपालका उम्मेदवार विजयी हुँदा पनि चितवन–१ बाट एमालेका उम्मेदवार लालमणि चौधरीले जितेका थिए ।
२०७० सालको संविधान सभा सदस्य र २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरेन्द्र पाण्डे निर्वाचित भए । पाण्डे २०७९ मा पनि एमालेबाट उम्मेदवार थिए । त्यस बेला चितवन–१ मा नेपाली कांग्रेसले विश्व पौडेलाई उतारेको थियो । पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजिनामा दिएर उम्मेदवार बनेका थिए । एमालेले विजय यात्रा कायम राख्ला कि कांग्रेसले एमालेको गढ भत्काउला भनेर चर्चा चलिरहेका बेला निर्वाचन परिणाम अर्कै आयो । राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल फराकिलो मतान्तरले विजयी भए । ढकालको ३४ हजार १ सय ८९ मत आयो । एमालेका पाण्डेले २६ हजार ६ सय ८ मत पाए ।
कांग्रेसका पौडेलको २४ हजार ९ सय ९० मत आएको थियो । ‘सफल अर्थमन्त्री’ र परिचित अर्थशास्त्रीको पहिचान बनाएका पाण्डे र पौडेललाई पराजित गरेका उनै ढकाल अहिले रास्वपाका चितवन–१ का उम्मेदवार छन् । दोहोरिएर उम्मेदवार हुँदा मतदाताको स्वागत मात्र हैन, गुनासा पनि ढकालले सुन्न र सम्बोधन गर्नु परिरहेको छ । आफ्नो छोटो कार्यकालको असहज अवस्थालाई मतदाताले बुझेको ढकाल बताउँछन् ।
‘म क्षेत्रमा आइनँ भन्ने गुनासो सुनेको छु । तर संघीय सांसदको भूमिका भनेको नीति निर्माणका लागि संसद्मा बहसमा उत्रने, खबरदारी गर्ने कुरा हो,’ उनले भने, ‘त्यसमा मैले कहिल्यै कमजोरी गरिनँ । संसद्मा मैले खेलेको भूमिकाका बारेमा मतदाता प्रष्ट छन् ।’ आवश्यकताका आधारमा नभएर पहुँचका आधारमा बजेट बाँड्ने परिपाटीलाई पनि मतदाताले राम्रोसँग बुझेको उनले बताए । ‘मैले केही बिगारेको छैन । आएन, भेटेन भन्ने भाष्य विरोधीले बनाएका हुन् । त्यसलाई मैले चिरेको छु,’ ढकालले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य ध्रुव गिरी संसद्मा ढकालले किसानका पक्षमा, पर्यटनका पक्षमा उठाएको आवाजलाई यहाँका मतदाताले राम्रो मूल्याङ्कन गरेको बताए । एमालेले यस पटक दावा दोर्जे लामालाई उम्मेदवार बनाएको छ । लामा ०७४ मा चितवन–१ (१) बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएर कृषि तथा सहकारी मन्त्री पनि भएका थिए । ‘मन्त्री हुँदा दुधमा अनुदान दिएको छु । वन्यजन्तुलाई रोक्न निकुञ्जको मध्यवर्ती क्षेत्रमा छेकबारहरू बनेका छन् । त्यो कामको मूल्याङ्कन यो पटक मतदाताले गर्ने छन्,’ दावाले भने । एमालेको संगठन, विगतको आफ्नो काम र मतदातासँग भिज्न सक्ने आफ्नो छवि नै विजयको आधार भएको दावाको दाबी छ । एमालेले चितवन–१ बाट सुरेन्द्र पाण्डेको नाम सिफारिस नगरेकाले चर्चामा आएको थियो । यस क्षेत्रबाट एमाले जिल्ला अध्यक्ष कमल पाठक उम्मेदवार हुने निर्णय भएको थियो । पाठकले स्वास्थ्यको कारण देखाएर नउठ्ने भएपछि दावा उम्मेदवार भएका हुन् ।
चितवन–१ बाट कांग्रेस नेता वासु ढुङ्गानाले टिकट पाएका थिए । राजेन्द्र बुर्लाकोटीले पनि केन्द्रबाट टिकट ल्याएर मनोनयन दर्ता गराए । अहिले पाण्डे एमालेको र टिकट पाएर पनि मनोनयन दर्ता नगरेका ढुङ्गाना कांग्रेसको प्रचारमा हिँडेका छन् । ‘चुनावमा सबै सक्रियतापूर्वक लागेका छन् । सहयोग गर्छु भन्ने धेरै नै छन्,’ बुर्लाकोटीले भने ।
२०५६ को चुनावमा तत्कालीन मालेबाट उठेका कृष्णराज पन्त यसपटक नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट चितवन–१ मा उम्मेदवार छन् । स्थानीय मानबहादुर स्याङ्बो अर्थशास्त्रमा पीएचडी, कानुनमा बीएल र वनस्पति शास्त्रमा बीएससी गरेका पन्त यो क्षेत्रलाई चाहिने व्यक्ति भएको बताउँछन् । ‘चितवन–१ मा जुन खाले सम्भावना र चुनौतीहरू छन्, त्यसलाई सम्बोधन गर्न सक्ने यस्तै व्यक्तिले हो । त्यसैले हामी चुनावी प्रतिस्पर्धामा अरूभन्दा धेरै अगाडि छौं । मतदाताले यो कुरा बुझेका छन्,’ नेकपा बागमती प्रदेश सचिवालय सदस्य स्याङ्बोले भने । पन्त पहाडी भेगको विकास कसरी गर्ने र मध्यवर्तीका समस्याबारे जानकार व्यक्ति हुन् । पन्त चितवन निकुञ्जको लोथर मध्यवर्ती उपभोक्ता समितिको अध्यक्ष भएका थिए ।
खैरहनी–१३ हर्नरी टोल मध्यवर्ती वनसँग जोडिएको छ । गत वर्ष यहाँ मकुना हात्तीको त्रास थियो । निकुञ्जले धपाउने क्रममा सेनाको गोली लागेर मकुना मर्यो । हात्ती रोक्न भनेर अग्लो र बलियो कंक्रिटको पर्खाल तयार थियो । तर, यही पर्खाल मात्रै पर्याप्त छैन । ‘सबै ठाउँमा बार बन्देज छैन । जहाँ कमजोर बार छ, त्यहाँबाट चित्री र मृग पसेर सबै खेती खान्छ,’ हर्नरीकी नवीना चौधरीले भनिन् । यस टोलमा बस्नेको लालपुर्जा छैन । ‘राप्ती किनारमा यही लोथर आडदेखि हर्नरी र सौराहासम्म बस्ने धेरैको लालपुर्जा छैन,’ स्याङ्बो सुनाउँछन् ।
राप्तीमा लोथरदेखि कुमरोजसम्म १८ किलो मिटर तटबन्धन भएको छ । एमालेले यो तटबन्धन आफ्नो पहलमा गरेको भनेर प्रचार गर्दै आयो । भेटवालको राजनीतिक ख्यातिसँगै तटबन्धनको काम पनि अगाडि बढेकाले यसको जस लिन एमालेलाई सहज भयो । ३० वर्षअघि बनेको तटबन्धन कमजोर हुँदै गएको छ । राप्तीको पानीले चितवनको पूर्वी भेगमा १८ वटा कुला चल्छन् । जसले गर्दा यो क्षेत्रमा चैते धान, तोरी, गहुँ, बेमौसमी मकै, व्यावसायिक तरकारी, केराखेती, माछा पालन, दुध उत्पादन जस्ता कृषि उद्यम फष्टाएको छ । ‘कुलो ल्याउँदा खोलो पस्ला भन्ने डर छ । यसका लागि तटबन्धन बलियो बनाउनु पर्यो । ढुङ्गा गिट्टी, बालुवा झिक्न निकुञ्जतर्फ पाइँदैन । यतै मध्यवर्तीतर्फ खोतल्दा तटबन्धन कमजोर हुन सक्छ । त्यसैले बाढी र डुवान पनि यहाँको समस्या हो,’ स्याङ्बो भन्छन् । वन्यजन्तु समस्या मात्रै हैन, पर्यटनका आधार बनेका छन् । सौराहा, कुमरोज, बाघमाराजस्ता अत्यधिक पर्यटक जाने ठाउँ चितवन–१ मै छ ।
पूर्व-पश्चिम मेहन्द्रराजमार्गको लगभग ३० किलोमिटर खण्ड चितवन–१ लाई चिरेर जान्छ । यहाँ सडक दुर्घटनाको समस्या अत्यधिक छ । पुरानो भएको राजमार्ग सुधार र विस्तारमा ध्यान दिन मतदाताको माग छ। रत्ननगर शान्तिचोकबाट खैरहनी हुँदै राप्तीको हर्दी निस्कने राजमार्गको पुरानो खण्ड पनि यहाँ छ । हर्दीआडमा लगभग ४३ घर परिवार पुरानो सडकमा छाप्रा बनाएर बसेका छन् । ‘राजमार्गको जग्गामा बसेको भनेर के गर्ने बर्खामा हिलैहिलो भएर हिँड्न गाह्रो छ,’ शान्ति चौधरीले भनिन् । चितवनमा २०५० सालमा पूर्वी भेगमा ठूलो बाढी आयो, डुवान भयो । उचाइ खोज्दै स्थानीयहरू यो सडकको जग्गामा आएका हुन् । अन्यत्र जग्गा हुने फर्के पनि केही नहुनेहरू कहाँ जाने ? उनीहरू सानो छाप्रो बनाएर सो ठाउँमै बस्दै आएका छन् ।
राप्ती नगरपालिका–६ हर्दी पुरानो रोड टोलको नामले चिनिने सो ठाउँमा बस्दै आएका ५३ वर्षका प्रकास पाहारीले चुनाव आउँदा मात्रै लालुपर्जा दिन्छौं या अन्यत्र जग्गा दिएर सार्दछौं भनेर नेताहरू भेट्न आउने गरेको बताए । ‘भोट हामीलाई दिनु चिन्ता नगर्नु भनेर धेरै आए । भोट दिए पनि हाम्रो चिन्ता हटेन’ प्रकासले भने । सोही टोलका कुमार विकले नेताहरू मत माग्न आउने त्यसपछि हराउने बताए । राजमार्गदेखि उत्तरमा छ पहाडी भेग । रत्ननगरले पहाडी भेग छुँदैन । खैरहनी नगपालिकामा पनि पहाडी बस्ती छैन । राप्तीको १३ वटा वडाहरूमध्ये १०, ११, १२ र १३ पुरै पहाडी भूभाग हो । जहाँ सडक, विद्युत्, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताको अभाव छ । राप्ती–१३ का कुनै पनि घरमा अझैसम्म बिजुली बलेको छैन । यी ठाउँमा बाटो घाटोको पनिसमस्या छ ।
राप्ती–१३ कान्दाकी धनमाया प्रजा चेपाङ हरेक चुनावमा भोट दिदै आए पनि नेताले बास्ता नगरेको बताउँछिन् । आफ्नो ठाउँमा अरु केही नभए पनि बाटो आए धेरै सुविस्ता हुने उनले बताइन् । त्यसै गरी मायाकुमारी प्रजा चेपाङले सडक दिन सक्ने पार्टीलाई भोट हाल्ने योजना बनाएको बताइन् । तर उनीहरूको गाउँमा कोही उम्मेदवार उक्लेको छैन । चितवन–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार बलराम खनाल आउँदा दिनहरूमा देशमा कुनै खाले अस्थिरता नहोस भन्ने चाहना मतदाताका रहेको बताउँछन् । ‘यसका लागि राप्रपालाई मत दिनु पर्दछ भन्ने उनीहरूको ठम्याइ छ । किन कि राप्रपाले संवैधानिक राजतन्त्र, हिन्दु राज्य जस्ता विषयको वकालत गरेको छ । हामी प्रजातान्त्रिक प्रणालीमा पुर्ण विश्वास राख्छौं । यसका साथै केही परम्पराहरू छन् जसलाई कायमै राखे देश बलियो हुन्छ भन्नेमा हामी प्रष्ट छौं’ राप्रपा उम्मेदवार खनालले भने ।
चितवन–१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालले अजय ठाकुर हजाम, राष्ट्रिय जनमोर्चाले सीतादेवी क्षेत्री, मंगोल नेसनल अग्रनाइजेसनले प्रेमलाल चौधरी र नेकपा (संयुक्त)ले दुर्गादत्त अर्याललाई उठाएको छ । यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले अर्जुन प्रजा चेपाङ र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले विकास कामीलाई उठाएको छ । त्यसै गरी नेसनल रिपब्लिक नेपालले ईश्वरी गुरुङ, श्रम संस्कृति पार्टीले अनिल तामाङ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले गणेशबहादुर श्रेष्ठ र उज्यालो नेपाल पार्टीले धनबहादुर गुरुङलाई उठाएको छ । सौरव कँडेल, संजय रिजाल र हरिप्रसाद रेग्मीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा पहाडमा आदिवासी चेपाङ र राप्ती नदी र यस आसपाको मैदानी भेगमा आदिवासी थारु समुदायको बसोबास छ ।
कान्तिपुर दैनिकवाट
