काठमाण्डौ – लगातारको वर्षाले भोटेकोशीको बाढी प्रभावितसहित विभिन्न ठाउँमा जनजीवन प्रभावित भएको छ । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको भदौ १० मा आएको बाढीबाट प्रभावित भई अस्थायी संरचनामा बस्दै आएका परिवार अहिलेको निरन्तर वर्षाबाट थप समस्यामा परेका छन् ।
खुला ठाउँमा निर्माण गरिएका अस्थायी टहरा तथा टेन्टमा पानी पस्दा प्रभावितको दैनिकी थप कष्टकर बनेको हो । टेन्टभित्र पानी पसेपछि राहतमा प्राप्त भएको खाद्यान्न, लत्ताकपडा तथा अन्य सामग्री जोगाउन समस्या भएको हो । रसुवाबाट विस्थापित भई नुवाकोटका विभिन्न ठाउँमा बसोबास गर्दै आएका ३४४ परिवारमध्ये १४२ परिवार विदुर नगरपालिका–५, बाणाचौतारोमा अस्थायी टेन्टमा बस्दै आएका छन् ।
निरन्तरको वर्षाका कारण बाढीले पुरिएका संरचनाको भग्नावशेष हटाएर सामग्री निकाल्ने तथा खोज तथा उद्धारको कामसमेत प्रभावित भएको छ । त्रिशूली बजार तथा त्रिशूली नदीको पारिपट्टि बाढीले पुरिएका संरचनामा भइरहेको खोज तथा उद्धारमा वर्षाले कठिनाइ भएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बताउनुभयो ।
यस्तै हावाहुरीसहितको वर्षाका कारण सिरहाको विष्णुपुर गाउँपालिका–१ का किसान गोपिन्द्र यादवले झण्डै दुई बिघा जमिनमा लगाएको उखुबारीमा क्षति पुगेको छ । भाडामा लिएर गरेको उखु खेतको उखुका बोटहरू लडेपछि उत्पादन घट्ने र लगानी नउठ्ने अवस्था आएको उहाँले बताउनुभयो ।
यस्तै सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ । निरन्तरको वर्षापछि खुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको हो । प्रमुख जिल्ला अधिकारी कमानसिंह थापा मगरका अनुसार खुम्बुको उच्च क्षेत्रमा आधा मिटरभन्दा धेरै हिउँ जमिसकेको छ ।
हिमपातका कारण पदयात्रा तथा पर्वतारोहणका लागि माथिल्लो क्षेत्रमा गएका पर्यटकलाई जोखिमयुक्त ठाउँमा जान रोक लगाइएको छ । सगरमाथा क्षेत्रको इम्जा छे (आइल्यान्ड पिक) क्षेत्रमा रोकिएका ७ जना विदेशी पर्यटकको उद्धार गरिएको छ ।
